‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न,’ प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दै भने।
प्रधानमन्त्री ओलीले घटनामा संलग्न सबै व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको बताउँदै, विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले संसद्मा प्रस्तुत गर्ने बताए । घटनामा जो कोही संलग्न भए पनि कडा कारबाही गर्ने प्रतिबद्धता ओलीले जनाए ।
पूर्वराजा स्वयंले यी घटनाको जिम्मेवारी लिनुपर्ने बताउँदै आपराधिक घटनामा कसैलाई पनि उन्मुक्ति नदिइने प्रधानमन्त्री स्पष्ट भनाइ थियो । उनका अनुसार, तीनकुनेमा शान्तिपूर्ण सभाको लागि स्थान दिइए पनि आयोजकहरूले प्रशासनलाई पहिले दिएको जानकारी अनुसार सभा नगरी उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भीड परिचालन गरेका थिए ।
ओलीका अनुसार ‘कथित जनकमान्डर’ले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने प्रयास गरी निषेधित क्षेत्र तोड्ने काम भएको थियो । ‘भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण, ढुंगामुढा, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी, कुटपिट र लुटपाट जस्ता वारदात सुरु गरिए,’ प्रधानमन्त्रीले भने ।
पूर्वराजा शाहले संविधानसभाको निर्णयपछिको सम्झौता उल्लङ्घन गरेको आरोप ओलीले लगाए ।
शाहले नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने शाहलाई नागार्जुन दरबार र उनकी मातालाई नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको ओलीले बताए ।
तीनकुने घटनामा राष्ट्रियसभामा ओलीले गरेको सम्बोधनको अंश
काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा समेत थियो । को हो को हो जस्तो । जो आयोजक हो उ घरै बस्छ थाहा हुँदैन । उचालेका तिखारेका मान्छेहरू सडकमा देखिन्छन् । त्यस्तो देखिन्थ्यो ।
त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।
तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमान्डर” आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरिए ।
हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्ट स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो ।
यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै करभमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ ।
घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छु ।
यस घटनको पृष्ठभूमिमा करिब १ वर्ष अघि देखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्त्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजी रहेको थियो । धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदना माथि खेल्ने र बैङ्क वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो ।
यसैबिच पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँ ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमान्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।
प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्व राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो । हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नु भएको थियो ।
आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, अनि शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?
यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो ज्ञानेन्द्र शाह, उहाँले लिनु पर्छ । बाँकी छानबिन र कारबाहीको सिलसिला अघि बढिरहेको जानकारी गराउँछु ।
ताजुब त के छ भने दुनियाँका अगाडी आफू सांसद भएपछि कहिले कहिले आफै मन्त्री उपप्रधान मन्त्री भएर । संविधान मान्छु भन्ने शपथ लिएर । ईश्वरको नाममा शपथ लिएर देश र जनताको नाममा शपथ लिएर आफैले गरेको प्रतिज्ञा आफैले खाएको कसम पालना गर्नु पर्दैन ? शपथ पालना गर्नु पर्दैन । संविधानप्रति बफादार छु भन्ने शपथ पालना गर्नु पर्दैन । कि त्यो एक तमासा मात्र हो ? छद्म अवसरको खोजी गर्ने हो ?
त्यसो भएर संसद् संविधानको विरोध गर्ने थलो हैन भन्ने स्पष्ट पार्न चाहन्छु । संसद् लोकतन्त्रको विरोध गर्ने थलो हैन भन्ने मा स्मरण गर्न चाहन्छु । संसद् संविधान सभा जसले लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्यो । गणतन्त्र घोषणा गर्यो । राजतन्त्र बिदा गर्यो । त्यो गरिमामय संसद्मा आएर राजतन्त्र ब्युझाउँछु भन्ने कुरा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्ने कुरा यो संसद्मा संविधान सम्मत हुँदैन । र, असंवैधानिक कुरा गर्ने थलो संसद् हुन सक्दैन ।