तेस्रो जमक्व, महारथारोहणले संस्कृति शिरोमणी जोशीमा थपिएको उत्साह

ललितपुर । संस्कृति शिरोमणी हरिराम जोशी अघिपछि भन्दा सोमबार निकै प्रफुल्लित अवस्थामा थिए।आफ्नो तेस्रो जमक्व ( महारथारोहण) ले जोशीलाई निकै उत्साहित तुल्याएको थियो। जोशी ८८ वर्ष ८ महिना, ८ दिन र ८ घडि पुगेको अवसरमा तेस्रो जमक्व गरिएको थियो।यसलाई संस्कृतिमा महारथारोहण भनिन्छ। चलनचल्तीमा बुढो पास्नी भनेर पनि बुझ्ने गरेको छ। धार्मिक विधिपूर्वक पुजाआजा गरी जोशीलाई […]

Nov 26, 2024 - 02:22
 0
तेस्रो जमक्व, महारथारोहणले संस्कृति शिरोमणी जोशीमा थपिएको उत्साह

ललितपुर ।

संस्कृति शिरोमणी हरिराम जोशी अघिपछि भन्दा सोमबार निकै प्रफुल्लित अवस्थामा थिए।आफ्नो तेस्रो जमक्व ( महारथारोहण) ले जोशीलाई निकै उत्साहित तुल्याएको थियो।

जोशी ८८ वर्ष ८ महिना, ८ दिन र ८ घडि पुगेको अवसरमा तेस्रो जमक्व गरिएको थियो।यसलाई संस्कृतिमा महारथारोहण भनिन्छ। चलनचल्तीमा बुढो पास्नी भनेर पनि बुझ्ने गरेको छ।

धार्मिक विधिपूर्वक पुजाआजा गरी जोशीलाई रथमा राखेर घुमाइएको थियो। आफन्तहरुले जोशी बसेको रथ तानेर नटोलको जलविनायक दर्शन गराइएको थियो। जोशीलाई घरको मुलढोकाबाट नभई झ्यालबाट भित्र्याइएको थियो। त्यसको धार्मिक महत्वबारे जोशीले आफैँले व्याख्या गर्दै भने, ‘यो भनेको मानिस पृथ्वीलोकबाट क्रमशः देवलोकतिर उडान गरेको संकेत हो। त्यसलाई जनजीवनमा बुझाउन महारथारोहणको बेला झ्यालबाट भित्र्याउने गरेको हो।’

जोशीको महारथारोहण हेर्न आफन्त मात्र नभई शुभेच्छुकहरुको भीड थियो। महारथारोहणपछि आफन्त तथा शुभेच्छुकहरु जोशीलाई ढोगे आशिवार्द लिएका थिए।

जोशीले रथारोहणको महत्वबारे सञ्चारकर्मीहरुमाझ भने, ‘दोस्रो जमक्व संस्कारपछि मानिस अझ बढी मानवकल्याण कार्यमा शान्तिका एक अथक योद्धाका रुपमा बढ्दै जाने हुन्छ। यसक्रममा महारथारोहण गरिने हुन्छ।यो भनेको देवलोक प्राप्त गर्नका लागि उडान गरेको हो।’

वैदिक मान्यता र कथनले मानिसको धोको सय वर्षसम्म बाँच्ने रहेको हुन्छ। सय वर्षसम्म बाँच्ने उर्जालाई जागृत बनाइराख्न विभिन्न खुड्किलो पार गर्नुपर्दछ। नेवाः समुदायको हिन्दु र बौद्धहरुमा प्रचलित जमक्वको संस्कार बाँच्ने उर्जा बलियो बनाउने खुड्किलो रहेको उल्लेख गर्दै जोशीले भने, ‘तेस्रो जमक्वः सम्म बाँचिसके। यो उत्साह र खुशीको विषय हो।’

पहिलो बुढा जमक्व भीमरथारोहणको नामले प्रख्यात छ, जुन मानिस ७७ वर्ष , ७ महिना ७ दिनको दिन गरिन्छ। मानिसको आयुको ७७ वर्ष ७ महिना ७ दिनको रातलाई भीमरथीको संज्ञा दिइएको उल्लेख गर्दै जोशीले भने, ‘यो रातलाई पञ्चदण्डच्छत्र प्रबन्ध नामको ग्रन्थले मनुष्यको रात भनौं कालरात्रीको रुपमा लिएको छ।’ यो रात कटेपछि गरिने कार्य भएकोले भीमरथारोहण भनिएको जोशीको तर्क रहेको छ। यसपछि मानिस संसारिक जीवनको कर्तव्यबाट मुक्त भएको मानिन्छ ।

जोशीका अनुसार पहिलो जमक्व सकिएपछि संसारिक बोझबाट भुक्त भएपछि तिनको दिमाग शीतल हुने हुन्छ। त्यसबेला तिनले मानिसको कल्याणको लागि चिन्तन तथा मार्गनिर्देशन गर्ने हुन्छ। यसैकारणले ८३ वर्ष ४ महिना ४ दिन तिनको सहस्र चन्द्ररथारोहणको नामको दोस्रो जमक्व गरिन्छ।

त्यसैगरी चोथो जमक्वः कसैले ९० वर्ष ९ महिना र ९ दिनमा त कसैले १ सय वर्ष १० महिना १० दिनमा गर्ने गर्दछ। यसलाई देवरथारोण तथा महादेवरथारोहण भनिन्छ। सय वर्ष मानिसको जीवनको अन्तिम समय हुन्। त्यसपछि मानिसले मोक्ष प्राप्त गरेको मानिन्छ। जमक्वहरुलाई यस परिप्रक्ष्यमा लिन सकिने पनि जोशीको कथन रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register