उपनिर्वाचन हुने स्थानमा कस्तो थियो पहिलेको नतिजा ? अबको सम्भावना कसको ?

यो सामग्रीमा अघिल्लो निर्वाचनमा यी स्थानहरूमा कुन दलका उम्मेदवारले कति मत प्राप्त गरेका थिए र अहिलेको अवस्था र सम्भावना कस्तो छ भन्ने विषयमा विश्लेषण गरिएको छ ।

Nov 20, 2024 - 13:05
 0
उपनिर्वाचन हुने स्थानमा कस्तो थियो पहिलेको नतिजा ? अबको सम्भावना कसको ?

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त ४१ पदका लागि निर्वाचन हुँदैछ ।  मंसिर २ गते नामाङ्कन भएर आज अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

४४ ठाउँमा चुनाव हुने भनिए पनि आइतबार मनोनयन भएका तीन ठाउँमा सर्वसम्मत चयन भइसकेकाले ४१ पदमा मात्र चुनाव हुने छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका मेयर, जाजरकोटको नलगाड नगरपालिका उपमेयर, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्षको चुनाव हुँदैछ ।

यस्तै दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, बाजुराको स्वामिकार्तिक खापर र पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा ३३ वडाअध्यक्षको लागि चुनाव हुँदैछ ।

ओखलढुङ्गाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा पनि कांग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।

उता रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यससँगै तीन क्षेत्रमा चुनावअघि नै नतिजा आएको छ ।

कोशीमा ८, मधेसमा ७, बागमतीमा ७, गण्डकीमा १, लुम्बिनीमा ६, कर्णालीमा ८ र सुदूरपश्चिमा ५  स्थानमा उपनिर्वाचन हुनेछ ।

अघिल्लो निर्वाचनमा यी स्थानको नतिजा कस्तो थियो ? आगामी चुनावमा कस्तो सम्भावना छ ? यो सामग्रीमा विश्लेषण गरिएको छ ।

कोशी प्रदेश

कोशीअन्तर्गत ग्रामथान गाउँपालिका अध्यक्ष, ७ वडाध्यक्षको चुनाव हुँदैछ । त्यसमध्ये मुख्यरुपमा ग्रामथान गाउँपालिका अध्यक्षको चुनावमा धेरेको ध्यान केन्द्रित छ ।

ओखलढुङ्गा जिल्ला समन्वय समिति  प्रमुखमा  कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् ।

गाउँपालिका अध्यक्ष

– २०७९ को निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत पाएका थिए । यहाँ मा‌ओवादीका विजय कुमार सरदार २ हजार ७२७ मतसहित तेस्रो स्थानमा थिए ।

यसपटक एमालेबाट तुल्सीराम विश्वास, कांग्रेसबाट बलराम सरदार थारु र माओवादी केन्द्रबाट नमोनारायण माझी मैदानमा छन् ।

यो गाउँपालिकामा अध्यक्ष पदका लागि यसपटक पनि मुख्य दुई दल नेपाली कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

वडाध्यक्ष

-झापाको कन्काई नगरपालिका–६ मा यसअघि एमालेका दीर्घबहादुर थापा ५०८ मतसहित विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४४० मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । माओवादीका उम्मेदवार तेस्रो र कांग्रेस चौथो स्थानमा थिए ।

-तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका तेजमान लिम्बू ५२४ मत ल्याएर विजयी भएका थिए ।  एमालेका तुलसीराम खनालले ४१३ मतसहित उनलाई पछ्याएका थिए ।

-उदयपुरको त्रियुगा नगरपालिका–१२ मा गत चुनावमा कांग्रेसका चुडाराज काफ्ले ४३९ मतसहित विजयी भएका थिए । एमाले उम्मेदवारले ४०८ र माओवादी उम्मेदवारले ४०४ मत पाएका थिए ।

-उदयपुरको बेलका नगरपालिका–९ मा अघिल्लो निर्वाचनमा कांग्रेसका पदमबहादुर खड्का ६७१ मत ल्याएर विजयी भएका थिए । एमालेका रणजित राई ५४८ मतसहित दोस्रो भएका थिए । यो पटक पनि मुख्य प्रतिस्पर्धा यी दुई दलबीच हुने अनुमान छ ।

