महानगरको छात्रवृत्ति पाएकासँग विभिन्न बहानामा विद्यालयले मागे शुल्क 

काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा उर्तीण विद्यार्थीहरूसँग समेत निजी उच्च माध्यामिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क माग गरेका छन् ।  राष्ट्रिय परीक्षा बोर्डलाई तिर्नुपर्ने शुल्क बाहेक अन्य कुनै शुल्क लिन नपाउने भए पनि विभिन्न शीर्षकमा शैक्षिक संस्थाहरूले रकम माग गरेको पाइएको हो ।  महानगरले छात्रवृत्तिमा सिफारिस गरेको विद्यालयमा भर्ना हुन जाँदा प्रयोगशाला, पुस्तकालय, परीक्षालगायत विभिन्न […]

Jul 30, 2025 - 12:33
 0
महानगरको छात्रवृत्ति पाएकासँग विभिन्न बहानामा विद्यालयले मागे शुल्क 

काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षामा उर्तीण विद्यार्थीहरूसँग समेत निजी उच्च माध्यामिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क माग गरेका छन् ।  राष्ट्रिय परीक्षा बोर्डलाई तिर्नुपर्ने शुल्क बाहेक अन्य कुनै शुल्क लिन नपाउने भए पनि विभिन्न शीर्षकमा शैक्षिक संस्थाहरूले रकम माग गरेको पाइएको हो ।  महानगरले छात्रवृत्तिमा सिफारिस गरेको विद्यालयमा भर्ना हुन जाँदा प्रयोगशाला, पुस्तकालय, परीक्षालगायत विभिन्न शीर्षकमा ५ हजारदेखि ३० हजार रूपैयाँसम्म माग गरिएको विद्यार्थीहरूले बताएका छन् । 

ह्वाट्सएप ग्रुपमा विद्यार्थीहरूले यसको खुलासा गरेका हुन् । उक्त ग्रुपमा महानगरको छात्रवृत्ति पाएर भर्नाका लागि पुगेका विद्यार्थीहरूले  आफूहरूसँग उमाविले विभिन्न शीर्षकमा पैसा मागेको खुलाएका हुन् । ह्वाट्सएपमा प्राप्त विवरणअनुसार  क्यापिटल कलेज, सिद्दार्थ एकेडेमी, कस्मिक कलेज, पेन्टागन इन्टरनेसनल  कलेज, ह्वाइटहाउस इन्टरनेसनल कलेज, काठमाडौं मोडल कलेज, ओरियन्ट कलेज, ब्रिजवाटर इन्टरनेसनल स्कुलले  महानगरको छात्रवृत्ति पाएर भर्ना गर्न पुगेका विद्यार्थीहरूसँग पैसा मागेको पाइएको हो । 

कुन कलेजले कति मागे शुल्क ?

क्यापिटल कलेजले भर्ना गर्ने समयमा वार्षिक १५ हजार रुपैयाँ लाग्ने भनेको एक विद्यार्थीले ह्वाट्सएप ग्रुपमा बताएका छन् । यस्तै,अर्का विद्यार्थीले सिदार्थ एकेडेमीमा आफूलाई वार्षिक १८ हजार, परीक्षा शुल्क तथा २ हजार रुपैयाँ विविध शुल्क मागेको दाबी गरे । अर्का विद्यार्थीले भने आफूलाई ओरियन्ट कलेजले वार्षिक १०-१५ हजार शुल्क माग गरेको उल्लेख गरे । व्यवस्थापन संकायमा महानगरको छात्रवृत्तिअन्तर्गत ब्रिजवाटर कलेजमा भर्ना हुन गएका एक विद्यार्थीले कलेजले आफूसँग परीक्षा शुल्कबापत ९ हजार र   २ वर्षको रजिस्ट्रेसन शुल्क २५०० मागेको बताए । 

पेन्टागन इन्टरनेसनल कलेजले  भर्ना गर्न जाँदा अभिमुखीकरण कार्यक्रम, परिचयपत्र, पुस्तकालय शुल्कलगायतका शीर्षकमा ५ हजार माग गरेको अर्का विद्यार्थीले ह्वाट्सएप ग्रुपमा उल्लेख गरेका छन् । यस्तै, कस्मिक कलेजमा भर्ना हुन गएका विद्यार्थीले भने आफूसँग प्रयोगशालाको वार्षिक शुल्क २० हजार ५०० माग गरेको उल्लेख गरेका छन् ।  

