भारत र चीनद्वारा एकअर्काका पत्रकारलाई भिसामा रोक

Jun 1, 2023 - 08:45
 0
भारत र चीनद्वारा एकअर्काका पत्रकारलाई भिसामा रोक
भारत र चीनद्वारा एकअर्काका पत्रकारलाई भिसामा रोक

काठमाडौँ । भारत र चीनबीच तनाव गहिरिँदै जाँदा दुवैले एकअर्काका पत्रकारलाई आफ्नो मुलुकमा भिसा दिन रोक लगाएका विवरण आएका छन्। अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा यसै साता प्रकाशित विवरण अनुसार हालैका हप्ताहरूमा दुवै देशका सरकारले एकअर्काको मुलुकका पत्रकारको पहुँच पूर्ण रूपमा समाप्त हुने खालका कदम चालेका छन्।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यसलाई ‘खतरनाक प्रवृत्ति’ भन्दै त्यसले दुई देशको सम्बन्धलाई सामान्य बनाउन असर पार्न सक्ने चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारहरूको संख्या १४ बाट घटेर एकमा आएको भन्दै लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीहरूले विभेदको सामना गर्नुपरेको बताएकी छन्।

किन यस्तो अवस्था आयो?
वाल स्ट्रिट जर्नलको समाचार अनुसार यसै महिना भारतले आफ्नो मुलुकमा बाँकी रहेका दुईजना अन्तिम चिनियाँ पत्रकारहरूको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो। त्यसमा चिनियाँ समाचार संस्था सिन्हुआका एक र चाइना सेन्ट्रल टेलिभिजनका अर्का पत्रकार थिए।

उक्त विवरणमा दाबी गरिएअनुसार भारत र चीनले एक अर्काको देशका पत्रकारलाई आ–आफ्ना मुलुकभित्रको पहुँच लगभग समाप्त गरिदिएका छन्। उक्त विवरण अनुसार यो वर्षको सुरुवातमा भारतीय सञ्चारमाध्यमहरूका चारजना पत्रकार चीनमा काम गरिरहेका थिए।

त्यसमध्ये दुई जनालाई चीनले प्रवेशाज्ञा नदिएको र तेस्रालाई उनले प्राप्त गरेको अनुमतिलाई फिर्ता लिइएको भनिएको थियो।

चीनको विदेश मन्त्रालयलकी प्रवक्तालाई यसबारेमा प्रश्न सोधिएपछि उनले भारतले चिनियाँ सञ्चारमाध्यमहरूको वैधानिक अधिकार र स्वार्थ रक्षा गर्न यस्तो गर्नुपरेको बताइन्।

उनले भारतले आफ्ना देशका पत्रकारसँग गर्ने व्यवहारले चीनमा भारतका पत्रकारहरूलाई गरिने व्यवहार निर्भर हुने बताइन्। प्रवक्ता माओ निङले भारतको आलोचना गर्दै त्यहाँ चिनियाँ सञ्चारकर्मीहरूमाथि ‘भेदभावपूर्ण र अनुचित’ व्यवहार गरिने बताइन्।

भारत र चीनको सीमा सन् २०२० मा दुई देशका सेनाबीच भएको हिंसक झडपपछि उनीहरूबीच तनाव बढेको छ। सन् २०२० यता भारतले चिनियाँ पत्रकारहरूका लागि लामो समयको भिसा जारी गरेको छैन।

डिसेम्बर २०२१ मा भारतले दुई महिनाको वैधानिक भिसा भएका चीनका पत्रकारहरूलाई १० दिनभित्र फिर्ता गरिदिएको थियो। वाल स्ट्रीट जर्नलको रिपोर्टमा दाबी गरिएअनुसार हालै भारतले आफ्नो देशमा बाँकी रहेका अन्तिम चिनियाँ पत्रकारको भिसा अघि नबढाएर उनलाई फर्कनलाई बाध्य पारिदिएको थियो।

चीन के भन्छ?
यसबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘भारतमा चीनका पत्रकारहरू लामो समयदेखि भेदभावपूर्ण र अनुचित व्यवहारको सिकार भएका छन्। कुनै समय भारतमा चीनका १४ जना पत्रकार थिए, अब मात्रै एकजना छन्।’

यस्तो परिस्थितिमा चीन पनि त्यस्तै कदम चाल्न बाध्य भएको उनले बताइन्। उनले दुई देशबीच आपसी सम्मान, समानता र बराबरीको सम्बन्धको सिद्धान्तका आधारमा भारतसँग सञ्चार कायम गरिराख्न चीन इच्छुक भएको पनि उल्लेख गरिन्।

चिनियाँ प्रवक्ताले भारतले चिनियाँ पत्रकारलाई भिसा नदिएको खण्डमा चीनले पनि त्यस्तै कदम उठाउने प्रस्ट पारेकी छन्। झन्डै दुई महिनाअघि चीनले भारतीय पत्रकारको भिसा निष्क्रिय पारेको विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्तालाई प्रश्न सोधिएको थियो।

त्यसबेला उनले चिनियाँ सञ्चारकर्मीहरूले भारतमा पत्रकारितासँग सम्बन्धित गतिविधि गरिरहेको भन्दै आफूहरूले समाचार सङ्कलन वा प्रसारणमा कुनै सीमितता भएको आफूले नदेखेको बताएका थिए।

चीनमा काम गरिरहेका भारतीय पत्रकारबारेको प्रश्नमा उनले चिनियाँ अधिकारीहरूले उनीहरूलाई त्यहाँ उपस्थित भएर समाचार सङ्कलन गर्न सहजीकरण गरिदिनुपर्नेमा जोड दिएका थिए।
बीबीसी नेपालीबाट साभार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1