दुर्गा प्रसाईँमाथि कम्तीमा ५ वटा मुद्दा लगाउने तयारी

झापा, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ । स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि [...] The post दुर्गा प्रसाईँमाथि कम्तीमा ५ वटा मुद्दा लगाउने तयारी appeared first on Jhapa Online.

Nov 22, 2024 - 01:00
 0
दुर्गा प्रसाईँमाथि कम्तीमा ५ वटा मुद्दा लगाउने तयारी

झापा, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ ।

स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दैछौँ ।’ अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबारबारे अनुसन्धान गरिरहेको छ । सीआईबीले उनीविरुद्ध थप ४ वटा कसुरमा अनुसन्धान थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ । साइबरसँगै अन्य कसुर पनि आकर्षित हुने देखिएसँगै अरु मुद्दामा अनुसन्धान थालिएको सीआईबीका एआईजी दीपक थापाले बताए । उनले भने, ‘लिखत किर्ते लगायतका मुद्दामा पनि अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’

प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईंले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईंले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।

प्रहरीले प्रसाईँविरुद्ध साइबर र किर्तेसँगै आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाउने तयारी गरेको छ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै सीआईबीमा उजुरी गरेका छन् । फोन गर्नेहरुले दुर्गा प्रसाईंको नाम लिएका छन् ।

फोन गरेर प्रसाईंलाई आर्थिक सहयोग नगरे हत्या गर्ने धम्की दिनेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । धम्की दिनेहरुले प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानलाई चन्दा माग्ने गरेका छन् । त्यस्तो घटनामा ‘आपराधिक लाभ लिन नहुने’ कसुर आकर्षित हुन्छ ।

सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरुले भन्छन्, ‘म लरेन्स ग्याँङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुहोस् ।’ धम्की दिने समूह र दुर्गा प्रसाईंके बिचमा प्रहरीले ‘कनेक्सन’ खोजिरहेको छ ।

प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको बैंक खाता र उनको आफ्नो व्यक्तिगत खातामा पनि शंकास्पद रकम जम्मा भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । राष्ट्रबैंकको फाइनान्सियल इन्फर्मेसन युनिट (एफआईयु)ले प्रसाईं र उनका केही आफन्तहरूको खातामा शंकास्पद कारोबार भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ । सीआईबीका एसपी बोगटी भन्छन्, ‘राष्ट्र बैंकबाट पत्र आएको छ, हामी त्यसबारे पनि अनुसन्धान गर्दैछौँ ।’

प्रसाईंले विभिन्न बैंकबाट ६ अर्ब ऋण लिएको भेटिएको छ । तर, त्यस्तो ऋण सदुपयोग भएको वा नभएको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । ऋण रकम सदुपयोग नगरेको भेटिएमा राष्ट्र बैंक ऐन पनि आकर्षित हुने एसपी बोगटीले बताए । उनले भने, ‘प्रसाईंबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

हाल काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएको विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । अन्य कसुरमा फरक फरक कैद सजाय र जरिवाना हुने कानुनी व्यवस्था छ ।

यसअघि असोज ६ मा पनि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । साइबर अपराध मुद्दामा त्यसबेला उनी धरौटीमा रिहा भए । करिब दुई महिनाको बिचमा उनी दोस्रो पटक पक्राउ परेका हुन् । रातोपाटीबाट

The post दुर्गा प्रसाईँमाथि कम्तीमा ५ वटा मुद्दा लगाउने तयारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register