-सुनसरीको गढी गाउँपालिका–६ मा एमालेका सदानन्द उराँव झागर ७१२ मतसहित विजयी भएका थिए । यहाँ ४२४ मतसहित माओवादी दोस्रो र कांग्रेस ४१६ मतसहित तेस्रो स्थानमा थियो ।

-ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा अघिल्लो चुनावमा कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका एमालेका गोपाल नेपालले ३७० मत ल्याएका थिए ।

-ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद वोखिम ४०३ मतसहित विजयी भएका थिए । एमालेकी कुमारी सावादेन ३९९ मत ल्याएर झिनो अन्तरले पराजित भएकी थिइन् ।

मधेस प्रदेश

मधेस प्रदेशअन्तर्गत ६ वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

-सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको तीन स्थानहरू इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

मधेस प्रदेशको पछिल्लो राजनीतिक परिदृश्यले एमालेका लागि ठूलो चुनौती देखाएको छ । कांग्रेस, जसपालगायत दल मुख्य प्रतिस्पर्धामा छन् ।

-डाक्नेश्वरी नगरपालिका–१ मा अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र जसपाबीच प्रतिस्पर्धा देखिएको थियो । कांग्रेसका प्रितमलाल चौधरी ५३५ मतसहित विजयी हुँदा एमालेका धिरेन्द्रकुमार साह ४६९ मतमा सीमित भएका थिए।

जसपाका लक्ष्मणदेव साहले ४३८ मत ल्याएका थिए । अहिले पनि यही त्रिकोणात्मक भिडन्तको सम्भावना छ ।

डाक्नेश्वरी नगरपालिका–४ मा भने एमाले अघिल्लो निर्वाचनमा निकै कमजोर देखिएको थियो ।

कांग्रेसका हरिप्रसाद यादव ३३३ मतसहित विजयी हुँदा जसपाका महेन्द्र यादव २६९ मतमा रोकिएका थिए । यहाँ एमालेका उपेन्द्र रामले मात्र २५ मत प्राप्त गरेका थिए ।

-धनुषाधाम नगरपालिका–१ मा कांग्रेसका विश्वनाथ यादवले ६१८ मतसहित विजय हासिल गरेका थिए । एमालेका प्रमोद यादव ३७७ मतसहित दोस्रो स्थानमा थिए । त्यहाँ माओवादी र जसपाका उम्मेदवार पनि नजिकका प्रतिस्पर्धी थिए ।

-धनुषाधामकै रामगोपालपुर–२ मा माओवादी केन्द्रका मुकेशकुमार यादव ४३३ मतसहित विजयी भएका थिए । कांग्रेसका मोहम्मद जनिफ खाँ ३७५ र जसपाका सकिबुल खाँ ३४२ मतमा सीमित हुँदा एमालेका कादिर हुसैन २८७ मतमा रोकिन पुगेका थिए । अहिले पनि यहाँ एमाले कमजोर मानिएको छ ।

-ईशनाथ नगरपालिका–७ मा अघिल्लो निर्वाचनमा एमालेका शेख खलीउल्लाह ६८३ मतसहित विजयी भएका थिए । त्यहाँ कांग्रेसका शेख अब्दुल खलिक ५७८ मतसहित निकट प्रतिस्पर्धी थिए । त्यहाँ एमाले र कांग्रेसबीच अहिले पनि मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

-तर, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा भने एमालेको अवस्था कमजोर छ । यी क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेस र जसपाबीच मुख्य प्रतिस्पर्धा देखिएको थियो ।

रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए ।

एमालेको जनाधार कमजोर देखिएको थियो । त्यतिबेला जसपा नेपालका मोहम्मद नसिम अख्तर ४६५ मतसहित दोस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीका जिकरुलाहले ३२० र नेकपा एमालेका उदयनारायण जैसवालले २८४ मत पाएका थिए ।

रौतहटको गढीमाई नगरपालिका–८ मा जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित निर्वाचित हुँदा कांग्रेसका वैधनाथ ठाकुर लोहारले ५६१, नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९, लोसपा नेपालका इस्लाम महम्मद नटले २४१ र नेकपा एमालेका रामएकवाल ठाकुर लोहारले २९ मतमात्र पाएका थिए ।

