कसरी तोड्ने होला सामूहिक पतनको दुष्चक्र ?

हामीभित्र विद्रोहको आगो निभ्यो । हामीभित्र प्रश्न सकिए । हामी सेवक हुँदै गयौँ । जब हामीभित्र विद्रोहको चेतना सकियो, सत्ताधारीहरू अझ भ्रष्ट हुँदै गए । सत्ताधारीहरू अझ बेइमान हुँदै गए । सडकमा मान्छे रिसाउँदा त्यो कति निर्मम र खतरनाक हुन्छ सत्ताधारीहरूले बिर्सिए । र, त्यसपछि उनीहरूलाई लाग्यो उनीहरू स्वयं ईश्वर हुन् र उनीहरूको सत्ता अजेय छ ।

May 14, 2025 - 05:50
 0
कसरी तोड्ने होला सामूहिक पतनको दुष्चक्र ?

सिन्डिकेटको जालो

जब म केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डका विषयमा सोच्न थाल्छु, मनमा खालखालका प्रश्न आउँछन् । जस्तो कि एउटा गतिशील समाजमा कुनै असफल नेता पटक–पटक प्रधानमन्त्री हुन सम्भव हुन्छ, कसरी ? लगातार ३० वर्ष एउटै व्यक्ति पार्टीको प्रमुख भएर रहन सम्भव हुन्छ कसरी ? सर्वत्र आशङ्का र प्रश्नले घेरिएको मान्छे नै सत्ताको प्यारो हुन्छ, कसरी ?

यस्तै प्रश्नबारे सोचिबस्दा, मेरो आँखा अगाडि नाच्न थाल्छन्, अनेक अनुहारहरू । र, आँधीझैँ प्रश्नहरू आउँछन्, एउटा सभ्य दुनियाँ कुनै सृजनाहीन र योजनाहीन (थप, अनैतिक) मान्छेलाई पटक–पटक नेता स्वीकार्न बाध्य हुन्छ, कसरी ? जेल जानुपर्ने भ्रष्ट ठेकेदार, कमिसन खोर र बिचौलिया लगातार पद र विभूषणले सुशोभित भइरहन सम्भव हुन्छ, कसरी ?

दलालहरू पुजिने र खलनायकहरू नायक बन्ने समाज कसरी सुसंस्कृत हुनसक्छ ?

यस्तो छ कि दर्जनौँ वर्षदेखि समयको प्रवाहमाथि कुण्डली मारेर बसेको छ, एउटा समूह । जो हाम्रो गति र वेगलाई अवरुद्ध गर्न कम्मर कसेर लागेको छ । तर हामी उसैलाई आफ्नो भाग्य विधाता ठानेर स्तुतीगानमा मग्न छौँ । कस्तो दुर्भाग्य ?

सभ्य र गतिशील समाजमा यस्तो किमार्थ हुँदैन । तर, हामीकहाँ बितेका अनेकौँ वर्षदेखि उनै मुठ्ठीभर मान्छेहरू सत्ताको सिंहासनमा फन्को मारिरहेका छन् । विगत अनेकौँ वर्षदेखि वकिल, पत्रकार, नागरिक अगुवा वा बुद्धिजीवीको पगरी गुथेका उनै सफेदपोस मान्छेहरू पार्टी कार्यालयको ढोकामा थर्पो हालेर बसेका छन् । जो असफल छन्, उनै बौद्धिक, उनै ज्ञानी । जो असफल छन् उनै नेता, उनै भविष्यवेत्ता ।

अर्थात्, अवस्था यस्तो छ कि दर्जनौँ वर्षदेखि समयको प्रवाहमाथि कुण्डली मारेर बसेको छ, एउटा समूह । जो हाम्रो गति र वेगलाई अवरुद्ध गर्न कम्मर कसेर लागेको छ । तर हामी उसैलाई आफ्नो भाग्य विधाता ठानेर स्तुतीगानमा मग्न छौँ । कस्तो दुर्भाग्य ?

असफलता र गतिहीनताको यो यस्तो महासिलसिला हो, जसका कारण समय स्थिर छ, चेतना भुत्ते छ र राजनीति गतिहीन बनिरहेको छ । तर पनि वर्षौँ वर्षदेखि दुर्भाग्यको यो सिलसिला निर्बाध चलिरहेको छ, कसरी ? तीव्र गतिमा दौडिएको विश्व व्यवस्थाका बीचमा, सिर्फ हामी मात्र गतिहीन र स्थिर हुन सक्छौँ, कसरी ? एउटा लोकतान्त्रिक राज्यमा यस्तो अनिष्ट सम्भव हुन्छ कसरी ?

