हर्कको पत्र संस्करण : सरकारी भाषाको नयाँ व्याकरण

लामा वाक्य, त्यस्तै परे एकै पेजको एक प्याराग्राफ लेखिने सरकारी अड्डाका कागजपत्रलाई साम्पाङले छोट्याएका छन् । सरल बनाएका छन् ।

Jul 31, 2025 - 05:15
 0
हर्कको पत्र संस्करण : सरकारी भाषाको नयाँ व्याकरण

काठमाडौं । चर्चा र विवादका ‘आइकन’ हुन्, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ । फेसबुकदेखि टिकटकसम्म साम्पाङका स्टाटस र भिडिओको चर्चा भै जान्छ । धरानदेखि साम्पाङले सिंहदरबारलाई पठाएका चिठ्ठी ठेगानामा नपुग्दै चर्चामा आइसक्छन् । किनभने चर्चा र विवाद बेगरका साम्पाङको त कल्पना नै गर्न सकिन्न ‘हौ’ ।

हालसालैको कुरा गरिलिनुहोस्, छेउमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदाहुँदै साम्पाङलाई उपमहानगरको आफ्नै अस्पताल बनाउन मन लाग्यो । अस्पताल बनाउन भनेर साम्पाङले हेरेको जग्गा भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको नाउँमा रैछ ।

पर्‍यो फसाद !

अनि साम्पाङले काठमाडौंमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिठ्ठी धस्काइहाले । धन्यवाद नै भन्नुपर्छ फेसबुक स्टाटसमार्फत आदेश दिने साम्पाङले चिठ्ठी लेखेकोमा ।

‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा त लान पाइँदैन । Please फिर्ता गरिदिनुहोला,’ अनौपचारिक र प्रष्ट अनि मनमा लागेको कुरा भनिहाल्ने साम्पाङको सिग्नेचर शैली हो । चिठ्ठीमा पनि यो शैली त आउने भैहाल्यो ।

साम्पाङको यो चिठ्ठी सरकारी हुलाकबाट भन्दा पैला फेसबुकबाट काठमाडौं आइपुग्यो । साम्पाङले हुलाकमार्फत यो चिठ्ठी स्वास्थ्य मन्त्रालयको ठेगानामा पठाए कि पठाएनन् थाहा भएन । फेसबुक, टिकटक र समाचारबाटै यो चिठ्ठी स्वास्थ्य मन्त्रालय पुगिसक्यो । भलै सरकारी ढड्डामा दर्ता भएको छैन होला ।

तर, साम्पाङलाई धरानबाट हुलाक वा फेसबुकमार्फत काठमाडौं चिठ्ठी पठाउनु पटक्कै मन छैन । उनलाई यस्ता सरकारी चिठ्ठी हवाइजहाज चढाएर पठाउन मन छ । हवाइजहाज नभए हेलिकोप्टर भए पनि चढ्न मन छ । 

गत वर्ष साम्पाङ धरानमा विमानस्थल बनाउने भनेर कस्सिए । कस्सिए मात्र कहाँ र उनी विराटनगरबाट चिलगाडी चढेर काठमाडौं आए, सिंहदरबारका चोटाकोठा धाए एअरपोर्ट माग्दै । अचम्मै मान्नुपर्छ, खानेपानी माग्दै सिंहदरबारमा गाग्री नचाए जसरी उनले एअरपोर्ट माग्ने बेला सिंहदरबारमा प्लेन नचाएनन् ! 