बागमती प्रदेश

बागमती प्रदेशमा नगरप्रमुखदेखि वडाअध्यक्षसम्मका पदमा हुने यो निर्वाचन विभिन्न राजनीतिक दलका लागि जनमत परीक्षणको अवसर बनेको छ । यद्यपी चौथौं राजनीतिक दल रास्वपाले भने धेरै ठाउँमा उम्मेदवारी दिएन ।

कीर्तिपुरमा चासो

-कीर्तिपुर नगरपालिकामा कांग्रेसले २५ वर्षको संघर्षपछि २०७९ सालमा एमालेको बलियो किल्ला तोडेको थियो ।

कांग्रेसका राजकुमार नकर्मीले ९,०४३ मतसहित विजय हासिल गर्दा एमालेका केशरत्न बज्राचार्यले ५,५०७ मत ल्याएका थिए ।

माओवादीका शिवशरण महर्जन ४,०९० मतमा सीमित भए । अहिले मेयर पदमा कांग्रेसका कृष्णमान डङ्गोल, एमालेका सुरेन्द्र मानन्धर, माओवादीका शिवशरण महर्जन, र स्वतन्त्र उम्मेदवार राजमान महर्जनबीच चर्को प्रतिस्पर्धा छ ।

-कीर्तिपुरको वडा नम्बर १ मा अघिल्लो निर्वाचनमा कांग्रेसका हिरालाल महर्जन ७७८ मतसहित विजयी हुँदा एमालेका हर्ष महर्जन ५८२ र माओवादीका विनोद महर्जन २७३ मतमा सीमित भएका थिए ।

-वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले १,३८० मत ल्याएर विजय हासिल गरेका थिए । यसपालि यी वडाहरूमा पनि कांग्रेस, एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारको भिडन्त हुने देखिन्छ ।

काठमाडौं–१६

-काठमाडौं महानगरपालिका–१६ मा अघिल्लो पटक कांग्रेसका मुकुन्द रिजाल ४,०१९ मतसहित विजयी भएका थिए  । एमालेका लक्ष्मी रत्न तुलाधरले ३,३१० मत ल्याएका थिए ।

अहिले कांग्रेसका देवेन्द्र पाठक र एमालेका लक्ष्मी रत्न तुलाधर पुनः मुख्य प्रतिस्पर्धामा छन् ।

गौरीशंकरमा कसले जित्ला ?

-गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा अघिल्लो निर्वाचनमा कांग्रेसका श्यामसुन्दर तमाङ ४,७४१ मतसहित विजयी हुँदा एमालेका मुना शिवाकोटी केसीले ३,२८१ मत ल्याएका थिए ।

अहिले कांग्रेसका पासदिकी तामाङ, एमालेकी उमा लुंगेलीमगर शेर्पा, र माओवादीकी निमलेकी शेर्पाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

वडाध्यक्ष

-हेटौँडा उपमहानगरपालिका–१२ मा माओवादी केन्द्रका ललितबहादुर घलानले १,३७१ मत ल्याएर विजय हासिल गरेका थिए ।

कांग्रेसका अर्जुनप्रसाद तिवारीले १,३४० र एमालेका राजेश नगरकोटीले १,३२५ मत ल्याएका थिए । अहिले नगरकोटी पुनः एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । यसपटक पनि त्रिपक्षीय भिडन्त हुँदैछ ।

-नुवाकोटको  ककनी गाउँपालिका–२ मा अघिल्लो निर्वाचनमा कांग्रेसका तिलकबहादुर लामा ८८८ मतसहित विजयी भएका थिए ।

माओवादीका कृष्ण घिमिरेले ७३४, एमालेका प्रेमबहादुर तामाङले २०५ र राप्रपाका गोविन्दप्रसाद घिमिरेले २०३ मत ल्याएका थिए । यसपटक पनि यहाँ कांग्रेस र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