यो यस कारण सम्भव हुँदैछ कि हाम्रो राज्य र राजनीति शक्ति र स्वार्थको बहुआयामिक सिन्डिकेट बनेको छ । त्यसैले यो सबै सम्भव भइरहेको छ । जहाँ पार्टीहरू पार्टीजस्ता छैनन् र सरकार तिनै सिन्डिकेटको मात्र व्यवस्थापक बनेको छ । त्यसैले यो सबै सम्भव भइरहेको छ । जहाँ विचार होइन स्वार्थले काम गर्छ । जसमा परिवर्तनको एजेन्डा होइन, फगत नाफाको अर्थ छ ।

प्रश्न उठ्छ, को हो त्यो सिन्डिकेटको सदस्य ? जवाफ सर्वत्र पाइन्छ । जस्तो कि ऊ विश्वविद्यालय वा अनुसन्धान शालाको अगुवा हो । ऊ बिपी प्रतिष्ठान, मदन गृह वा पुष्पलाल केन्द्रको प्रमुख हो । ऊ शिक्षक हो, ऊ प्राध्यापक हो ।

ऊ सरकारी हाकिम हो, जो विद्यार्थीकालमा रातो झण्डा बोकेर पुस्तकालय जलाउँथ्यो । ऊ कुनै बासी नेता हो, जो कुनै बेला रोल्पा र रुकुमतिर क्रान्तिको गीत गाउँथ्यो । देख्नमा ऊ उद्योगी, व्यापारी वा ठेकेदार हुनसक्छ । वा, ऊ वकिल हुनसक्छ, ऊ पत्रकार हुनसक्छ ।

पुरापुर एउटा असफल पुस्ता अहिले महासिन्डिकेटभित्र एकताबद्ध छ । जसको उच्चासनमा छन्, सत्ताधारी नेताहरू । तल बसेका छन्, अनेक रूप, रङ्ग र परिचयका तिनका सेवक । र, आसपासमा छन् आसेपासे र दलालहरू ।

देख्नमा जो भए पनी खासमा ऊ बिचौलिया हो । त्यसैले, हो सिन्डिकेटको सदस्य ।

अर्थात्, पुरापुर एउटा असफल पुस्ता अहिले महासिन्डिकेटभित्र एकताबद्ध छ । जसको उच्चासनमा छन्, सत्ताधारी नेताहरू । तल बसेका छन्, अनेक रूप, रङ्ग र परिचयका तिनका सेवक । र, आसपासमा छन् आसेपासे र दलालहरू ।

सिन्डिकेटको चित्रलाई अझैँ स्पष्ट गरौँ । जस्तो यो यस्तो सिन्डिकेट हो, जहाँ एउटाले भ्रष्टाचार गर्छ, दोस्रोले अनुसन्धान गर्छ, तेस्रोले सफाई दिन्छ । एउटाले बिन्ती बिसाउँछ, अर्कोले विभूषण बाँड्छ र तेस्रोले सुशोभित गरिदिन्छ । एउटाले टेन्डर निकाल्छ, अर्कोले ठेक्का पार्छ, तेस्रोले भुक्तानी दिन्छ ।

एउटाले आयोग बनाउँछ, अर्को आयोगमा बस्छ, तेस्रोले उसका बेथितिहरूलाई अनुमोदन गरिदिन्छ ।

एउटाले भाषण गर्छ, अर्कोले समाचार बनाउँछ र अर्कोले तारिफमा लेख लेख्छ ।

अर्थात्, यहाँ सबका सब मिलेका छन् । एयरलाइन्स डुबाउन मिलेका छन्, खोला बेच्न मिलेका छन्, हतियार किन्न मिलेका छन्, सरकारी जग्गा हडप्न मिलेका छन् ।