गत वर्षको ९ पुसमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चिठ्ठी लेखे । विमानस्थल बनाउ भनेर आफूले दिएको निवेदन रद्दिको टोकरीमा फालियो भन्दै गुनासो गरेका साम्पाङले एअरपोर्ट नबनाउने भए अब हेलिप्याड बनाउँछु भन्दै धम्क्याए ।

उनले लेखेका थिए, ‘अब हामी एउटा हेलिप्याड भए पनि बनाउने सोचमा छौं । सहयोग गर्नुहोला । हेलिकोप्टर चढेर यात्रा गर्न पाऊँ, जनतालाई यात्रा गराउन पाऊँ भनी कोटीकोटी निवदेन गर्न चाहान्छु ! लौन सहयोग गर्नु परो ।’

तर, संघ सरकारले हेलिकोप्टर यात्रा गर्ने साम्पाङको रहर पूरा गरेन । बरु धरानमा खानेपानी ल्याउने नाममा साम्पाङले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो ।

आयोगले जवाफ मागेपछि साम्पाङले धरान उपमहानगरको लेटरहेडमा जवाफ कोरे, ‘कोकाहाको खानेपानी ल्याउँदा संसारै चकित भएर world book of record ले सम्मान गर्‍यो । विदेशीले हाम्रो हुनर चिन्यो तर, नेपाल सरकार र यसका अंग अख्तियारले मलाई मुद्दा लाको लाकै,…लाको लाकै….लाको लाकै…. लाको लाकै गर्छ । छक्क पर्छु ।’

उजुरी गरेर आफ्नो अपमान गरेको भन्दै साम्पाङले अख्तियारसँग गुनासो पनि गरिपठाए, ‘विश्व चकित पार्ने श्रम क्रान्तिका नायकलाई राष्ट्रले सम्मान गर्नुपर्छ । यसरी पिचृक पिचृक मुद्दा र उजुरी हाल्नु हुँदैन ।’

साम्पाङले लेखेका यस्ता चिठ्ठी प्रशस्तै छन् । गत वर्ष २१ असोजमा उनले धरानमा फोहोर व्यवस्था गर्ने ठाउँ बनाउनु परो भन्दै सिंहदरबारको खानेपानी तथा सरसफाइ मन्त्रालयलाई चिठ्ठी लेखे । मन्त्रालयबाट फोहोर फाल्ने ठाउँ बनाउन अध्ययन गरिरहेको जवाफ पाएपछि दिक्क भएका साम्पाङले चिठ्ठीमा आफ्नो दिक्दारी पोखे । 

‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्स हो ? जनतालाई, देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रियामाथि प्रक्रिया, प्रक्रियामाथि प्रक्रिया, अध्ययनै अध्ययन मात्रै चाहिएको छ । लौन सरकार खत्रा लाग्नुपर्‍यो । सेवा ढोग गरेँ फेरि पनि ।’

साम्पाङले धरान उपमहानगरको नाममा पठाउने अधिकांश पत्रमा सामान्यत: सरकारी कागजपत्रमा देखिने जस्तो औपचारिक शैली फेला पर्दैन । खोजेको खोज्यै गर्दा पनि फेला पर्दैन ।

आफूलाई ‘हर्क साम्पाङ अ रिभोलुसन’ भन्ने साम्पाङका चिठ्ठीमा औपचारिकता खोज्न थाल्दा त क्रान्तिकै अपमान भैजाला । पुरानो सिस्टमलाई विस्थापित गर्दै क्रान्तिले त नयाँ सिस्टम पो बसाउने हो । साम्पाङले अन्यत्र कति नयाँ सिस्टम बसाले त्यसै भन्न सकिन्न । तर, उनले सरकारी चिठ्ठीको शैली र भाषामा भने नयाँ सिस्टम बसालेका छन् । उनले लेख्ने चिठ्ठीमा निरस र प्राणहीन औपचारिक सरकारी भाषा हुँदैन ।

उनका चिठ्ठी अनौपचारिक शैलीका हुन्छन्, भलै कहिलेकाहीँ ती चिठ्ठीमा शब्दको हेरफेर भैजान्छ । नयाँ शैली सुरु गर्दा केही हेरफेर हुनु बिघ्न समस्या पनि त होइन नि !

