धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित

म्याग्दी। ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।  बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिकाभित्र रहेका कुल ६ सय ३१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको […]

Apr 21, 2025 - 17:48
 0
धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित

म्याग्दी।

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । 

बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिकाभित्र रहेका कुल ६ सय ३१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिकाको रुपमा घोषणा गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ । पालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरुले पनि नियमित खोप लगाइरहेका छन् । 

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षत्रीले बताउनुभयो । बालबालिकाहरुले १५ महिनादेखि ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् । 

धवलागिरि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्नका लागि यसअघि गएको चैत १७ गतेबाट वडास्तरमा कार्यक्रम गरी वडालाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य सुरु गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकमसहित ७ वटा वडा रहेको धवलागिरिको यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि आज पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । जिल्ला खोप समन्वय समितिको संयोजक समेत रहनुभएकी कार्यवाहक प्रमुख खत्रीले भौगोलिक हिसाबले जिल्लाको विकट ठाउँमा रहेको धवलागिरि गाउँपालिका जिल्लामै पहिलो पूर्णखोप सुनिश्चित पालिकाको रुपमा घोषणा हुन सफल भएकोमा यस कार्यमा खट्ने सबैलाई धन्यवाद दिनुभयो ।

 सोही अवसरमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो । उहाँले मानव स्वास्थ्य र स्वस्थ जीवनका लागि खोप निकै महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि खोपलगायत गाउँपालिकाबाट सञ्चालन हुने कार्यक्रमहरुमा सबैको सहयोग हुने अपेक्षा समेत गर्नुभयो । 

कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल र गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवं कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख क्षत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रवक्ता एवं वडानम्बर ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले स्वागत गर्नुभएको थियो । 

उक्त कार्यक्रममा पूर्णखोप पालिका सुनिश्चित घोषणामा सहयोग पु¥याउनुहुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र फोकल पर्सनलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा पालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए । धवलागिरि गाउँपालिका म्याग्दीसहित गण्डकी प्रदेशमै पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषित भई पहिलो बनेको दाबी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register