पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव जारी, ‘ब्याकअप’ लन्डनबाट

लन्डन । यतिखेर पोखरामा जारी अन्तर्राष्ट्रिय बलुन महोत्सवले सबैको ध्यान खिचिरहेको छ । बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मंगलबारदेखि नेपालमै पहिलोपल्ट पामेस्थित फेवाफाँटमा बीवाइडी अन्तर्राष्ट्रिय बलुन महोत्सव गरेको हो । ९ दिनसम्म चल्ने उक्त महोत्सवमा विदेशी पाइलटले ल्याएका १५ र बलुन नेपालका दुई गरी १७ हट एयर बलुन ९ दिनसम्म पोखराको आकाशमा उड्नेछन् । […]

Dec 26, 2024 - 18:10
 0
पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव जारी, ‘ब्याकअप’ लन्डनबाट

लन्डन । यतिखेर पोखरामा जारी अन्तर्राष्ट्रिय बलुन महोत्सवले सबैको ध्यान खिचिरहेको छ । बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मंगलबारदेखि नेपालमै पहिलोपल्ट पामेस्थित फेवाफाँटमा बीवाइडी अन्तर्राष्ट्रिय बलुन महोत्सव गरेको हो ।

९ दिनसम्म चल्ने उक्त महोत्सवमा विदेशी पाइलटले ल्याएका १५ र बलुन नेपालका दुई गरी १७ हट एयर बलुन ९ दिनसम्म पोखराको आकाशमा उड्नेछन् ।

महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, कोरिया, नेदरल्यान्ड्स, जापान, मलेसिया, इटाली, ब्राजिल, अस्ट्रेलियासहित १५ देशका बलुन पाइलटहरूको सहभागिता छ ।

महोत्सव निशुल्क भएको र जान आउन डिहिकोपाटनबाट निःशुल्क सटल बस व्यवस्था गरिएकाले पनि मानिसहरुको भीड लागिरहेको आयोजक बलुन नेपाल प्रालिका को- फाउण्डर दीपक श्रेष्ठले बताए  ।

लन्डनस्थित व्यवसायी तथा समाजसेवी श्रेष्ठ सन् २०१८ मा पोखरामा बेलुन नेपाल प्रालि दर्ता भएदेखि नै यसमा आवद्ध छन् । उनी उक्त महोत्सवको अन्तर्राष्ट्रिय संयोजक समेत हुन् । पृथक तर साहसिक खेल नेपालमा लैजान आफूहरुले धेरै मिहेनत गरेको श्रेष्ठले बताए । कोभिड महामारीले अन्य व्यवसायजस्तै यो पनि प्रभावित बन्यो तर सञ्चालकहरु दीपक श्रेष्ठ, विक्रम बाडे, सविन महर्जन, विष्णुबहादुर ढकाल र रोबर्ट विश्वकर्मा विचलित भएनन् ।

पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्धनका साथ उक्त क्षेत्रमा साहसिक खेलको खोजी गर्ने महोत्सवको उद्देश्य रहेको श्रेष्ठ बताउंछन् ।

‘यो महोत्सव निकै खर्चिलो छ । हामीले आर्थिक लाभ भन्दा पनि देशको पर्यटन अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार होस् भन्ने अभिलासा राखेका छौं’, श्रेष्ठले नेपालीलिंकसंग भने । ‘महोत्सवले यस खेलको आकर्षण थप बढ्दै गएको छ’, श्रेष्ठले भने ।

बुद्ध फाउण्डेशन यूके अध्यक्ष समेत रहेका एनआरएनए अभियन्ता श्रेष्ठ महोत्सवमा गैर आवासीय नेपाली संघको पनि साथ रहेको बताउंछन् । उनले महोत्सव आयोजनामा सहयोग गर्ने पोखरा पर्यटन परिषद्, दर्शक एवं सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे ।

बलुन नेपाल प्रा. लि. का को-फाउण्डर दीपक श्रेष्ठ (दायां) प्रवन्ध निर्देशक सबिन महर्जनका साथ ।

पुस १७ सम्म चल्ने महोत्सव पोखरा–२४ को लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रमा आयोजना गरिएको छ । महोत्सव अवधिभर हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा हट एयर बेलुन सञ्चालनमा आउनेछ । नियमित उडानका बेला ९ हजार फिट माथिसम्म पुग्ने भए पनि महोत्सव अवधिभर भने ५ हजार फिटसम्म मात्रै पुग्नेछ । उडान समय ३० देखि ४० मिनटको हुन्छ । उडान अवधिमा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पोखरा उपत्यका, फेवाताल, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

महोत्सव अवधिमा बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बलुन पाइलटहरूले हट एयर बेलुनको उडान भर्नेछन् । बेलुका ७ देखि ८ बजेसम्म ‘बेलुन नाइट ग्लो’ गरिनेछ ।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत भइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register