भन्न त मान्छेहरू हर्क साम्पाङले धरान उपमहानगरको लेटरहेडमा लेखेको भाषा भएन, हुँदै भएन भनेर फेसबुक, टिकटक र ट्विटरमा कमेन्ट हान्दिन्छन् ।

भाषा आयोगका सदस्य डा. अमरराज गिरी पनि कमेन्ट गर्छन्, ‘सरकारी कागज, चिठ्ठीपत्र र कामकाजको भाषा यस्तै हुनुपर्छ भन्ने सूत्र पनि छैन । सरकारी कागजपत्र र कामकाजमा प्रयोग हुने भाषा यस्तै हुनुपर्छ भन्ने फर्म्याट छैन ।’

अब फर्म्याट छैन, सूत्र छैन भन्दैमा जे मन लाग्यो त्यही लेख्नु त ?

‘होइन, होइन, शिष्ट, मर्यादित, लेख्न खोजेको विषय प्रष्ट लेखिएको र शुद्ध नेपालीमा लेखिएको हुनुपर्छ,’ भाषा आयोगका सदस्य डा. गिरी फेरि कमेन्ट गर्छन् । साम्पाङका पत्रमा विषय त प्रष्टै हुन्छ  । अझ कतिपय पत्रमा उनले आवश्यकताभन्दा बढी पनि प्रष्ट पारेका हुन्छन् । 

जस्तो कि साम्पाङले खानेपानी ल्याएर ट्यांकी बनाउने खोजेको स्थानको जग्गा गुठी/वनको परेछ । अनि लफडा भै त गयो । त्यसपछि साम्पाङले भूमि मन्त्रालयलाई चिठ्ठी लेखे । 

दुई पेजको चिठ्ठीमा उनले वन/गुठीको जग्गाको कुरा मात्र कहाँ लेख्थे र । उनले लेखे, ‘पानी मागे शत्रुलाई पनि दिनु भन्थे बुढापाकाले । एक दिन मरेर जानु छ, बाँचुञ्जेल राम्रो काम गर्नुपर्छ, २ दिन बाचिञ्जेल के फुर्फुर गुर्न ? के तँ ठूलो कि म ठूलो ? मरेपछि सबैजना माटो अनि धुलो भन्ने सत्यलाई बुझेर म त सबैको सेवामा लाग्या मान्छे ।’

साम्पाङको ज्ञान प्रवचन यतिमै कहाँ रोकिन्छन् र । उनी अगाडि लेख्छन्, ‘जनताको धारामा पानी झर्नुपर्छ, जनताको आँखाबाट आँशु झर्नु हुँदैन ।…. हाम्रो भाषण र कागजको खोस्टोमा अल्मलिरहेको यो देश कहिले उँभो लाग्ला भनेर सोचिरहन्छु । के गर्नु अब ? लु न सर/म्याडम केही गरौं, काम गरौँ न भकाभक result देखिनागरी पिल्ज ! यो हाम्रो देशमा गाह्रो छ है गाह्रो छ ।’

साम्पाङ नहुँदा हुन् त दुई सरकारी अड्डाबीच हुने पत्राचारको कुरा खासै समाचारमा आउने विषय होइन । तर, के गर्नु साम्पाङ छन् र पो उनले लेखेका चिठ्ठीसमेत समाचारमा आउँछन् । उनका चिठ्ठी चर्चामा आउने एउटा कारण त चिठ्ठीको विषय हो अर्को हो चिठ्ठीको भाषा, शैली ।

लामा वाक्य, त्यस्तै परे एकै पेजको एक प्याराग्राफ लेखिने सरकारी अड्डाका कागजपत्रलाई साम्पाङले छोट्याएका छन् । सरल बनाएका छन् । डा. गिरी भन्छन्, ‘प्रशासन र अदालती भाषामा लामा, अस्पष्ट वाक्य लेखिन्छन् । यस्ता वाक्य पढ्दा बुझिँदैनन् ।’

डा. गिरी पनि सरकारी कार्यालयका कागजपत्रमा प्रयोग हुने भाषा सरल, छोटो, छरितो र प्रष्ट बुझिने हुनुपर्छ भन्ने ठान्छन् । ‘लेखिएको कुरा सबैले सजिलै बुझ्नुपर्छ । यसका लागि हाम्रो प्रशासनिक लेखिनी शैली बदल्नुपर्छ । ऐन कानुनका प्रसंग राख्दा वाक्यहरू जटिल हुने भए पनि सकेसम्म सरलीकरण गर्नुपर्छ, सजिलो र सबैले बुझ्ने बनाउनुपर्छ ।’

त्यसो भए सबै सरकारी अड्डाले हर्क साम्पाङजस्तो रसिलो, प्रष्टगरी किन लेख्दैनन् ?

