सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव हुन थालेको छ । प्रदेशको राजधानी तोकिएसँगै यहाँको बढ्दो शहरीकरणले जनसङ्ख्या बढ्दै गएपछि खानेपानी अपुग हुन थालेको हो । वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसङ्ख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक ३८८ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक भएपनि सुर्खेत उपत्यका खानेपानी […]

Apr 4, 2025 - 08:46
 0
सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव हुन थालेको छ ।

प्रदेशको राजधानी तोकिएसँगै यहाँको बढ्दो शहरीकरणले जनसङ्ख्या बढ्दै गएपछि खानेपानी अपुग हुन थालेको हो ।

वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसङ्ख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक ३८८ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक भएपनि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको स्रोतमा दैनिक ९० लिटर प्रतिसेकेन्ड मात्र खानेपानी उपलब्ध भएको जनाएको छ ।

खानेपानीको स्रोत सुक्दै जान थालेपछि सुर्खेतमा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गर्ने भएको छ । सुख्खा खडेरीका कारण पानीको स्रोत घट्दै गएपछि सुर्खेत उपत्यका खानेपानी संस्थाले तीन दिनको फरकमा पानी वितरण गर्न लागेको जनाएको छ ।

वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमताअनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, ईत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रति सेकेन्ड गरी जम्मा १५८ लिटर प्रतिसेकेन्ड खानेपानी उपलब्ध हुने गरेको थियो ।

खानेपानीका स्रोतहरूमा ह्रास आएपछि अहिले झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, इत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट ५ लिटर प्रति सेकेण्ड ९० लिटर पानी आपूर्ति भइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए ।

सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमुख डम्मरबहादुर गौतमले जनाए । उपत्यकामा झुप्रा खोला, खरिखोला, बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुलेबाट खानेपानी उपलब्ध गराउँदै आएको छ ।

गर्मीयाम सुरु भएसँगै वीरेन्द्रनगरमा खानेपानी अभाव अझ बढ्न सक्ने अनुमान गरिएको छ । ‘विगतका वर्षहरुमा खानेपानी ९६ घण्टामा एक पटक उपलब्ध भएको छ’ गौतमले भने, ‘स्रोतमा आउने कमीका आधारमा पनि पानीको आपूर्ति घटबढ हुनसक्छ ।’

उपत्यका खानेपानीको मुख्य स्रोत मानिएको झुप्रा खोलाको मुहनामा नियमित ७६ लिटर प्रतिसेकेण्ड उपलब्ध भएपनि सुख्खायाम उक्त मुहानमा ५० लिटर प्रतिसेकेण्ड पुग्दा उपत्यकामा खानेपानी अभाव बढ्ने गरेको छ ।

पुरानो लाइनका पाइपहरु जिर्ण हुँदै गएपछि हुने खानेपानी चुहावटले पनि उपत्यकाको खानेपानीमा असर गरेको कार्यालय प्रमूख गौतमले बताए । खानेपानी वितरण लाइनका केही स्थानमा पाइपहरु पुराना भई जीर्ण हुँदै गए पानी चुहावट भएको बताइएको छ ।

सुर्खेत उपत्यकामा झण्डै २० वर्षसम्म खानेपानीको समस्या नहुने भनेर २०५६ सालबाट निमार्ण सुरु गरेको सुर्खेत उपत्यका खानेपानी आयोजनाले २०६७ सालबाट पानी वितरण गरेको थियो ।

पानी वितरण सुरु गरेपछि २० वर्ष पानीको समस्या नहुनेमा ढुक्क भएका सुर्खेतबासिन्दा तीन वर्ष नपुग्दै आयोजनाले हप्ता बिराएर पानी वितरण गर्न थालेपछि पुरानै मुहान बुलबुले र चिसापानीको ढुङ्गेधारामै निरर्भर हुनुपरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register