धरानको चर्चमा यौनहिंसा : घटना सामसुम पार्न प्रहरी, प्रशासन र पालिकामा बस्यो ‘पञ्चायती’

धरानको चर्चमा भएको बालयौनहिंसाको घटना सामसुम पार्ने प्रयासमा ‘पञ्चायती’ बसिरहेको छ । क्रिश्चियन तथा  स्थानीय तहका अगुवाले अपराधीलाई जोगाउन जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकामै ‘पञ्चायती’ शैलीमा मुद्दा मिलाउन प्रयास गरिरहेका छन् ।

Jan 2, 2025 - 02:05
 0
धरानको चर्चमा यौनहिंसा : घटना सामसुम पार्न प्रहरी, प्रशासन र पालिकामा बस्यो ‘पञ्चायती’

काठमाडौं । सुनसरीको धरानको एक चर्चमा भएको बाल यौनहिंसाको घटना सामसुम पार्ने प्रयासमा ‘पञ्चायती’ बसिरहेको छ । ८ र ९ वर्षीया दुई बालिकालाई अर्धनग्न बनाएर सार्वजनिक मञ्चमा उभ्याइएको जघन्य अपराधमा संलग्नहरूलाई कारबाहीको साटो घटनालाई दबाउने प्रयास भइरहेको छ ।

क्रिश्चियन तथा  स्थानीय तहका अगुवाले अपराधीलाई जोगाउन जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकामै ‘पञ्चायती’ शैलीमा मुद्दा मिलाउन प्रयास गरिरहेका छन् ।

मङ्सिर २९ मा धरान–११ स्थित ‘हिसप’ नाम गरेको चर्चमा ‘अभिभावक दिवस’का नाममा आयोजित नाटकमा बाइबलको कथा देखाउन भन्दै बालिकाहरूलाई नग्न अवस्थामा प्रस्तुत गरिएको थियो ।

नाटक गरिएको भन्दै भिडिओ भाइरल भएपछि कारबाहीको आवाज उठिरहेको छ । तर, घटनालाई ‘धार्मिक’ कार्यक्रम भन्दै क्रिश्चियन अगुवा तथा स्थानीय अगुवाले नै पीडित परिवारलाई समेत प्रभावमा पारेर घटना सामसुम पार्ने खेल सुरु गरेको छ ।

धरान इसाई समाजका अध्यक्ष गोविन्द राई, क्रिश्चियन धर्ममा हुने गरेका लफडा मिलाउन सक्रिय हुँदै आएका कुशल घले भनिने कुशल गुरुङलगायतको सक्रियतामा घटना दबाउन चलखेल भइरहेको बताइन्छ ।

यस्तै बालिकामाथि यौनहिँसा गरिँदै आएको रहस्य खुलेको चर्चका सदस्य तथा पास्टर मनीषकुमार राई र लागुऔषध मुद्दामा चार वर्ष जेल सजाय भोगेर छुटेका राई थरका एक पूर्वपत्रकार समेत बालयौन हिंसा जस्तो गम्भीर अपराधको घटना मिलेमतोमा टुंङ्ग्याउन सक्रिय छन् ।

उनीहरूको टोली प्रहरी प्रशासनलगायत विभिन्न ठाउँ धाएर घटना सामसुम पार्दै पीडकलाई उन्मुक्ति दिने प्रपन्चमा छन् ।

स्थानीयवासी भन्छन्, ‘घटना भाइरल भएपछि कारबाहीबाट बच्न अनेक प्रपञ्च रचिरहेका छ । स्थानीय अगुवा भनिएकाहरूको ‘पञ्चायती’ बसिरहेको छ । सीडीओ कार्यालय, प्रहरी कार्यालय र स्थानीय तहमा बसेर आर्थिक लेनदेनमा मुद्दा मिलाउने प्रयत्न भइरहेको छ ।’

बालिकालाई अर्धनग्न बनाएर यौन दुर्व्यवहार गर्ने चर्चका सदस्य मनीषकुमार राईले पनि घटना मिलाउन आफूहरू प्रहरी कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गएको स्वीकारेका छन् ।

