‘महाकुम्भ– २०२५’ को प्रवर्द्धन गर्न नेपाल र भारतबीच पर्यटन सम्मेलन

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै मंगलबार पहिलो भारत–नेपाल पर्यटन सम्मेलनको आयोजना गर्यो । उक्त कार्यक्रम भारत र नेपालबीच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न बीटूबी कनेक्सन निर्माण गर्ने र उत्तर प्रदेशको प्रयागराजमा ‘महाकुम्भ– २०२५’ को प्रवर्द्धन गर्नेबारे कार्यक्रम केन्द्रित थियो । काठमाडौंमा मंगलबार भएको सम्मेलनको पूर्ण सत्र (प्लेनरी सेसन) संस्कृति, पर्यटन […]

Dec 11, 2024 - 05:55
 0
‘महाकुम्भ– २०२५’ को प्रवर्द्धन गर्न नेपाल र भारतबीच पर्यटन सम्मेलन

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै मंगलबार पहिलो भारत–नेपाल पर्यटन सम्मेलनको आयोजना गर्यो । उक्त कार्यक्रम भारत र नेपालबीच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न बीटूबी कनेक्सन निर्माण गर्ने र उत्तर प्रदेशको प्रयागराजमा ‘महाकुम्भ– २०२५’ को प्रवर्द्धन गर्नेबारे कार्यक्रम केन्द्रित थियो ।

काठमाडौंमा मंगलबार भएको सम्मेलनको पूर्ण सत्र (प्लेनरी सेसन) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनीसँगै भारतका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले उक्त सत्रको उद्घाटन गरेका थिए ।

कार्यक्रममा पर्यटन बोर्डका सीईओ जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत रहेको भन्दै प्रशंसा गरेका थिए । साथै उनले नेपाल पर्यटन बोर्डले भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे प्रकाश पारेका थिए ।

पर्यटन राज्यमन्त्री चौधरीले औपचारिक तथ्याङ्कमा उल्लेख नभए पनि नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताए । उनले दुवै पक्षले विशेषगरी सुदूरपश्चिम प्रदेशलगायत दुर्गम क्षेत्रमा अन्तरदेशीय कनेक्टिभिटीमा ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा कार्यवाहक राजदूत श्रीवास्तवले भारत र नेपालबीच उच्च पर्यटन प्रवाहलाई बढावा दिइरहेको भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे जानकारी गराएका थिए । उनले नेपालका ठाउँहरू र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरूको प्रवर्द्धनमार्फत भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षले निरन्तर संयुक्त प्रयास गर्नु पर्नेमा जोड दिए ।

उत्तर प्रदेशकी पर्यटन अधिकृत कीर्तिले विशेषगरी नेपाली भक्तजनका लागि कार्यक्रमको महत्वबारे जानकारी दिने ‘महाकुम्भ २०२५’ का विषयमा प्रस्तुति दिएकी थिइन् ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)को निमन्त्रणमा भारतबाट आएको आठ सदस्यीय समूहले प्रस्तुत गरेको कथक नृत्यसँगै कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मेलनमा भएको बीटूबी कार्यक्रममा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरको सहभागिता रहेको भारतीय दूतावासकोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेषगरी स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरहरूले दुवै देशका पर्यटकका लागि सम्भावित यात्रा योजनाहरूका बारेमा विचार–विमर्श गरेका थिए ।

कार्यक्रमको एक हिस्साको रूपमा पर्यटन बोर्डले यही मंसीर २३–२४ गतेसम्म घुम्न आएका प्रतिनिधि र टुर अपरेटरका लागि उत्तर प्रदेश राज्यदेखि जनकपुर र काठमाडौंसम्म परिचयात्मक यात्राको आयोजना गरेको थियो ।

यस यात्राका केही झलक :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register