गाजामा हवाईमार्गबाट मानवीय सहायता सुरु गरेको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा हवाईमार्गबाट मानवीय सहायता वितरण सुरु गरेको जनाएको छ। इजरायली सेनाले आइतवार  जारी गरेको विज्ञप्ति अनुसार गाजामा  सातवटा सहायता प्याकेज  वितरण गरिएको बीबीसीले उल्लेख गरेको छ । गम्भीर भोकमरीको संकटबीच अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला वितरण गरिएका  ती प्याकेजहरुमा पिठो, चिनी र क्यानमा बन्द खाद्य सामग्री समावेश छन्  । इजरायलले यसअघि […]

Jul 27, 2025 - 03:05
 0
गाजामा हवाईमार्गबाट मानवीय सहायता सुरु गरेको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा हवाईमार्गबाट मानवीय सहायता वितरण सुरु गरेको जनाएको छ। इजरायली सेनाले आइतवार  जारी गरेको विज्ञप्ति अनुसार गाजामा  सातवटा सहायता प्याकेज  वितरण गरिएको बीबीसीले उल्लेख गरेको छ ।

गम्भीर भोकमरीको संकटबीच अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला वितरण गरिएका  ती प्याकेजहरुमा पिठो, चिनी र क्यानमा बन्द खाद्य सामग्री समावेश छन्  ।

इजरायलले यसअघि पनि संयुक्त राष्ट्रसंघ (यूएन) का गाडीहरू गाजामा प्रवेश गर्न दिने मानवीय मार्ग खोल्न तयार रहेको जनाएको थियो।

इजरायली सेनाका अनुसार यो सहायता वितरण ‘अन्तर्राष्ट्रिय संस्थाहरूको समन्वयमा र कोगाट (COGAT)’ को नेतृत्वमा गरिएको हो। कोगाट गाजामा सहायता प्रवेश निगरानी गर्ने इजरायली सैन्य निकाय हो।

सेनाले एक भिडियो पनि सार्वजनिक गरेको छ जसमा हवाइजहाजबाट राहत सामग्री खसालिएको देखिन्छ। तर उक्त भिडियोको  स्वतन्त्र  पुष्टि नभएको बीबीसीले जनाएको छ ।

शनिबार राति इजरायली सेनाले गाजामा मानवीय प्रतिक्रिया सुधार गर्ने प्रयास अन्तर्गत केही उपायहरू सुरु गरिएको जनाएको थियो। सेनाले जनघनत्व धेरै भएका क्षेत्रमा ‘मानवीय रोक’ (humanitarian pause) लागू गर्न पनि तयार रहेको जनाएको छ।

यसै क्रममा सेनाले गाजाको समुन्द्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने प्लान्ट (desalination plant) मा फेरि विद्युत् आपूर्ति सुरु गरेको बताएको छ, जसले झन्डै ९ लाख मानिसलाई सेवा पुर्‍याउने बताइएको छ।

मार्चदेखि इजरायलले गाजामा सबै आपूर्ति बन्द गरेको थियो र मे महिनाबाट केही नयाँ प्रतिबन्धसहित पुनः आपूर्ति सुरु गरिएको थियो।

अमेरिका र बेलायतको समर्थनमा इजरायलले गाजा ह्युमनिटेरियन फाउन्डेशन (GHF) लाई सञ्चालन गर्न अनुमति दिएको थियो। तर, मे महिनाको अन्त्यदेखि सञ्चालनमा आएको उक्त संस्थाले सहायता वितरणको क्रममा लगभग दैनिकजसो गाजावासीको ज्यान गएको रिपोर्टहरू सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघ, सहायता संस्थाहरू तथा इजरायलका केही मित्र राष्ट्रहरूले गाजामा खाद्य संकटका लागि इजरायललाई जिम्मेवार ठहराउँदै राहत सामग्रीको निर्बाध प्रवेशको माग गरेका छन्।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा कुपोषणका कारण १२५ जनाको मृत्यु भएको छ, जसमा ८५ जना बालबालिका छन्।

विश्व स्वास्थ्य संगठन (WHO) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले गाजाको भोकमरीलाई ‘मानव निर्मित सामूहिक भोकमरी’   को संज्ञा दिएका छन्।

इजरायली सेनाले भने खाद्य वितरणको जिम्मेवारी संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको भएको बताउँदै सहयोग हमासको हातमा नपुग्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

इजरायलले शनिबार जोर्डन, संयुक्त अरब इमिरेट्स र बेलायतको समर्थनमा तयार गरिएको हवाइमार्गबाट सहायता वितरण योजनालाई स्वीकृति दिएपछि केही राहत आपूर्ति सुरु गरेको हो।

तर, यूएन राहत संस्था UNRWA का प्रमुख फिलिप लाजारिनीले हवाईमार्गबाट सहायता वितरणलाई महँगो, अल्पप्रभावकारी र जोखिमपूर्ण भन्दै आलोचना गरेका छन्। उनले भने, “यो प्रक्रिया असफल भएमा भोकले पिडित नागरिकको ज्यान समेत जान सक्छ।”

उनका अनुसार जोर्डन र इजिप्टमा झन्डै ६ हजार ट्रक राहत सामग्री गाजामा प्रवेशको पर्खाइमा छन्। उनले इजरायललाई नाकाबन्दी हटाउन, नाका खोल्न र सुरक्षित तथा सम्मानजनक पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन्।

केही गाजावासीले हवाइमार्गबाट गरिने सहायता वितरणलाई  ‘जोखिमपूर्ण’ र ‘दुर्घटना निम्त्याउने’ प्रक्रिया भनेका छन्।

एक स्थानीय बासिन्दाले बीबीसीसँग भने, “हवाईबाट खसालिएको सामग्री पालमाथि खस्न सक्छ, जसले गम्भीर चोटपटक वा मृत्यु समेत गराउन सक्छ।”

भोकमरीसँगै गाजावासी अहिले पानीको अभावको समस्यामा पनि छन्। एक महिलाले भनिन्, “हामीकहाँ न खानेकुरा छ, न पानी, न रोटी छ ।”

इजरायलले ७ अक्टोबर २०२३ मा हमासद्वारा दक्षिण इजरायलमा गरिएको आक्रमणको प्रतिशोधस्वरूप गाजामा युद्ध सुरु गरेको थियो। उक्त आक्रमणमा झन्डै १२ सय इजरायली नागरिक मारिएका थिए र २५१ जनालाई अपहरण गरिएको थियो।

त्यसयता  ५९ हजार  भन्दा बढी मानिसको मृत्यु भइसकेको गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register