भवन नहुँदाको बाध्यता : कक्षाकोठाको अभावमा बार्दली र सिँढीमा पठनपाठन

स्याङ्जा । कतिपय सामुदायिक विद्यालयहरुमा अहिले पनि न्यूनतम पूर्वाधार छैनन् । कतिपय विद्यालयमा भवन छैन । कतिपय विद्यालयलाई कक्षाकोठाको अभाव छ । शिक्षक दरबन्दी छैन । शिक्षकहरु निजि स्रोतबाट राख्नुपर्ने बाध्यता छ । पूर्वाधारको चरम अभाव भोगिरहेको विद्यालयको एउटा उदाहरण हो स्याङ्जाको भीरकोट नगरपालिका–५, गडीभञ्याङस्थित गडीभञ्याङ आधारभूत विद्यालय । यो विद्यालयमा भवन पुनः निर्माण नहुँदा […]

Jan 4, 2025 - 14:55
 0
भवन नहुँदाको बाध्यता : कक्षाकोठाको अभावमा बार्दली र सिँढीमा पठनपाठन

स्याङ्जा ।

कतिपय सामुदायिक विद्यालयहरुमा अहिले पनि न्यूनतम पूर्वाधार छैनन् । कतिपय विद्यालयमा भवन छैन । कतिपय विद्यालयलाई कक्षाकोठाको अभाव छ । शिक्षक दरबन्दी छैन । शिक्षकहरु निजि स्रोतबाट राख्नुपर्ने बाध्यता छ । पूर्वाधारको चरम अभाव भोगिरहेको विद्यालयको एउटा उदाहरण हो स्याङ्जाको भीरकोट नगरपालिका–५, गडीभञ्याङस्थित गडीभञ्याङ आधारभूत विद्यालय । यो विद्यालयमा भवन पुनः निर्माण नहुँदा विद्यार्थीलाई बार्दली र सिँढीमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ । २०७२ सालको भूकम्पले विद्यालय भवन भत्काएको थियो । भवन भत्किएपछि पुनर्निर्माणमा कुनै निकायले चाँसो दिएका छैनन् ।

यो नगरपालिका जिल्लाको एकमात्र बालमैत्री नगरपालिका हो । बालमैत्री नगरका विद्यालयमा पक्की भवन , सफा र आकर्षक कक्षाकोठा, पर्याप्त खेलकुद सामाग्री तथा फराकिलो खेलमैदान, सुन्दर फूलबारी अनि सफा शौचालय अनिवार्य सूचकका रुपमा लिने गरिन्छ । बालमैत्री नगरपालिकाको बालमैत्री विद्यालय भन्ने बित्तिकै तपाईंको आँखामा सायद पूर्वाधार सम्पन्न भौतिक संरचनाको तस्बिर आउँछ होला । बालमैत्री स्थानीय शासन लागू  भएको स्याङ्जाको एक मात्र नगरपालिका भीरकोटको वास्तविकता भने तपाईंको कल्पनालाई जगैदेखी हल्लाउने खालको छ ।

बालमैत्री नगरपालिका भीरकोट नगरपालिका र स्मार्ट सिटी वालिङको सिमानामा रहेको गडीभञ्जाङ आधारभूत विद्यालय बाहिरबाट हेर्दा त आकर्षक नै छ ।  गमलामा ढकमक्क फूलहरु फूलेका छन् । विद्यार्थी संख्या पनि अन्य आधारभूत विद्यालयको तुलनामा राम्रै छ ।  सुन्दर हिमाल, भीरकोट र वालिङको सेरोफेरो अनी आँधिखोला किनारमा रहेका सुन्दर फाँटहरु हेर्दा  भीरकोट नगरपालिकाको वडा नं ५ मा पर्ने गडीभञ्ज्याङ साच्चिकै स्वर्गसरी रमाइलो छ ।