गण्डकीमा एक ठाउँमा मात्र चुनाव

– गण्डकी प्रदेशमा उपनिर्वाचनको एकमात्र केन्द्र गोरखा नगरपालिका–५ हो।

अघिल्लो निर्वाचनमा वडा अध्यक्ष पदमा एमालेका खिलबहादुर राना ४५३ मतसहित विजयी भएका थिए, जबकि कांग्रेसकी गीता थापा मगरले ४२८ र माओवादी केन्द्रकी सावित्री थापा रानाले २७४ मत पाएका थिए ।

यस पटक एमालेले दुर्गामाया थापा रानालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले भाइकाजी आलेलाई अघि सारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मंगलबहादुर थापा र माओवादी केन्द्रका विष्णुबहादुर राना मगर पनि प्रतिस्पर्धामा छन् ।

तर, रास्वपाको कमजोर जनाधार भएका कारण एमाले र कांग्रेसबीच मुख्य भिडन्त हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा पाँच पदमा उपनिर्वाचन हुँदैछ, जहाँ सबैजसो सिटमा कांग्रेस र एमालेबीच मुख्य भिडन्त हुने अनुमान छ ।

पुथा उत्तरगंगामा त्रिपक्षीय भीडन्त

– रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा अघिल्लो पटक माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मतसहित निर्वाचित हुँदा कांग्रेस उम्मेदवार कमलाकुमारी मल्लले २ हजार १० र एमालेको धर्म घर्ती बुढाले एक हजार ८१२ मत पाएका थिए । कांग्रेसले माओवादीलाई सघाएपछि जित सहज भएको थियो । यसपलि सबैका एक्लाएक्लै उम्मेदवार छन् । त्रिपक्षीय भीडन्त हुने देखिन्छ ।

-पुथाउत्तरगङ्गा गाउँपालिका–२ को  वडाअध्यक्ष माओवादी केन्द्रले निर्विरोध जितेको छ ।अध्यक्षमा  कांग्रेस र एमालेका संयुक्त उम्मेदवार जीवन रोकाले मनोनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भए ।

-रोल्पाको रुन्टीगढी गाउँपालिका–४मो वडाअध्यक्षमा अघिल्लो पटक कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याएर झिनो मतले एमालेका वेगम पुनलाई हराएका थिए । यस पटक एमालेले पुनः वेगम पुनलाई नै उम्मेदवार बनाएको छ ।

-गुल्मीको मुसिकोट नगरपालिका १ मा कांग्रेसका मोहन घिमिरेले अघिल्लो पटक १,१८२ मत ल्याएर जित्दा एमालेका नारायणबहादुर थापा १,१४३ मतमै सीमित भएका थिए ।

यसपटक कांग्रेसका आनन्द श्रेष्ठ, एमालेका दलबहादुर थापा, माओवादीका दुर्गाबहादुर बिक, र रास्वपाका विकास थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

-कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्षमा तिलक राम यादव १,०३२ मत ल्याएर अघिल्लो पटक विजयी भएका थिए । एमालेका अब्दुल मोजीब खाँले ८८९ मत ल्याएका थिए । यस पटक पनि यी दुई दलको प्रतिस्पर्धा प्रमुख हुने देखिएको छ ।

– बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा अघिल्लो निर्वाचनमा कांग्रेसका सूर्यबहादुर विष्ट १,२०९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए। यस पटक पनि एमाले र कांग्रेसकै प्रतिस्पर्धा दोहोरिने अनुमान गरिएको छ ।

कर्णाली

कर्णाली प्रदेशमा ११ स्थानमा उपनिर्वाचन हुँदैछ । यसअन्तर्गत एक नगरपालिका उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र पाँच वडा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

महाबुमा रोचक भिडन्त

-महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले झलककुमार भण्डारी र माओवादी केन्द्रले जंगबहादुर बराल मगरलाई मैदानमा उतारेको छ ।

अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका लछुमन गुरुङ २,९७९ मतसहित विजयी हुँदा एमालेका हरिप्रसाद उपाध्यायले २,५१९ र एकीकृत समाजवादीका जंगबहादुर शाहीले २,२६८ मत पाएका थिए ।

