कमला नदी : जहाँ लाग्छ अनौठो ‘भूतमेला’

धामी–झाँक्री मादल, करताल, झाइल, ढोल र पिपहीको सुर–तालबीच नाच्ने गर्छन् । यिनीहरूको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण सिर्जना हुन्छ । जो हेर्नलायक हुन्छ । स्नाानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ ।

Nov 15, 2024 - 07:23
 0
कमला नदी : जहाँ लाग्छ अनौठो ‘भूतमेला’

जनकपुरधाम । ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी’ आ–आफना इष्टदेवताको नाम यसरी नै फलाक्दै धामी–झाँक्री मिर्दङ (मादल), झ्याली, ढोल र पिपहीजस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका छन् ।

धनुषा र सिरहा जिल्लाको सीमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज (शुक्रबार) गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ ।

परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा–आराधना गर्ने गरिन्छ ।

बिहीबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका गाउँलेहरू यतिबेला कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा हुँदै कमला घाट पुगेका छन् ।

कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो ‘भूतमेला’ लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर तथा सीमावर्ती भारतका मधुवनी, दरभङ्गा, समस्तीपुर र जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् ।

कमला नदीमा स्नान गरेपछि धामी–झाँक्री बन्ने विश्वास छ । सोही विश्वासका साथ श्रद्धालुहरू देउता खेल्दै स्नान गर्न आज बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।
कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहीबार नै कमला नदीको तटमा पुगेर राति बास बसेका छन् । बास बसेका उनीहरूले आज बिहानै कमला नदीमा स्नान गरेको बताए ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग प्राप्त हुने जनविश्वास छ । वर्षेनी कमलामा स्नान गर्नेको संख्या बढ्दै गएको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहाका भरत यादवले बताए । भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।

मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ तथा सिकारू धामी–झाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएको उनीहरूको भनाइ छ ।

धामी–झाँक्री मादल, करताल, झाइल, ढोल र पिपहीको सुर–तालबीच नाच्ने गर्छन् । यिनीहरूको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण सिर्जना हुन्छ । जो हेर्नलायक हुन्छ । स्नाानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ ।

कमला र गङ्गासागर स्नान गर्न धनुषाको महेन्द्रनगरबाट आएका धामी रामऔतार ठाकुरले शरीरमा देउता चढाउन यहाँ आएको बताए ।

तराई–मधेसमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ । पवित्र नदीमा प्रथम स्नान गर्ने धामी–झाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको संख्या पनि उल्लेखनीय रहने गरेका छन् ।
भूतमेला भर्न श्रद्धालुहरू ट्याक्टरसहितका सवारीसाधन लिएर कमला नदी आउने गर्छन् । कति त विभिन्न गाउँबाट पैदलै हिँडेर आउने चलन पनि छ ।

सबैला र कमला नगरपालिकामा बिदा

धनुषाको सबैला र कमला नगरपालिकाले कमलेश्वरी माताको पूजा–अर्चनाका लागि आज सार्वजनिक बिदासमेत दिएका छन् ।

कमला नदी गएर कार्तिक पूर्णिमा मनाउनका लागि सबैला नगरपालिकाले आज सार्वजनिक बिदा दिएको सबैला नगरपालिकाका प्रमुख (मेयर) कारीराम यादवले बताए ।

त्यस्तै कमला नगरपालिकाले बिहीबार र आज गरी दुई दिनको सार्वजनिक बिदा दिएको कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले जानकारी दिए । आज सम्पूर्ण

सामुदायिक विद्यालय, स्वस्थ्य संस्था, वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालय बन्द रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register