झापाको ऐतिहासिकस्थल चन्द्रगढको पहिचान गुम्ने खतरा

द्रोण अधिकारीभद्रपुर, ८ कात्तिक । झापा सदरमुकाम चन्द्रगढी स्थित ऐतिहासिक स्थल चन्द्रगढको पुरातात्विक महत्वको बारेमा अध्ययन अनुसन्धान हुन नसक्दा पहिचान गुमाउने अवस्था सिर्जना हुँदै गइरहेको छ । २ हजार वर्ष पुरानो मौर्यकालिन सभ्यतासित गाँसिएको भनिएको यस क्षेत्रको प्राचीनता बारे अध्ययन गर्न सरकारले चासो नदिँदा चन्द्रगढको पहिचान छाँयामा पर्दै गएको हो । भद्रपुर–बिर्तामोड रोड देउनिया पुल [...] The post झापाको ऐतिहासिकस्थल चन्द्रगढको पहिचान गुम्ने खतरा appeared first on Jhapa Online.

Nov 23, 2024 - 14:42
 0
झापाको  ऐतिहासिकस्थल चन्द्रगढको पहिचान गुम्ने खतरा

द्रोण अधिकारी
भद्रपुर, ८ कात्तिक ।
झापा सदरमुकाम चन्द्रगढी स्थित ऐतिहासिक स्थल चन्द्रगढको पुरातात्विक महत्वको बारेमा अध्ययन अनुसन्धान हुन नसक्दा पहिचान गुमाउने अवस्था सिर्जना हुँदै गइरहेको छ ।

२ हजार वर्ष पुरानो मौर्यकालिन सभ्यतासित गाँसिएको भनिएको यस क्षेत्रको प्राचीनता बारे अध्ययन गर्न सरकारले चासो नदिँदा चन्द्रगढको पहिचान छाँयामा पर्दै गएको हो ।

भद्रपुर–बिर्तामोड रोड देउनिया पुल उत्तरमा रहेको यस क्षेत्रले विर्तामोड र भद्रपुर नगररको सीमासंग जोडिएर आफ्नो अस्तित्व खोजिरहेको छ । यस स्थलको उत्खन्नका लागि तीन तहकै सरकारले चासो नदिँदा आन्तरिक तथा बाह्य पर्यटकको नजर समेत पर्न सकिरहेको छैन । पछिल्लो समय रेखदेखको अभावका कारण ऐतिहासिक पहिचान बोकेको चन्द्रगढ झाडीले छोपिएको अवस्थामा छ । नाम सुनेर कोही यस स्थानमा आए पनि पहिचन पाउन नसक्ने अवस्था भएकै कारण आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न सकिरहेको छैन ।

उत्खनन् र उचित संरक्षणको पखाईमा रहेको चन्द्रगढमा नजिकको सरकार मानिएको भद्रपुर नगर प्रशासनले समेत चासो नदिएको स्थानीयको गुनासो छ । भद्रपुर नगरपालिका ९ र १० सित सीमा गाँसिएको देउनिया खोलाको छेउमा अवस्थित चन्द्रगढलाई जोगाइराख्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सुरू गरिएको भनिएको पहल पनि रकम अभावका कारण प्रभावकारी बन्न सकेको छैन ।

यसको संरक्षणका लागि स्थानीय सरकार भद्रपुर नगरपालिकालाई लिखित र मौखिक रूपमा आग्रह गरेर वन समितिले अवधारणापत्र बनाएर अघि बढाएको वर्षौ वर्ष पूरा भएको छ । सोही अवधारणा पत्रका अनुसार भद्रपुर नगरपालिकामा गुरूयोजना बनाइ काम थालिएको भनिए पनि केही टहरा बनाउने काम भन्दा अन्य उपलब्धी हुन सकेको छैन । निर्माण भएका टहरा पनि झार जंगलले पुरिएर हराउने अवस्थामा छन् ।

यो स्थान मौर्यकालिन इतिहाससंग जोडिएको यहाँका अग्रजहरू बताउँछन् । प्रारम्भिक अध्ययन अनुसार विभिन्न १६ वटा थुम, २ वटा पोखरी र बीच–बीचमा अग्लो माटोको बाटोले घेरिएको गोलो आकारको स्थल झापाकै किचकबध धार्मिक स्थल भन्दा पुरानो रहेको विज्ञहरूको दावी थियो । तत्कालिन चन्द्रगढी गाविस २ मा पर्ने ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएको अनुमान गरिएको छ । हाल उक्त इनार भग्नावशेषको रूपमा पाइन्छ । यस क्षेत्र वरपर वन फडानी गरी आदिवासी समुदायलाई चन्द्रशम्शेरले नै मानव बस्तीका रूपमा बसाएको स्थानीयको भनाइ छ । पूर्वी दक्षिणी झापाको पहिलो मानव बस्ती पनि यही हुन सक्ने आसपासका बासिन्दाको भनाइ छ । यस स्थानको उत्खनन् नगरी यहाँको प्राचीनता बारे भन्न नसकिने अग्रजहरू बताउँछन् ।

