छोरा हन्टरलाई आममाफी दिएर राष्ट्रपति बाइडनले रोजेको बदनामी

लामो राजनीतिक जीवन र कठिन सङ्घर्षबाट बाइडनले जुन प्रतिष्ठा कमाएका थिए, उत्तरार्धमा आफैँले त्यसलाई मटियामेट पारेका छन् ।

Dec 5, 2024 - 07:24
 0
छोरा हन्टरलाई आममाफी दिएर राष्ट्रपति बाइडनले रोजेको बदनामी

काठमाडौं । राष्ट्रपतीय कार्यकाल समाप्त हुने बेलामा छोरा हन्टरलाई आममाफी दिएर अमेरिकी राष्ट्रपति जो बाइडनले राजनीतिक जीवनको उत्तरार्धमा बदनामी रोजेका छन् ।

८२ वर्षीय बाइडनको कार्यकाल सन् २०२५ जनवरी २० मा समाप्त हुँदैछ । सोही दिन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले पदबहाली गर्नेछन् । वयोवृद्ध उमेरका बाइडन सायद त्यसपछिका दिनमा सक्रिय राजनीतिक र सार्वजनिक जीवनमा नरहलान् ।

राष्ट्रपतिजस्तो उच्च पदमा निर्वाचित हुनुका बाबजुद बाइडन एक प्रभावशाली र प्रखर राजनीतिज्ञ कहिल्यै मानिएनन् । तर, उनलाई एक शालीन, भद्र, धेरै नबिगार्ने, खराब काम नगर्ने र विधिको शासन पालना गर्ने विरासतको नेता मानिन्थ्यो । तर, पुत्रमोहले उनको यो छविसमेत ध्वस्त भएको छ ।

सन् २०२० मा उनी सत्तामा आउँदा ट्रम्प र बाइडनको तुलना यही कारणले हुने गर्दथ्यो कि ट्रम्प स्वेच्छाचारी छन् तर, बाइडनले अमेरिकी मूल्य प्रणाली र विधिको शासनको पालना गर्नेछन् ।

बाइडनको यो निर्णयले उनको डेमोक्र्याटिक पार्टीको प्रतिष्ठा झनै गिर्नेछ । डेमोक्र्याटिक समर्थकहरूले शिर निहुराउनुपर्ने स्थिति उत्पन्न हुनेछ । भर्खरै निर्वाचनमा पराजित भएको पार्टीको मनोबल त्यसै पनि कमजोर थियो ।

पार्टीको पराजयका लागि समेत कतिपय समर्थक बाइडनका कमजोरीलाई जिम्मेवार ठान्दथे । उनी अन्तिम बेलासम्म पनि दोस्रो कार्यकालका लागि आफैँ उम्मेदवार हुने मनस्थितिमा थिए । तर, प्राइमरीको अवधि गुजारेर उनी फिर्ता भए तर, उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवारका रूपमा अघि सारे ।

ह्यारिसको हारमा उम्मेदवार छनोटका कमजोरी र बाइडन प्रशासनको खराबीलाई जिम्मेवार ठानिन्थ्यो । अर्थात् लामो राजनीतिक जीवन र कठिन सङ्घर्षबाट बाइडनले जुन प्रतिष्ठा कमाएका थिए, उत्तरार्धमा आफैँले त्यसलाई मटियामेट पारेका छन् ।

बाइडनको आममाफीको निर्णयले अमेरिकी परम्पराको राज्यको शुद्धता र निष्पक्षतामा मात्र हैन, न्यायिक प्रणालीलाई समेत अविश्वसनीय बनाउँछ । कोलोराडोका डेमोक्रेटिक सिनेटर माइलक बेनेटकाअनुसार ‘बाइडनले पुत्रप्रेममा परेर राजनीतिक धर्म निर्वाहको दायित्व बिर्सेका छन् । राज्यको उत्तरदायित्व निर्वाह गर्दा यसरी व्यक्तिगत तथा पारिवारिक स्वार्थ हेरिनु हुँदैनथ्यो ।’