काठमाडौं महानगरपालिकाले पूर्ण छात्रवृत्तिका लागि लिएको परीक्षामा १० हजार ८७६ जना उत्तीर्ण भएका थिए । ती विद्यार्थीलाई उनीहरूको रोजाइअनुसार काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा पठाइएको थियो । यसपछि भर्ना हुन पुगेका विद्यार्थीसँग विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क मागेका हुन् । 

जबकी यो नोमिनेसन लेटरमा नै भर्नाको समयमा विद्यार्थीलाई निःशुल्क भर्ना गर्न उल्लेख गरिएको छ। ह्वाइट हाउस इन्टरनेसनल कलेजमा सिफारिस भएका विद्यार्थीले  भर्नाको समय परीक्षा शुल्क र अन्य गरी ९ हजार रुपैयाँ मागेको बताए । 

अन्य दुई विद्यार्थीले भने आफूहरूसँग केएमसी कलेजले वार्षिक १५ हजारको दरले दुई वर्षका लागि ३० हजार माग गरेको उल्लेख गरे । 

छात्रवृत्तिबारे कानुनी व्यवस्था के छ ?

नि:शुल्क शिक्षासम्बन्धी ऐन २०७५ को दफा २७ को उपदफा ३ मा निजी र सार्वजनिक शैक्षिक गुठीअन्तर्गतका विद्यालयमा छात्रवृत्तिको कोटा निर्धारण गरिएको छ ।  जसअन्तर्गत पाँच सय विद्यार्थी भएका विद्यालयले कम्तीमा १० प्रतिशत, पाँचसयदेखि आठ सयसम्म विद्यार्थी भएकाहरूले १२ प्रतिशत र आठ सय बढी संख्या भएकाले कम्तीमा १५ प्रतिशत विद्यार्थीलाई नि: शुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था छ । 

यो व्यवस्था कार्यान्वयनका लागि  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०८० चैत ७ गते स्थानीय तहलाई  परिपत्र गरेको थियो । 

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति सिफारिस भएका विद्यार्थीलाई नि:शुल्क भर्ना अनिवार्य  जानकारी गराउन

मनोनयपत्रमा उल्लेख गरेको छ । महानगरपालिकाको शिक्षा ऐनमा नि:शुल्क भर्ना नगरेमा वा छात्रवृत्ति उपलब्ध नगराएमा १० हजारदेखि १ लाखसम्म जरिवानाको प्रावधान छ । 

छात्रवृत्ति सिफारिस विद्यार्थीसँग शुल्क माग गरेको स्वीकार 

निजी उच्च माविले महानगरको छात्रवृत्तिमा सिफारिस विद्यार्थीसँग शुल्क माग गरेको स्वीकार गरेका छन् । क्यापिटल कलेजका सहायक प्रधानाध्यापक सागरराज खनालले कलेजले विद्यार्थीसँग वार्षिक परीक्षा शुल्क माग गरेको बताए । ‘महानगरको छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग वार्षिक परीक्षाबापत केही हजार मागेका छौँ  । १२५ रूपैयाँ भर्ना शुल्क तिर्न पनि भनेका हौँ,’ उनले भने, ‘छात्रवृत्ति पाएका विद्यार्थीहरूले सम्पूर्ण कुरा नि:शुल्क भन्ने बुझेका रहेछन् ।’ 

गत वर्ष पनि कलेजले केही शीर्षकमा छात्रवृत्ति सिफारिस विद्यार्थीहरूसँग रकम माग गरेको र यसपटक पनि त्यसलाई निरन्तरता दिइएको उनले बताए । ‘अन्य संस्थाहरूले पनि परीक्षा शुल्क लिएको पायौँ । महानगरले केही सर्कुलर जारी गरेमा हामी त्यसअनुसार अघि बढ्नेछौँ,’ खनालले नेपालभ्युजसँग भेन । 

सिद्धार्थ एकेडेमीका प्रशासन प्रमुख प्रभाकर पनेरूले प्रयोगशाला र परीक्षा शुल्क लिने गरिएको बताए । ‘विद्यार्थीको बुझाइमा केही त्रुटि हुनसक्छ । हाम्रो संस्थाले ल्याब र परीक्षाका लागि शुल्क मागेको हुनसक्छ,’ उनले भने । 