बाइबलको कथाअनुसार अभिभावककै आग्रहमा बालिकालाई नग्न बनाइएको उनको दाबी छ । तर, घटनालाई अतिरञ्जित नगर्न भन्दै सबै पक्षसँग छलफल गरेको उनले सुनाए ।

बुधबार साँझ राईले नेपालभ्युजसँग टेलिफोनमा भने, ‘मंगलबार सीडीओ कार्यालयमा छलफल भयो । त्यही साँझ इलाका प्रहरी कार्यालयमा छलफल गयौँ । बुधबार उपमेयरलाई भेटेर घटना मिलाइदिनुपर्याे भनेका थियौँ । बुधबार साँझतिर मेयरसाप (हर्क साम्पाङ)लाई भेटेर भनेका थियौँ । उहाँहरू सबैलाई हामीले भिडिओ देखाएर एउटै कुरा भनेका छौँ । अभिभावक दिवसमा नाटक देखाउने थियो । बाइबलको कथाअनुसार नाटक बनाइएको हो । अभिभावककै आग्रहमा नाटक गरिएकाले अतिरञ्जित नगरौँ । घटना यही मिलाऔँ भनेका छौँ ।’

धरान ११ मा रहेको हिसप मण्डली, जहाँ बालिकामाथि यौनहिँसा भएको भिडिओ सार्वजनिक भएको हो ।

प्रहरी र प्रशासनको भूमिका शंकास्पद

नाबालिकामाथि यौन दुर्व्यवहार जस्तो सवेदशनील घटना सार्वजनिक भएर सर्वत्र कारबाहीको माग उठ्दासमेत स्थानीय प्रशासनले उजुरी नपरेको भन्दै कारबाही अघि बढाएको छैन ।

घटना सामसुम बनाउने योजनाका साथ क्रिश्चियन अगुवा तथा चर्चका सदस्यहरू मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेको थियो ।

उनीहरूले पीडित बालिकाका आमालाई समेत लिएर प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई भेट्न गएका थिए । टोलीले प्रमुख जिल्ला अधिकारीसामु कारबाही अघि नबढाउन आग्रह गरेका थिए ।

पीडित बालिकाकी आमालाई प्रभावमा पारेकाले उनले पनि आफ्नै आग्रहमा छोरीले नग्न भएर नाटक खेलेको बताइन् । बालिकाकी आमालेनै त्यसो भनेपछि प्रमुख जिल्ला अधिकारी तिवारीले घटनामाथि नउचाल्ने भन्दै चर्चका टोलीलाई फकाईदिएका थिए ।

यस्तै क्रिश्चियन अगुवा तथा चर्चका सदस्यहरू स्थानीय केही अगुवालाई लिएर मंगलबार साँझ इलाका प्रहरी कार्यालय धरान पुगे ।

उनीहरूले त्यहाँ पनि पीडित बालिकाका आमाहरूलाई लगेर गरेका थिए । उनीहरूले आमासँग नाबालिग छोरीसँग विषयमा उजुरबाजुर नगर्ने भन्दै जबरजस्ती मिलापत्र गराइदिए ।

बाल यौनहिँसा मुद्दामा कारबाहीबाट बच्न सकिने योजनामा चर्चका सञ्चालकले ‘पीडितका अभिभावकले नै कपडा खोलेर नाटक गर्न अनुमति दिएको’ भन्दै झुटो बयान गराएका एक जानकार बताउँछन् ।

तर, इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रकाश जबेगू भने घटना बाहिरिएपछि चर्चका मानिस बोलाएर सोधपुछ गरेको दाबी गरे । यौनहिँसा गर्ने मानिसहरू अनुसन्धानको घेरामा रहेको उनको भनाइ छ ।

जबेगूले नेपालभ्युजसँग भने, ‘बालबालिकालाई अभिभावककै आदेशमा नग्न बनाइएको हो भन्ने बताइएको छ । तर, बालबालिका सम्बन्धी विभिन्न ऐनले यस्तो कृत्यलाई अपराध भनेको छ । अनुसन्धान जारी छ ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले ‘पीडित परिवारले उजुरी नदिएपछि कसरी छानबिन गर्ने ?’ भन्दै घटनालाई गम्भीर रूपमा नलिएको बताए । उनले घटना पुरानो भएको कारण पनि खासै ध्यान नदिएको बताए ।