हन्टरलाई दिइएको आममाफी पछि उठेका सार्वजनिक प्रश्नको राष्ट्रपति बाइडनले कुनै चित्तबुझ्दो उत्तर दिएका छैनन् । सायद उनीसँग कुनै उत्तर पनि छैन । यो विषयमा पत्रकारको प्रश्नले अन्य डेमोक्रेट नेताहरू भने हैरान हुँदैछन् ।

उनीले कार्यकाल पूरा गर्नै लाग्दा गरिएको एक सर्वेक्षणमा उनको लोकप्रियता सर्वाधिक कमजोर बिन्दुमा झरेको छ । बाइडनले ३७.७ प्रतिशतको मात्र अनुमोदन पाएका छन् ।

बाइडनपुत्र हन्टरलाई केही दशकयता कर छली, सम्पत्ति शुद्धीकरण, अवैध बन्दुक र चीनसँग गोप्य डिललगायतका आरोप लाग्दै आएका थिए । सङ्घीय जाँच ब्यूरोले सन् २०१८ पछि हन्टरविरूद्ध जाँच गर्न थालेको थियो ।

बाइडनपुत्र हन्टरले एक चिनियाँ कम्पनीलाई आफैँले पैसा दिई पुनश्च: वैदेशिक लगानीका रूपमा भित्र्याएका आरोप सन् २०१९ को राष्ट्रपतीय निर्वाचन अभियानकै क्रममा लागेको थियो । हन्टरमाथि क्यालिफोर्नियामा १४ लाख डलर कर छलीको मुद्दा चलिरहेको थियो ।

हन्टरमाथि डेलाबर राज्यमा अवैध बन्दुकसम्बन्धी मुद्दा थियो । उनीमाथि चलिरहेका मुद्दाको सजाय यति कडा थियो कि उनलाई १७ देखि २५ वर्षसम्म जेल सजाय हुन सक्दथ्यो ।

डिसेम्बर १ मा आममाफी घोषणामार्फत राष्ट्रपति जो बाइडनले ५४ वर्षीय छोरा रोबर्ट हन्टरमाथिका यी सबै आरोप राष्ट्रपतीय विशेष अधिकार प्रयोग गरी खारेज गरिदिएका छन् ।

सोमबारको कांग्रेस बैठकमा केही डेमोक्रेटिक सांसदले बाइडनको आममाफीको निर्णयलाई कडा चुनौती दिएका छन् । उनीहरूले भनेका छन्– ‘यो निर्णयले क्षयीकृत हुँदै गएको अमेरिकी लोकतन्त्र र विधिको शासनलाई अझ कमजोर पार्नेछ ।’

वासिङ्गटन डिसीकी डेमोक्र्याटिक सांसद म्यारी पेरेजले भनिन्– ‘राष्ट्रपति बाइडनको निर्णय बिल्कुलै गलत छ । म यस्तो निर्णयको समर्थन गर्न सक्दिनँ । कसैको परिवार कानूनभन्दा माथि हुन सक्दैन ।’

निर्णयका समर्थकहरूले भने ट्रम्पले सत्तामा आएपछि बाइडनका छोरामाथि साँध्न सक्ने प्रतिरोध र प्रयोग गर्न सक्ने शक्ति दुरूपयोगको सम्भावनालाई बाइडनले अहिले नै निस्तेज गरिदिएको तर्क गर्दछन् । तर, यस्तो आवाज निकै सानो र मसिनो छ ।

समग्रमा राष्ट्रपति बाइडनले राजनीतिक जीवनको उत्तरार्धमा पुत्रमोहको कारण इतिहासमा कायम हुनसक्ने आफ्नो छवि, प्रतिष्ठा र मर्यादालाई जोखिममा हालिदिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register