स्पष्टीकरण कि दोषपत्र भन्दै भीम रावलले सार्वजनिक गरे एमालेको पत्र

महासचिव शंखर पोखरेलद्धारा प्रेषित पत्रमा नेता रावलले पार्टीको नीति, विधि, निर्णय विपरीत मात्रै नमानेको तिनीहरूले पार्टीको प्रतिष्ठा एवम् मर्यादामा गम्भीर आँच पुर्‍याएको आरोप लगाइएको छ ।

Jan 1, 2025 - 10:38
 0
स्पष्टीकरण कि दोषपत्र भन्दै भीम रावलले सार्वजनिक गरे एमालेको पत्र

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरण पत्र सार्वजनिक गरेका छन् ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले २०७९ कार्तिक ६ गते आफूलाई पार्टीले स्पष्टीकरण पत्र सार्वजनिक गरेका हुन् ।

त्यसलाई उनले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको जिकिर गरे ।

पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिएको रावलको दाबी थियो ।

‘आमसञ्चारका माध्यममा पार्टीविरुद्ध अभिव्यक्ति दिएको’ कारण स्पष्टीकरण सोधिएको स्पष्टीकरण पत्रमा एमालेले उल्लेख गरेको छ ।

महासचिव शंखर पोखरेलद्धारा प्रेषित पत्रमा नेता रावलले पार्टीको नीति, विधि, निर्णय विपरीत मात्रै नमानेको तिनीहरूले पार्टीको प्रतिष्ठा एवम् मर्यादामा गम्भीर आँच पुर्‍याएको आरोप लगाइएको छ ।

यस्तो छ स्पष्टीकरण पत्र

 

२०७९ कार्तिक ६ गते

 

क. भीम बहादुर रावल
नेकपा (एमाले)

विषय: स्पष्टीकरण पेस गर्ने सम्बन्धमा ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ऐतिहासिक विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव तपाई समेतको सर्वसम्मत रूपमा पारित भएको विदितै छ ।

चितवनमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका सन्दर्भमा बन्दसत्रको हल र  पार्टी अध्यक्ष समेतले तपाईँलाई पार्टी उपाध्यक्ष पदमा उम्मेदवारी दिएर महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न गरिएको आग्रह अस्वीकार गरी तपाई स्वयम्ले निर्वाचनमा जान  चाहेकोले मतदाताको प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो ।

निर्वाचनमा पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने व्यवस्था विपरीत तपाई आफैँले केन्द्रीय सदस्यको उम्मेदवारी नदिएको खुलासा गर्दै प्रतिनिधिहरूलाई मतदान नगर्न समेत अनुरोध गर्नुभयो, यद्यपि पार्टीको विधान अनुरूप स्वतः कायमै रहेको तपाईँको केन्द्रीय सदस्यको उम्मेदवारीमा निर्वाचित हुन पर्याप्त मत हासिल नभएको कारण पदाधिकारीसँगै केन्द्रीय सदस्यमा समेत तपाई निर्वाचित हुन नसकेको तथ्यप्रति आफैँ जानकार हुनुहुन्छ ।

पदाधिकारीमा उम्मेदवारी दिएका अन्य व्यक्तिहरू जो केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो उहाँहरू सबै पार्टीले दिएको जिम्मेवारी बहन गर्दै क्रियाशील हुनुहुन्छ ।

तर तपाई आफू नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको तथ्य विपरीत ‘….पार्टीले कुनै जिम्मेवारी नदिएको र दिन नचाहेको….’ जस्ता भ्रमपूर्ण प्रचार गरिरहनु भएको छ ।

महाधिवेशनलगतै बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीका पूर्व पदाधिकारी, पूर्व केन्द्रीय सल्लाहकार परिषद्का निवर्तमान सदस्यहरूलाई सल्लाहकार परिषद्को सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

तर पार्टी सदस्यलाई पार्टी कामको जिम्मेवारी तोक्ने केन्द्रीय कमिटीका अधिकारका विरुद्धमा उभिँदै तपाई आफैँले मलाई नसोधी सल्लाहकार परिषद् सदस्य किन बनाइयो ?’ भन्ने प्रतिप्रश्न गर्दै आफू सल्लाहकार परिषद्को सदस्य नरहेको अभिव्यक्ति सार्वजनिक गर्नुभयो ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पार्टी केन्द्रसँग सम्पर्क नगर्ने तर पार्टीका नीति, निर्णय र नेतृत्व विरुद्धमा श्रृखलावद्ध रूपमा तपाईँका अभिव्यक्तिहरू सार्वजनिक हुन थालेपछि यस समस्याको सम्बन्धमा छलफल गरी आवश्यक सुझाव दिन पार्टीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा कार्यदल गठन गर्याे ।

तर, तपाईँले पार्टीद्वारा गठित  कार्यदलसँग छलफल गरी निष्कर्षमा पुग्न अनिच्छा देखाउँदै ‘पार्टी अध्यक्षसँग आफैँ छलफल गर्ने’ भन्दै पन्छिनुभयो ।

कार्यदलको सुझाव बमोजिम पार्टीले तपाईँसँग पार्टी अध्यक्षको भेटको प्रबन्ध मिलाएको यहाँ स्मरणीय छ । तर पार्टी अध्यक्षसँगको भेटघाटपछि ‘भेटघाट सकारात्मक भयो …. पुनः बस्ने र काममा संलग्न हुने …. ’ सार्वजनिक अभिव्यक्ति दिँदै बिदा हुनुभएको तपाईँ तत्पश्चात् पार्टीको सम्पर्कमा आउनु भएन ।

बरु उल्टो कार्यकर्तालाई नेतृत्वका विरुद्ध भड्काउने तथा अनास्था र अविश्वास पैदा गर्ने गरी गतिविधि गर्दै आउनु भएको छ । सुदूरपश्चिमका कतिपय जिल्लामा स्थानीय पार्टीको कमिटीको निर्देशनलाई समेत अवज्ञा गर्दै समानान्तर गतिविधिहरू गर्ने गरेका गुनासाहरू पार्टी केन्द्रमा आएका छन् ।

आमसञ्चारका माध्यममा सार्वजनिक भएका तपाईँका कतिपय अभिव्यक्ति र माथि उल्लेखित गतिविधिहरू पार्टीको नीति, विधि, निर्णय विपरीत मात्रै छैनन्, तिनीहरूले पार्टीको प्रतिष्ठा एवम् मर्यादामा गम्भीर आँच पुर्‍याएको महसुस गरी हालै बसेको पार्टीको केन्द्रीय सचिवालयको ३९ औँ बैठकले तपाईँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

तपाईँबाट भएका उपरोक्त कार्यहरूले नेपाल कम्युनिस्ट पार्टी(एमाले)को विधान २०४९ (२०७८ संशोधन सहित)को धारा ८० को उपधारा १ र ३ को अनुसारको अनुशासन उल्लंघन गरेको देखिएकोले सोही विधानको धारा ८१ अनुसारको कारबाही तपाईँलाई किन गर्नु नपर्ने हो सोको आधार र कारण समेत उल्लेख गरी सात (७) दिनभित्र स्पष्टीकरण पेस गर्न अनुरोध छ ।

शंकर पोखरेल
महासचिव

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register