उपप्रमुखका लागि  भिडन्त

-जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि चार उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, र माओवादी केन्द्रबाट देवका लामिछानेले उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसकी रसिता सिंह ५,४०६ मतसहित विजयी हुँदा एमालेकी सुनिता बोहोराले ३,३९३ मत पाएकी थिइन् ।

अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो, तर यसपटक छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने हुँदा एमालेको सम्भावना बलियो देखिन्छ ।

-सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, र रास्वपाका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा माओवादीका चन्द्रसिंह कार्की ३,२६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेराले १,०६४ मत पाएकी थिइन्। यसपटक माओवादीको जनाधार जोगिने वा घट्ने भन्ने चासो छ ।

वडाध्यक्ष

-तिलागुफा नगरपालिका–४ मा माओवादी केन्द्रका परबहादुर शाही अघिल्लो पटक २३४ मतसहित विजयी भएका थिए ।

कांग्रेस र एमालेको कमजोर उपस्थिति देखिएको यस क्षेत्रमा यसपटक पनि माओवादीले अग्रता कायम गर्ने सम्भावना देखिन्छ ।

-सानीभेरी गाउँपालिका–५ मा यसअघि कांग्रेसले अल बहादुर खत्रीलाई विजयी गराएको थियो। माओवादी केन्द्रले नजिकको चुनौती दिएको यस क्षेत्रमा यसपटक एमालेले पनि उम्मेदवारी दिएको छ । एमालेको सहभागिताले कांग्रेसलाई चुनौती थपिएको छ ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा यो उपनिर्वाचनमा गाउँपालिका उपाध्यक्ष एक र वडाअध्यक्षका लागि चार स्थानमा निर्वाचन हुँदैछ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका साथै बझाङको सूर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५, र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाअध्यक्ष पदमा प्रतिस्पर्धा हुनेछ ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन्।राएकी थिइन्।

वडाध्यक्ष

-कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा अघिल्लो पटक कांग्रेसका महेन्द्र खड्का १,१०२ मतसहित विजयी भएका थिए ।

एमालेका जनकराज अवस्थीले ६९८ मत मात्र पाएका थिए भने माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन ।

यसपटक माओवादी केन्द्रले उम्मेदवारी दिएपछि समीकरणमा परिवर्तन आएको छ । एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाएर कांग्रेसलाई चुनौती दिएको छ ।

-दार्चुलाको दुहुँ गाउँपालिका–५ मा माओवादी केन्द्रका मनोरथ भट्ट अघिल्लो निर्वाचनमा ५८२ मतसहित विजयी भएका थिए । एमालेका मानसिंह बडालले ३०२ मत ल्याएर पराजित भएका थिए । अघिल्लो पटक कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुँदा माओवादी विजयी भए पनि यसपटक तालमेल टुटेका कारण खुला प्रतिस्पर्धा देखिएको छ ।

-डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अघिल्लो निर्वाचनमा कांग्रेसका पुष्पराज जोशी ५१३ मतसहित विजयी भएका थिए । एमालेका देवबहादुर भण्डारीले ३८७ मत ल्याएका थिए। माओवादी केन्द्रका टंकबहादुर नेपालीले ४९ मत मात्र पाएका थिए । यसपटक पनि कांग्रेस र एमालेबीच मुख्य भिडन्त हुनेछ ।

-बझाङको सूर्मा गाउँपालिका–४ मा अघिल्लो निर्वाचनमा एमालेका सर्जनबहादुर बोहरा ६२९ मतसहित विजयी हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत ल्याएका थिए ।

यसपटक पनि यी दुई दलबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

-बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि कांग्रेसबाट पुल्तिसरा शाही, एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राप्रपाबाट सुना देवी थापा भोटे धामी, एकीकृत समाजवादीबाट जवा शाही, र माओवादी केन्द्रबाट राजुकुमारी विक प्रतिस्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसकी मैना जोशीले १,८१० मतसहित विजयी हुँदा एमालेकी सुलोचना भण्डारीले १,६३७ र माओवादीका सुरेश रोकायाले १,२१३ मत पाएका थिए । यसपटक पनि मुख्य भिडन्त कांग्रेस र एमालेबीच हुने देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register