विराटनगर ट्रक व्यवसायी संघमा भाँडभैलो

विराटनगर। विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ । शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारणसभालाई बैधानिकता प्रदान गर्नकालागि संघमा आवद्ध कुल सदस्य संख्या दुईसय ५१ को दुईतिहाई बहुमत सदस्य संख्या एकसय ६८ […]

Mar 9, 2025 - 12:41
 0
विराटनगर ट्रक व्यवसायी संघमा भाँडभैलो

विराटनगर।

विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ । शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारणसभालाई बैधानिकता प्रदान गर्नकालागि संघमा आवद्ध कुल सदस्य संख्या दुईसय ५१ को दुईतिहाई बहुमत सदस्य संख्या एकसय ६८ पुग्नुपर्नेमा उपस्थिति पुस्तिकामा एकसय ४४ सदस्यले मात्र हस्ताक्षर गरेपछि गणपूरक संख्या नपुगेको हो ।

नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशनको उद्घाटन सत्रमा आयोजक कमिटिको निमन्त्रणा स्वीकार गर्दै उपस्थित भएका दुई पक्षले प्यानलसहित उम्मेद्वारीसमेत घोषणा गरेका थिए । अध्यक्ष पदकालागि वर्तमान उपाध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा एक समूह र सदस्य नरबहादुर भण्डारी नेतृत्वको अर्को समूहले उम्मेद्धारी घोषणा गर्दै सामाजिक सञ्जालमा प्रचार सुरु गरेका थिए । तर, अन्तिम समयमा भण्डारी समूह र उनी पक्षका सदस्यले माइन्यूटमा हस्ताक्षर नगरेपछि अधिवेशन स्थगित हुन पुगेको हो । यद्यपी उद्घाटन सत्रमा भण्डारी समूहका भनिएका संघका पूर्व पदाधिकारी तथा सदस्यहरु अतिथिको आसन ग्रहण गरेर उद्घाटन सत्रको अन्त्यसम्म बसेका थिए । तरपनि, उनीहरुले माइन्यूट (साधारणसभाको उपस्थिति) मा हस्ताक्षर भने गरेनन् ।

भण्डारी पक्षले आएका केही सदस्यलाईसमेत हस्ताक्षर नगर्न भन्दै कार्यक्रमबाट फर्कन समेत दबाव दिएको सहभागि व्यवसायीहरुले बताएका छन् । संघका एक सदस्य भन्छन् आसनग्रहण गर्ने, माला र खादा लगाउने, अतिथिहरुसँग फोटो खिच्ने, जलपानमा सहभागी हुने तर माइन्यूट पुस्तिकामा हस्ताक्षर नगर्ने यो कस्तो चालबाजी हो ? अन्तिम समयमा निर्वाचनमा हार व्यहोर्ने डरले भण्डारी समूहले उपस्थितिमा हस्ताक्षर नगरेर अधिवेशनमा भाँडभैलो गर्न खोजेको ती सदस्यको दाबी छ ।

सिग्देल समूहले निर्वाचनमा जित हात पार्ने पक्का जस्तै देखिएपछि भण्डारी समूह हारबाट भाग्न खोजेको उनले आरोप लगाए । साधारणसभामा उपस्थिति जनाउँदै हस्ताक्षर गरेर निर्वाचन प्रक्रियामा सहभागी भई लोकतान्त्रिक पद्धतिको परिणाम स्वीकार गरेर जान उनले भण्डारी समूहलाई चुनौति दिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार भएको उद्घाटन सत्रमा राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गोपी अछामी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, नेपाल ट्रक यातायात व्यवशायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव विशिष्ठ अतिथि रहेका थिए ।

विराटनगर ट्रक व्यवशायी संघमा नेपाल सरकारले २०७९–२०८० पछिल्लोपटक ढुवानी सेवामा भ्याट लगाएपछि विवाद सृजना भएको हो । सरकारले भ्याट लगाएपछि व्यवशायीहरु दुई कित्तामा बाँडिएका हुन् । सिग्देल समूह सरकारले लगाएको नियम मान्नुपर्ने जनाउँदै भ्याटको पक्षमा उभिएको थियो भने भण्डारी समूह भ्याट खारेजीको माग गर्दै सर्वोच्च अदालत सम्म पुगेको थियो । अर्को विवाद भनेको भण्डारीले यसभन्दा निकै अगाडि संघको सदस्य रहेका बेला विराटनगर संघबाट अलग्गिएर मोरङ ट्रक संघ गठन गरि गतिविधि गरेका थिए । उनै भण्डारी पहिले संघविरुद्ध लागेर अलग हुने र अहिले आएर नेतृत्वमा आउन खोज्ने भन्दै अर्को समूह असन्तुष्ट भएको हो ।

दुई पक्षको इगो र जुँगाको लडाईका कारण संघले यस अधिवेशनबाट नयाँ नेतृत्व पाउन सकेन । तत्कालका लागि पुरानै समिति यथावत छ । अब चाँडै बैठक बसेर साधारणसभाको नयाँ मिति घोषणा गर्ने महासचिव रमेश श्रेष्ठले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register