अवस्था यस्तो छ कि, औपचारिक राजनीतिमा पार्टी अलग छन् । युनियन अलग छन् । विचारका पोथा अलग छन् । घोषणापत्र र चुनाव चिह्न अलग छन् । औपचारिक रूपमा हेर्दा, उनीहरूबीच प्रतिस्पर्धा छ, आरोप प्रत्यारोप र गालीगलौज छ । तर अनौपचारिक सम्बन्धमा उनीहरूको एउटा सिन्डिकेट छ । र, आफ्नो वर्चस्वका लागि उनीहरू जस्तोसुकै लेनदेन गर्न पनि तयार छन् ।

यसरी राज्य पंगु बनेको छ । संरचनाहरू बेकामे, पत्रु र गतिहीन बनेका छन् । यसरी हाम्रो समय, चेतना र गति अवरुद्ध भएको छ । अर्थात्, यसरी हामी भ्रष्टहरूको महासिन्डिकेटमा फसेका छौँ ।

बहिखाताको हिसाबकिताब

दशकौँदेखि सिन्डिकेटले देश कसरी लुट्दैछ, केही तथ्यहरू हेरौँ । जस्तो सिक्टा सिँचाई आयोजनाको सुरुवाती लागत स्टिमेट १२८० करोड थियो । त्यो बढेर २५०० करोड आसपास पुग्यो । अझैँ बढ्दै छ । बबई सिँचाई आयोजनाको सुरुवातको लागत स्टिमेट २८७ करोड थियो, त्यो बढेर १९०० करोड आसपास पुग्यो र अझैँ बढ्दै छ ।

काठमाडौं-तराई द्रुतमार्गको सुरुको लागत १११०० करोड थियो, अहिले २२००० करोड लगभग पुगेको छ र अझैँ कति पुग्छ थाहा छैन । मेलम्ची २४०० करोडमा सुरु भएको थियो । पछि त्यो ३१००० करोडभन्दा माथि पुग्यो र अझैँ उकालो चढ्दै छ ।

पाँच वर्षमा सक्नुपर्ने परियोजना १५ वर्षमा सकिँदैन । तर न त ठेकेदारलाई कारबाही हुन्छ, न त मन्त्रीले दायित्व लिन्छ । न त अख्तियार लाग्छ, न त अदालत जाग्छ । न त कम्युनिस्टहरू बोल्छन्, न त बोल्छन् प्रजातन्त्रवादीहरू ।

आश्चर्य के भने एउटा अनुसन्धान संस्थाको खर्च अनुसन्धानमा भन्दा प्रशासनमा तेब्बर देखिन्छ । रेल घस्रँदै छ, तर रेल अफिसको खर्च उकालो चढेको चढेकै छ । पानी जहाज छैन, तर अफिस छ । महँगा टावरहरू बन्दैछन्, तर त्यो टावरबाट हेर्दा रोजगारी कतै देखिँदैनन् ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार बेरुजु बढेको बढ्यै छ । र, उठ्न नसक्ने बेरुजु नै अरबौँमा छ । जसमा विद्यालय बन्द हुँदा खाजा खुवाएको देखि नेता विदेश गएको र उपचार गराएको समेत हिसाब देखिन्छ । त्यसो त पूर्वाधारमा नियमविपरीत अनेकौँ भुक्तानी गरिएको छ । र, भुक्तानी पाउनेहरूको सूचीमा सिन्डिकेटकै मान्छेहरू धेरै छन् ।

आश्चर्य के भने एउटा अनुसन्धान संस्थाको खर्च अनुसन्धानमा भन्दा प्रशासनमा तेब्बर देखिन्छ । रेल घस्रँदै छ, तर रेल अफिसको खर्च उकालो चढेको चढेकै छ । पानी जहाज छैन, तर अफिस छ । महँगा टावरहरू बन्दैछन्, तर त्यो टावरबाट हेर्दा रोजगारी कतै देखिँदैनन् ।

उता कर्णालीमा ५० प्रतिशतभन्दा धेरै बालबालिका कुपोषणको सिकार छन्, यता राजधानीमा ५० परिवारको रजगज आकासिँदो छ । देशमा कृषि मन्त्रालय छ, तर बितेका ३० वर्षदेखि किसान मल पर्खिबसेका छन् । काठमाडौंमा भूमिसुधार मन्त्रालय छ, तर ५० वर्षमा पनि सुकुम्वासी समस्या किनारा लाग्दैन । आयोग बन्छ, पैसा सकिन्छ, बस ।