पत्रकार तथा लेखक मोहन मैनालीका अनुसार सरकारी कामकाजको भाषाको स्टाइल तमकसुक लेखन जस्तो छ ।

‘लिखितम धनीका नामबाट लेख्न सुरु गरेर रोज शुभममा टुग्यांउने खालको छ, हाम्रा सरकारी कार्यालयको लेखनी,’ मैनाली भन्छन्, ‘यस्तो अबोध्य, अप्ठ्यारो भाषालाई बदल्न नखोजेका र बदल्नुपर्छ भनेर नसिकाएका हुन् ।’ उनका अनुसार कर्मचारीहरूलाई सरल, सहज, प्रष्ट र सबैले बुझ्ने गरी लेख्न सिकाउनुपर्छ र यो काम गर्न सक्छ कर्मचारीलाई पढाउने स्टाफ कलेजले । 

मैनाली साम्पाङले लेखेको छिटो, छरितो र प्रष्ट शैलीसँग सहमत भए पनि साम्पाङको चिठ्ठीमा प्रयोग हुने कतिपय शब्दसँग भने सहमत छैनन् । उनी भन्छन, ‘लेखाइ सरल र बुझिने बनाउने कुरा ठीक छ । तर, अराजक, असभ्य र दम्भ देखाउने गरी म मात्र मान्छे हुँ अरु मान्छे होइनन् जस्ता शब्दको प्रयोग ठीक छैन ।’

साम्पाङले सरकारी चिठ्ठी सरल प्रष्ट लेखे भन्दैमा उनले प्रयोग गरेका अराजक, अशिष्ट शब्दलाई भने क्षमा दिन नसकिने बताउँछन् मैनाली ।

साम्पाङले सरकारी चिठ्ठीमा अंग्रेजी र स्थानीय रैथाने शब्दसमेत प्रयोग गरेका हुन्छन् । भाषाविज्ञ तथा त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका पूर्वप्राध्यापक डा. माधवप्रसाद पोखरेल भने देवनागरी लिपीमा लेखिने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा बुझ्ने गरिएको बताउँछन् ।

साम्पाङका पत्रको शैली औपचारिक छैन भन्दैमा त्यसलाई अस्वीकार गर्ने वा सरकारी भाषा होइन भन्न नमिल्ने डा. पोखरेलको धारणा छ । उनी भन्छन्, ‘सरकारी कामकाजको भाषा भनेर देवनागरीमा लेखिएको मान्ने गरिए पनि, देवनागरीमा आफूलाई भन्न मन लागेको कुरा भन्न नपाउने भन्न पाइँदैन भन्ने अवधारणा त छैन ।’

डा. पोखरेलका अनुसार सरकारी कार्यालयको लेटरहेडमा लेखिएको भाषालाई सरकारी कामकाजको भाषा मान्नुपर्छ । उनी भन्छन्, ‘नगरपालिकाको लेटर हेडमा चिठ्ठी जारी गरेपछि त्यहाँ लेखिएको भाषा सरकारी कामकाजको भाषा हो ।’
साम्पाङका चिठ्ठीमा स्थानीय स्तरमा प्रयोग हुने ‘स्ल्यागं’ शब्द पनि भेटिन्छन् । 