सो स्थानमा स्थानीयको पहलमा लक्ष्मी नारायण मन्दिरको निर्माण समेत गरिएको छ । सो क्षेत्रलाई धार्मिक तथा ऐतिहासक पर्यटकीय स्थलको रूपमा विकास गराउन स्थानीय लागि परेका भए पनि आर्थिक लगानी अभावमा पर्यटकीय क्षेत्र बन्न सकेको छैन । बिहान बेलुका जंगली हात्ती गाउँ छिर्नु अगाडि जम्मा भएर बस्ने ठाउँका रूपमा समेत परिचित हुँदै गएको चन्द्रगढ वनमाराले ढाकिएको अवस्थामा छ ।

चन्द्रगढको महत्वको बारेमा चन्द्रगढी र भद्रपुरबासीलाई नै थाहा नभएको स्थानीय लोकबहादुर कुँवर बताउँछन् । चन्द्रगढको नामबाटै साविक चन्द्रगढी गाविस भएको इतिहास रहेको उनको भनाइ छ । तर अहिले चन्द्रगढी गाविस भद्रपुर नगरमा समायोजन भएपछि चन्द्रगढको अस्तित्वमाथि पनि विस्तारै ग्रहण लाग्न थालेको कुँवरको अनुभव छ ।

साविक चन्द्रगढी भद्रपुर नगरमा विलय भएपछि अहिले सो इतिहास बारे स्थानीय बासिन्दा अनविज्ञ रहने अवस्था आउन थालेको छ । चन्द्रगढी सामुदायिक वन क्षेत्र नजिकै रहेको चन्द्रगढको किल्ला झारजंगलले छोपिने गरेपछि वन समितिले सफाइको प्रयास गरे पनि पूर्ण रूपमा सफलता पाउन सकिरहेको छैन ।

विगतमा चन्द्रगढ किल्लामा कोही भित्र पस्न सक्दैन थियो तर वन समितिकै पहलमा सरसफाई गर्ने अभियान थालेपछि केही हदसम्म पस्न सकिने अवस्था आएको छ । तर, किल्ला र गढ क्षेत्रको पुरानो पहिचानलाई दृष्यात्मक स्वरूपमा हेर्न सक्ने अवस्था भने बन्न सकेको छैन । करिब १० विगहा क्षेत्रफल ओगोटिएको यस क्षेत्रलाई सरसफाई गर्दा वन समितिले विगतमा एक पटकमा ३ लाख २७ हजार खर्च गरेको थियो । तर अहिले पनि सो क्षेत्रको झाडीले ढाकिएको स्वरूपमा परिवर्तन ल्याउन सकिएको छैन ।

चन्द्रगढ पुरानो किल्लाको रूपमा देखिएकाले यसलाई एक पटक उत्खन्न गरे मात्र ऐतिहासिक वा धार्मिक स्थल भनि पुष्टि हने जानकारहरूको भनाइ छ । स्थानीय सरकारले उत्खखनन् गर्न आर्थिक सामथ्र्यले नभ्याउने जनाउने गर्छ । एउटा सानो टुक्राको उत्खन्न गर्दा अहिले १५ देखि १६ लाख रुपैया सम्म खर्च लाग्ने जनाइन्छ ।

नेपालमा रहेको प्रविधिले मात्र उत्खनन् संम्भव नहुने हुँदा पटक–पटक विदेशमा लगेर परीक्षण गर्दा दुई÷चार करोड लाग्न सक्ने भएकोले रकम अभावका कारण चन्द्रगढ उत्खन्नको पखाइमा रहेको अवस्था छ । अहिले सम्मको अध्ययन र पुुरातत्व विभागको अवलोकन भ्रमणले चन्द्रगढ २ हजार बर्ष पुरानो किल्ला हो, जुन मौर्यकालीन समयसंग जोडिएको हुन सक्छ भन्ने अनुमान भए पनि जंगल र पहाड नजिकै बनाइएको किल्ला कसको हो ? भनेर प्रमाणित भएको छैन । धार्मिक तथा ऐतिहासिक स्थल किचकबधको उत्खन्नको बेला पुरातत्व विभागको टोली यहाँ आएको थियो । यसको पहिचानका लागि यस स्थानको संरक्षण गर्दै आएको चन्द्रगढी सामुदायिक वन र भद्रपुर नगर सरकारले पहल गर्न सके चन्द्रगढको प्राचीन इतिहासको खोजी हुन सक्ने स्थानीयको भनाइ छ ।

झापामा अर्जुनधारा, किचकबध, सताक्षीधाम, विराटपोखरी, समयगढ जस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरू रहेका छन् । केही स्थानमा पुरातत्व विभागले उत्खन्न गरी धार्मिक तथा ऐतिहासिक स्थल भनि प्रमाणित गरिसकेको छ । त्यस्तै इतिहास र पहिचान बोकेको चन्द्रगढ आसपासका बासिन्दाको गाइ चरण र हिउँदमा वनभोज खाने ठाउँका रूपमा रहन बाध्य छ ।

दक्षिणी झापामा पहिलो पटक बस्ती बसाइएको ठाउँको परिचय समेत पाएको चन्द्रगढ श्री ३ चन्द्रशम्शेरको नामसित जोडिएर पहिचान बनाएको ठाउँ भए पनि पछिल्लो समय परिचय गुमनाम बन्दै जाँदा ऐतिहासिक पहिचान समेत हराउने चिन्ता आसपासका बासिन्दामा पर्न थालेको छ । पछिल्ला वर्षहरूमा चन्द्रगढको जमीन समेत मिचिन थालेको अवस्था छ ।

The post झापाको ऐतिहासिकस्थल चन्द्रगढको पहिचान गुम्ने खतरा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register