चिनियाँ नागरिक पछिल्लो समय कीर्ते अपराधमा समेत संलग्न
काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न नक्कली कागजपत्रसहित पक्राउ परेका हुन्। चिनियाँ नागरिकले त मृत्यु प्रमाणपत्र नै कीर्ते गरेको पाइएको हो । आफू ज्युँदो हुँदाहुँदै पनि मृत्यु प्रमाणपत्र बोकेर हिँडेको फेला परेपछि प्रहरीले खोरमा जाँकेको छ।

नक्कली मृत्यु प्रमाणपत्र बोकी हिँडेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीद्वारा टोलीले उनलाई पक्राउ गरेको हो । ती चिनियाँ नागरिलाई लिखित कागजात तथा सामानसहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली जानकारी दिए ।
उनका साथबाट कालो रंगको भिर्ने झोला, वाङ् योङ्ग र सिएओ जेआई नाम गरेका दुई ओटा राहदानी, ग्रिन सिटी अस्पतालको नाममा जारी गरिएको मृत्यु प्रमाणपत्र सहितको कागजात, पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजात र ओप्पो कम्पनीको मोबाइल सेट बरामद गरिएको छ ।
घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






