कार्यालय प्रवेशमा निषेध, अज्ञात बसेर फाइल सदर गर्दै

–भीसीलाई स्वागत गर्न आए त्यसपछि देखिएनन्–कर्मचारी बोलाउँदै फाइलमा हस्ताक्षर–समस्या समाधान गर्ने प्रयास गर्दै उपकुलपति अर्याल काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसी र रजिस्टार प्राडा केदार रिजाल करिब एक महिनादेखि कार्यालयमा प्रवेश गरेका छैनन् । उपकुलपति प्राडा दीपक अर्याल नियुक्ति भएको दिन असार २६ गते एक दिनमात्र कार्यालय प्रवेश गरेपछि उहाँहरू कार्यालय प्रवेश पाउनुभएको […]

Jul 21, 2025 - 03:04
 0
कार्यालय प्रवेशमा निषेध, अज्ञात बसेर फाइल सदर गर्दै

–भीसीलाई स्वागत गर्न आए त्यसपछि देखिएनन्
–कर्मचारी बोलाउँदै फाइलमा हस्ताक्षर
–समस्या समाधान गर्ने प्रयास गर्दै उपकुलपति अर्याल

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसी र रजिस्टार प्राडा केदार रिजाल करिब एक महिनादेखि कार्यालयमा प्रवेश गरेका छैनन् । उपकुलपति प्राडा दीपक अर्याल नियुक्ति भएको दिन असार २६ गते एक दिनमात्र कार्यालय प्रवेश गरेपछि उहाँहरू कार्यालय प्रवेश पाउनुभएको छैन ।

दुई पदाधिकारीको सचिवालय भने खुला छ । तर, पदाधिकारी छैनन् । स्रोतका अनुसार कर्मचारीसँग फाइल मागेर सुटुक्क हस्ताक्षर गर्ने काम गरिरहनुभएको छ । तर, कार्यालय प्रवेश गर्न पाउनुभएको छैन । अघिल्लो उपकुलपति प्राडा केशरजंग बरालले निवेदनको आधारमा आफूलाई काम गर्न सहज हुने गरी दुई पदाधिकारी नियुक्ति गर्नुभएको थियो ।

त्यति बेला पनि नियुक्ति हुन नसकेपछि उपकुलपति बरालले आफूले भनेका दुई पदाधिकारी नियुक्ति नभए राजीनामा दिनेसम्मको चेतावनी दिनुभएको थियो । तत्कालीन मन्त्री सुमना श्रेष्ठको जोडबलमा कुलपति एवं प्रधानमन्त्री केपी ओलीको इच्छाविपरीत उपकुलपति बरालले दुुई पदाधिकारी नियुक्ति गर्न दबाब दिनुभएको थियो ।

‘त्यस बेलाको उपकुलपतिले राजीनामा दिएपछि नैतिकताको आधारमा दुई पदाधिकारीले राजीनामा दिनुपर्छ’ – प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष प्रा. जगत् तिमल्सिनाले भन्नुभयो । ‘अझ तीनमहिने उपकुलपति भइसक्नुभएका रेक्टर प्राडा केसी त अब फेरि तल्लो पदमा आउनै हँुदैन’ –उहाँको तर्क थियो ।

स्रोतका अनुसार अधिकांश प्राध्यापक संघ, संगठन, विद्यार्थी संघ र संगठनले नैतिकताका आधारमा दुई पदाधिकारीले राजीनामा दिनुपर्ने अडान राखेका छन् । तैपनि लुकेर विभिन्न विभाग र निकायमा बसेर फाइलमा हस्ताक्षर गर्दै बसिरहनुभएको कर्मचारीको आरोप छ । उहाँहरू कार्यालय आउन सक्ने अवस्था छैन, विद्यार्थीले कार्यकक्षमा तालाबन्दी नगरे पनि दुई पदाधिकारीलाई प्रवेशमा रोक लगाइएको छ । उपकुलपति प्राडा अर्यालले दुई पदाधिकारी कार्यालयमा नहुँदा काम गर्न समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कसरी काम गर्ने ? तीनैजना एकै ठाउँमा बस्न नपाउँदा ठूलो समस्या भएको छ । वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने उपाय खोजी गरिरहेका छांै, केही दिनमा टुंगिएला’ –उपकुलपति अर्यालको भनाइ थियो । उहाँले सबै पक्षसँग संवाद गरेर समाधान गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । पूर्ण कार्यकालका लागि नियुक्ति भएका दुई पदाधिकारीलाई निषेध गर्नुभन्दा पनि मिलेर लैजानु आवश्यक रहेको तर्क उपकुलपतिको थियो ।

तर, विश्वविद्यालयका अधिकांश कर्मचारी, विद्यार्थी, शिक्षक संघसंगठन दुई पदाधिकारीलाई कार्यालयमा प्रवेश दिन राजी देखिँदैनन् । दुई विद्यार्थी संगठनले प्रवेशमा रोक लगाएपछि रेक्टर र रजिस्टार आउट भएका हुन् । यसअघि कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा अड्डा जमाएका बसेका थिए । अहिले कहाँ बस्छन्, त्यति जानकारी नहुने कर्मचारीको भनाइ छ ।

कार्यालय प्रवेश नपाएका दुई पदाधिकारी कहिले कार्यकक्षमा पुग्छन् भन्नेमा अन्योल छ । नयाँ प्रक्रियाबाट उपकुलपति चयन हुनुभएका प्राडा अर्यालले दुई पदाधिकारी छनोट गर्ने अधिकार हुन्छ । उहाँले नै दुई पदाधिकारी नियुक्ति गर्नुपर्ने अवस्थामा तत्काल दुई पदाधिकारी हटाउनुको विकल्प छैन ।

स्रोतका अनुसार दुई पदाधिकारी हटाउने पक्षमा सबै एक भइसकेका छन् । त्रिवि कर्मचारीले पनि समस्या बल्झाउनु भन्दा पनि बिदा हुनु उपयोग हुने सुझाव दिने तयारीमा छन् । स्रोतका अनुसार उपकुलपतिलाई स्वागत गरेकै दिन विद्यार्थी संघसंगठनले पद छाड्न दबाब दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register