ओरियन्ट कलेजका निर्देश तुलसी भण्डारीले विज्ञान र होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूसँग परीक्षा र अन्य प्रशासकीय शुल्क लिने गरेको उल्लेख गरे । ‘छात्रवृत्ति पाएका विद्यार्थीहरूको अभिभावकसँग हामीले स्वेच्छिक योगदानबारे कुराकानी गरेका छौँ । जबरजस्ती कसैसँग पनि असुल गरेका छैनौँ,’ उनले भने । 

ब्रिजवाटर इन्टरनेसनल स्कुलका प्रशासकीय प्रमुख विक्रम शर्माले राष्ट्रिय परीक्षा बोर्डको शुल्क बाहेक अन्य कुनै शुल्क माग नगरिएको बताउँछन् । ‘राष्ट्रिय  परीक्षा बोर्डका लागि लाग्ने शुल्क बाहेक अन्य मागेका पनि छैनौँ र लिएका पनि छैनौँ,.’ उनले भने । 

पेन्टागन कलेजका सहप्रधानाध्यापक सिद्धराज भाटले  सेक्युरिटी फण्डको रूपमा ५ हजार रूपैयाँ लिने गरेको बताए । उक्त शुल्क पछि फिर्ता हुने उनको भनाइ छ ।  ‘पोहोर साल जस्तै यो वर्ष पनि हामीले छात्रवृत्ति पाएकालाई नि: शुल्क नै गरेको छौँ । त्यो ५ हजार रुपैयाँ भनेको रिफन्डेबल हो । ल्याबको सामान टुटफुट भएको खण्डमा काटिने शुल्क हो । त्यस्तो नभएमा त्यो फिर्ता हुन्छ,’ उनले भने । 

ह्वाइटहाउस कलेजका भर्ना प्रमुख अनिला रिजालले महानगरको छात्रवृत्ति सिफारिसमा आएका विद्यार्थीहरूले परिचयपत्र, ड्रेस र पुस्तकको पैसा व्यहोर्नुपर्ने जानकारी गराएको बताइन् । त्यस बाहेक कुनै शीर्षकमा पैसा माग नभएको उनको जिकिर छ । केएमसीका प्रधानाध्यापक सुरेन्द्र सुवेदीले अभिमुखीकरण र परीक्षा शुल्क बाहेक अन्य शुल्क माग नगरिएको बताए । 

छात्रवृत्ति सिफारिस विद्यार्थीसँग पैसा लिन पाइँदैन,  पैसा माग भए उजुरी गर्नू : महानगर

यता, महानगरपालिकाले भने छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग शैक्षिक संस्थाले कुनै शुल्क लिन नपाउने बताएको छ । शैक्षिक संस्थाले पैसा माग गरे उजुरी गर्न महानगरले भनेको छ । ‘पैसा लिएको घटना भए हामीलाई उजुरी दिँदा हुन्छ । छात्रवृत्ति सिफारिस विद्यार्थीसँग एक रूपैयाँ पनि लिन मिल्दैन,’ मेयर बालेन्द्र शाहका सचिवालय सदस्य शैलेन्द्र झाले भने  । 

विद्यार्थीसँग शुल्क माग भए उनीहरूले महानगरलाई टेलिफोनमार्फत जानकारी गराउनसक्ने महानगरको  शिक्षा 

 विभागका प्रमुख केशव ज्ञवालीले बताए । महानगरको कलसेन्टर ११८० वा १६६००१०५५११  विद्यार्थीहरूले गुनासो टिपाउन सक्नेछन् । छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग शुल्क माग गरेको गुनासो बढेपछि महानगरले अनुगमनलाई पनि तीव्रता दिएको छ । ‘विद्यार्थीको गुनासो आएका संस्थाहरूमा हामीले अनुमगनसमेत गरेर सचेत गराएका छौँ,’ उनले भने । 

पैसा असुले गरेका शैक्षिक संस्थालाई रकम फिर्ताको निर्देशन दिइएको उनले बताए । विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डलाई तिर्नुपर्ने बाहेक कुनै शुल्क तिर्नु नपर्ने ज्ञवालीको भनाइ छ ।  ‘भर्नाको बेला पैसा लिएका शैक्षिक संस्थाहरूलाई हामीले पैसा फिर्ता दिन निर्देशन दिएका छौँ । निर्देशन पालना नगर्ने शैक्षिक संस्थालाई हामी कानुन बमोजिम कारबाही गर्छौँ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register