तर शिशुदेखी ३ कक्षासम्म पढाइ हुने यही सुन्दर ठाउँमा अवस्थित गडीभञ्ज्याङ   आधारभूत विद्यालयमा भने कक्षाकोठाको अभावमा सिढी र बार्दलीमा पढाइ हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । नगरपालिकाका भित्ता र सार्वजनिक स्थान बाल अधिकारका सचेतनामूलक सन्देशले भरिए पनि भाषण र प्रचारमा जस्तो अनुभूति यहाँका बालबालिकाले गर्न पाएका छैनन् । विद्यालयमा शिशु, के.जी., एक, दुई र तीन कक्षा तथा भान्सा कोठा गरी  ६ वटा कक्षाकोठा आवश्यक छन् । तर विद्यालयमा जम्मा ४ वटा कोठा मात्रै छन् । एउटा कोठामा कार्यालय छ । ४५ जना विद्यार्थी रहेको यो विद्यालयमा कक्षा २ ले सिँढीमा र कक्षा ३ ले बार्दलीमा पढ्दै आएका छन् । सिढीमुनी नै विद्यार्थीलाई खाजा पकाउने भान्साको व्यवस्थापन गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक सरला बि.क.ले बार्दली र सिँढीमा पढाउनु विद्यालयको बाध्यता भएको सुनाइन् । भूकम्पमा परी विद्यालय भवनमा क्षती पुगेपछि केही समय त्यही पुरानो भवनमा  टिनले बारेर भएपनि पठनपाठन गरिएको थियो तर बर्षातको समयमा त्यो पनि भत्केपछि विद्यार्थीको कक्षाकोठा सिढी र बार्दलीमा संचालन गरिएको उनको भनाई छ । “वर्षातको समयमा बार्दलीमा हावाहुरी र पानीले  समस्या हुने भएकाले अफिसमा राखेर पढाउँछौं । कक्षाकोठा व्यवस्थापनका लागि ७ वर्षदेखि नगरपालिकामा गुनासो गर्दा हालसम्म पनि केही गर्न सकिएको छैन ।” उनले भने ।

विद्यालयको नाममा ३ रोपनी जग्गा छ । तर प्रार्थना गर्न र खेल्नका लागि खेलमैदान समेत छैन । कारण विद्यालयको आँगनबाट नै सडक खनिएको छ । शौचालय जान समेत सडक पार गरेर जानुपर्ने बाध्यता छ । सडककै कारण विद्यालयको ४ कोठे भवन समेत जोखिममा परेपछि वडाको बजेटमा हालै पर्खाल निर्माण गरिएको छ । विद्यालयको स्वामित्वमा रहेको जग्गामा विद्यालयको भौतिक र शैक्षिक विकासलाई नै अवरोध पुग्ने गरि विकास गर्ने जनप्रतिनिधि र स्थानीय सरकारलाई अहिलेसम्म लाज लागेको छैन । सडकको विकल्प खोज्न पटकपटक अनुरोध गरेपनि विद्यालयको अनुरोध न समुदायले सुनेको छ न त स्थानीय सरकारले नै ।

वडा अध्यक्ष कृष्ण बहादुर थापाले विद्यालयमा कक्षाकोठाको समस्या भएको स्वीकारे  । उनले भने “विद्यार्थी संख्या त अन्य स्कुलको तुलनामा राम्रो छ तर विविध कारणले कक्षाकोठा व्यवस्थापन गर्न सकिएको छैन ।” निमित्त प्रशासकीय प्रमुख एवं शिक्षा शाखा प्रमुख  विष्णु प्रसाद कोइरालाले कक्षाकोठा व्यवस्थापनका लागि यो आर्थिक वर्षमा नगरपालिकाबाट ५ लाख बजेट विनियोजन भएको बताए । उनले भने, “सम्भवतः यो वर्ष कक्षाकोठाको समस्या समाधान हुन्छ । विगतमा विद्यार्थी संख्या कम भएकाले भवन निर्माण प्राथमिकतामा परेको थिएन ।”

यहाँबाट नजिकको जनप्रिय माध्यमिक विद्यालय १ घण्टाको दूरीमा छ भने वालिङको टापु भञ्ज्याङ माध्यमिक विद्यालय ३० मिनेटको दूरीमा छ । लामो दुरी र बाटोघाटोको असुविधाका कारण अभिभावकहरु अन्य विद्यालयमा पठाउन सक्दैनन् । समुदायले समस्या समाधानका लागि प्रयास गरे पनि पर्याप्त स्रोत जुटाउन सकेको छैन ।  विद्यालयमा फर्निचर र कार्पेटको अभाव हुँदा पटकपटक नगरपालिका धाउँदा पनि समस्या समाधान नभएपछि  प्रधानाध्यापक बि.क.ले विद्यालयको नाम्मा  देउसी भैलो खेल्ने योजना बनाइन् । देउसी भैलोबाट उठाइएको १ लाख १० हजारले उनले  अत्यावश्यक  फर्निचर खरिद गरिन्  । अझै पनि विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि थप सहयोग आवश्यक छ । बालमैत्री शिक्षा वास्तविकतामा सुनिश्चित गर्न राज्य र सरोकारवालाहरुको ध्यानाकर्षण अपरिहार्य भएको सरोकारवालाहरुको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register