साम्पाङले श्रमदानमार्फत पानी ल्याउँदा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । अनि उनले गत वर्ष २८ चैतमा उनले आयोगलाई उजुरीको जावफमा खानेपानी ल्याउँदा पाइप तानेको सारा प्रसंग लेख्दिए, ‘कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भिर पाखा, डाँडाकाँडा, झोर जंगल, खोला, खोल्सी, उकाली ओराली, भञ्ज्याङ, चौतारी, छिचोल्दै, घुमाउँदै घुमाउँदै, …..घुमाउँदै…घुमाउँदै…, घुमाउँदै… घुमाउँदै घुउमाँदै लड्दै र पड्दै…तान्यो…तान्यो… एकछिन है…बिस्तौ सुल्काउँ है…. भन्दै… ओहोई भनुँ त…भन्दै घरी घरी नाच्दै  र गाउँदै पनि…बिजोग रमाइलो गरी ल्याउँदैछौँ है ल्याउँदै छौँ !’

यस्तो बिजोग रमाइलो साम्पाङबाहेक अरुले लेख्न सक्दैनन् । साम्पाङको यो लेखन शैलीलाई डा. पोखरेल सम्पर्क भाषाको प्रयोगका रूपमा अर्थ्याउँछन् । नेपाली भाषालाई मातृ भाषा र सम्पर्क भाषाका रूपमा व्याख्या गरिएको बताउँदै डा.पोखरेल भन्छन्, ‘पूर्वको एउटा लिम्बू र पश्चिम कञ्चनपुरको थारु संवाद गर्नुपरेपछि नेपाली भाषा बोल्छन् भने त्यसलाई सम्पर्क भाषा भनिन्छ । साम्पाङले चिठ्ठीमा प्रयोग गरेको त्यही सम्पर्क भाषा हो । सम्पर्क भाषाको प्रयोग गर्दा प्रयोगकर्ताको स्थानीयता झल्किन्छ ।’ अर्थात् स्थानीय भाषाका शब्दहरू पनि प्रयोग हुन्छन् । 

नेपाली भाषा सबैको साझा भाषा हो भन्दै डा.पोखरेल भन्छन्, ‘बाहुन्, पण्डितले संस्कृति शब्द मिसाएर लेखेको मात्र शुद्ध नेपाली होइन । स्थानीय शब्द प्रयोग गरिएको नेपाली पनि नेपाली भाषा नै हो ।’

सरकारी कामकाजको भाषा निरस र औपचारिक शैलीको भएकै कारणले धेरैले नबुझ्ने डा. पोखरेलको ठम्याइ छ । उनी भन्छन्, ‘हर्क साम्पाङले प्रयोग गरेको भाषा नेपाली होइन वा सरकारी होइन भन्ने हो भने, सिहंदरबार र अदालतमा भएका मिसिलको भाषा त अधिकांश नेपालीले बुझ्दैनन् । नेपालीले नबुझ्ने भाषा नेपाली हुने तर, साम्पाङले लेखेको सबैले बुझ्दा पनि नेपाली नहुने कसरी हुन्छ ?’

तर, साम्पाङलाई आफ्नो भाषा र शैलीबारे कसले के भन्छन् बाल मतलब छैन । किनभने उनले आफ्नो सेल्फ पोट्रेट कवितामा आफूलाई ‘गधा’को उपमा दिएका छन् । झण्डै बिर्सिगएको साम्पाङ त कवि, गायक र मोडल पनि हुन् ।

‘गधा हुँ म

गधा हुँ म यो देशको भारी बोक्न मन छ

बौलाहा हुँ म बिग्रेको देश बनाउन मन छ

मलाई जे भन्छौं भन म स्वीकार गर्छु

जंगली हुँ म हराएको देश खोज्न मन छ  ।’

सरकारी अड्डा, प्रहरी कार्यालयमा जाँदा, ‘जिब्रोको गरिमा मिठो बोलीमा’ लेखिएको देखिन्छ । तर, कलमको गरिमा मिठा शब्दमा लेखिएको हुँदैन ! भाषाको यो घनचक्करबारे एकपटक पत्रकार बसन्त बस्नेतले ट्विटरमा भनेका थिए, ‘भाषाको खेला विराट र अनुपम छ ।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register