विज्ञान मन्त्रालयले अनुसन्धान गर्दैन । स्कुलमा किताबहरू पुग्दैनन् र अस्पतालमा औषधि पाइँदैन । भनिन्छ, स्थानीय तहका ३० हजार कर्मचारी करारमा छन् । वार्षिक ६ अर्ब उनीहरूलाई चाहिन्छ । त्रिविको बेरुजु २४ अर्ब छ । जहाँ पार्टीको सिफारिसमा नियुक्त प्राध्यापकहरू बस्छन् । जसले पढाउन पर्दैन । प्रदेशमा गाडी खरिद गर्न अरबौँ खर्च हुन्छ । तर बाटोमा सुत्केरी हुने महिलाहरूको दुःख कसैले देख्दैन ।

संसद्मा कोरम पुग्दैन र बैठक पटक–पटक स्थगित हुन्छ । मात्र केही सयका लागि सभासद्हरू हाजिरी गर्दछन् र टाप कस्छन् । विधायक या त नेताको दलानमा हुन्छ या त मन्त्रीको कोठरीमा । तर फेरि पनि उनैलाई माननीय भन्नुपर्ने, उनैलाई किलोका किलो माला चढाउनुपर्ने ।

विचार गरी हेरौँ त, त्यो माला लगाउनेहरूको लाइनमा को छ ? एउटा सभ्य र लोकतान्त्रिक राज्यमा भ्रष्टहरू पुजिने र ठगहरू सम्मानित भइरहने कसरी हुन्छ ? किन विद्रोह हुँदैन ? किन विपक्षीहरू बोल्दैनन् ? किन सरकार देख्दैन यावत बेथिति ? किनभने, यो शक्ति सम्बन्धको जालसाजी हो । यो महासिन्डिकेटको तमासा हो ।

त्यसैले सर्वत्र बेथिति छ, तर यावत बेथितिमा पनि चुपचाप छन्, सिन्डिकेटका सभ्यजनहरू । किनभने, यो उनीहरूको साझा कर्म हो, यो उनीहरूको साझा स्वार्थ हो । र, हो सामूहिक पतनको अनन्त परिदृश्य । जहाँ देखिन्छ, राज्य, राजनीति र राजकाजको लज्जास्पद सिन्डिकेट र त्यसले सिर्जना गरेको फोहोर र मात्र फोहोर ।

सामूहिक पतन

आजको राजनीतिक असफलता सामूहिक दुष्चक्रको एक कठिन सिलसिला हो । निश्चय नै हाम्रो गरिबी, कुशासन र अविकासका लागि दल, नेता र सरकारहरू जिम्मेवार छन् । तर दलहरूलाई सरकारमा पुर्‍याउँछ कसले ? मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ?

आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा हामी कहाँ छौँ ?

विचार गरौँ त, माधव नेपाललाई फेरि पार्टी अध्यक्ष बनाउन हत्ते गर्छ कसले ? ओली वा प्रचण्डको तिर्सनालाई जगाइराख्छ कसले ? राल सिँगान चुहाउँदै फेरि प्रधानमन्त्री हुन देउवालाई उकास्छ कसले ?

झट्ट हेर्दा समस्या पार्टीमा देखिन्छ । अथवा, समस्या प्रधानमन्त्री वा पूर्व प्रधानमन्त्रीहरूमा देखिन्छ । त्यो त प्रकट स्वरूप मात्र हो । निश्चय नै समस्या राजनीतिमा छ, पार्टीहरूमा छ र नेतृत्वमा छ । किनभने, अगुवाहरू आत्मकेन्द्रित र पदाशक्त छन् । उनीहरू शक्तिको तिर्सनाले व्याकुल छन् । तर यिनलाई टेको दिएर बचाइराख्छ कसले ?

विचार गरौँ त, माधव नेपाललाई फेरि पार्टी अध्यक्ष बनाउन हत्ते गर्छ कसले ? ओली वा प्रचण्डको तिर्सनालाई जगाइराख्छ कसले ? राल सिँगान चुहाउँदै फेरि प्रधानमन्त्री हुन देउवालाई उकास्छ कसले ?

के यो काममा हाम्रो बौद्धिक जगत्, शिक्षक, कर्मचारी, लेखक, वकिल, प्राध्यापक वा नागरिक समाज मतियार छैन ? त्यसैले स्पष्ट छ, समस्या पार्टी वा राजनीतिमा मात्र छैन । यो सर्वत्र छ । र, यो मूलतः सिन्डिकेटमा छ, जसले हाम्रो लोकतन्त्रको स्वाभाविक गति, ऊर्जा र सामर्थ्यलाई अवरुद्ध गरिरहेको छ ।

कसरी तोड्ने होला यो सिन्डिकेट ?

केही मान्छेहरू पाँच जना पुराना नेताहरूलाई बिदा गर्नासाथ धेरै कुरा फेरिने विश्वासमा छन् । कतिपयको विश्वास छ, केही थान राम्रा मान्छेहरू संसद्मा पुग्नासाथ समस्या सकिन्छ । अथवा, पार्टीमा गगन, विश्वप्रकाश वा घनश्यामहरू आउनासाथ धेरै कुरा छुमन्तर हुन्छ ।

निश्चय नै बुढा नेताहरूको बिदाइ आवश्यक छ । र, राजनीतिक पुनर्गठन अनिवार्य छ । तर के यति गर्दैमा सिन्डिकेटको अन्त्य हुन्छ ? के यति गर्नासाथ शिक्षक, प्राध्यापक, बुद्धिजीवी, प्रशासक, वकिल, डाक्टर वा ठेकेदारको सोच, शैली र प्रवृत्तिको जालो तोडिन्छ ?

अन्यथा नेताहरू फेर्ने, तर लोकतन्त्रवादी वा वामपन्थी आन्दोलनको खिया नफाल्ने हो भने नेता फेर्दैमा के हुन्छ ? नेता फेर्ने, तर बुद्धिजीवीहरूको मनको लोभ नफेर्ने हो भने के हुन्छ ? मन्त्री फेर्ने, तर भ्रष्ट प्रशासक जोगाउने हो भने के हुन्छ ? व्यक्ति फेर्ने, तर सत्ताको चरित्र नफेर्ने हो भने, व्यक्ति फेर्दैमा के फेरिन्छ ?

मान्छेहरू भन्छन् हामीले संकट देखेकै छैनौँ । भोकाहरूको लस्कर देखेकै छैनौँ । एक दशकको आन्तरिक द्वन्द्वले नै हामीलाई हायलकायल पारेको थियो । त्योभन्दा ठूलो द्वन्द्वको चपेटामा हामी परेकै छैनौँ । हामीले न त स्वाधीनताको लडाइँ लड्यौँ, न त असह्यै रक्तपात भोग्यौँ ।

हामीले भ्रष्टाचारी देख्यौँ, तर तिनलाई जनताले समातेर सहर घुमाएको देखेका छैनौँ । हामीले दरबारहरू देख्यौँ, त्यसलाई जनताले कब्जा गरेको देखेकै छैनौँ । हामीले कालोबजारी गर्नेलाई देख्यौँ, तर चौबाटोमा तिनलाई भिडले ढुंगा हानेको देखेकै छैनौँ ।

त्यसैले हामीभित्र विद्रोहको आगो निभ्यो । हामीभित्र प्रश्न सकिए । हामी सेवक हुँदै गयौँ । जब हामीभित्र विद्रोहको चेतना सकियो, सत्ताधारीहरू अझ भ्रष्ट हुँदै गए । सत्ताधारीहरू अझ बेइमान हुँदै गए । सडकमा मान्छे रिसाउँदा त्यो कति निर्मम र खतरनाक हुन्छ सत्ताधारीहरूले बिर्सिए । र, त्यसपछि उनीहरूलाई लाग्यो उनीहरू स्वयं ईश्वर हुन् र उनीहरूको सत्ता अजेय छ ।

त्यो अजेय छैन । किनभने, नागरिकभन्दा त्यो अजेय हुनै सक्दैन । लोकतन्त्र भन्दा त्यो अजेय हुनै सक्दैन । तर त्यसका लागि आजको आवश्यकता हो, सामाजिक मनोविज्ञान, सोच र संस्कृतिको नवजागरण । राजनीतिको चरित्रमा परिवर्तन । राज्यको चरित्र र चिन्तनमा परिवर्तन । सिन्डिकेटको विघटन र लोकतान्त्रिक मूल्यहरूको पुनर्निर्माण ।

ख्याल गरौँ, अन्यथा, सामूहिक पतनको यो सिलसिलाले हामीलाई सिद्ध्याउने छ ।

dahal.keshab@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register