धरानको चर्चमा बालबालिकामाथि भएको यौन दुर्व्यवहार ,बालिकालाई अर्धनग्न बनाएर मञ्चमा उतारिँदै

स्थानीय तहमा ‘पञ्चायती’ खेल

क्रिश्चियन अगुवा तथा चर्चका सदस्यहरूले घटना मिलाउन आग्रह गर्दै धरान उपमहानगरका मेयर र उपमेयरसँग भेट गरेका थिए । मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालाई भेटेर घटनालाई ‘धार्मिक कार्यक्रम’ भन्दै मिलाउन दबाब र प्रभाव पारिरहेका छन् ।

बुधबार बिहान उपमेयर बेघासँगको भेटमा उनीहरूले ‘परेको खण्डमा जे जस्तो सम्झौता पनि गर्न तयार हुने तर बालयौन दुव्र्यबहारको मुद्दाबाट बचाइदिनुपर्ने’ भन्दै अनुनय गरेका थिए । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । सोही समितिमार्फत् मिलापत्र गराइदिन पीडक पक्षले आग्रह गरेका थिए ।

तर, उपमेयर बेघाले भने यो संवेदनशील विषय भएको भन्दै आफूले नर्हेने भन्दै फर्काए । तै पनि आफूले सकेको सहयोग गर्ने बचन दिए ।

उपप्रमुख बेघाले नेपालभ्युजसँग भने, ‘भिडिओ मैले प्राप्त गरेर हेरेको छु । उनीहरू पनि आएर मलाई भेटे । कार्यक्रम गरेको हो । अभिनय गरेको हो भने । मैले केही डिसिजन गरेको छैन । स्टेज सो गर्दाको अवस्था त्यहाँ सरिक नानीहरूको कुरा पनि बुझ्नुपर्छ । छानबिन हुनुपर्छ भनेको छु ।’

क्रिश्चियन अगुवा तथा चर्चका सदस्यहरू मेयर साम्पाङलाई बुधबार अपराह्न कार्यालयमै गएर भेटे । मेयर साम्पाङले बुधबार बिहान मात्र चर्चको घटनाबारे फेसबूकमा लेखेर कारबाही गर्ने चेतावनी दिएका थिए ।

हिसप मण्डलीका सदस्य मनीषकुमार राई,  जो मुद्धा फासफुस पार्न भन्दै सक्रिय छन् ।

उनले लेखेका थिए, ‘कुनै पनि बहानामा नाङ्गिने र नङ्ग्याउने कृत्यलाई निरुत्साहित गरिनेछ ! नाबालिगहरूलाई किन र केका लागि त्यसो गर्न लगाइयो सोसम्बन्धी अनुसन्धान गरिनेछ ! ’

बिहान फेसबूकमा कारबाही गर्ने चेतावनी दिएका मेयर साम्पाङ अपराह्न चर्च सञ्चालकसँगको भेटपछि नरम भए । चर्चका एक सदस्य भन्छन्, ‘प्रभूलाई खुसी पार्न नाटक गरिएको हो भन्नेमा मेयरज्यू सहमत हुनुभयो । धार्मिक कार्यक्रम भएकाले सद्भाव बिग्रन्छ भनेर घटना नउचाल्ने सहमति भएको छ ।’

मेयर साम्पाङ पनि कुनै बेला क्रिश्चियन अगुवा थिए । राजनीतिमा आउनुअघि क्रिश्चियन धर्म प्रचार गर्दै हिँड्थे । सोही कारण पनि चर्च सञ्चालकप्रति सहानुभूति राखेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

प्रभूलाई खुसी पार्न भन्दै जब पास्टरले बालिकालाई बनाए अर्धनग्न

सामाजिक सञ्जालमा क्रिसमसको दिनको भन्दै भाइरल भिडिओ २९ मंसिरको रहेको चर्चका सञ्चालकले जनाएका छन् । उक्त दिन हिसप चर्चले अभिभावक दिवसको कार्यक्रम आयोजना गरेको थियो ।

यो कार्यक्रम चर्चमा हरेक वर्ष गरिन्छ, जसमा बालबालिकालाई समावेश गरी बालमण्डलीको प्रस्तुति गरिन्छ ।

बाइबलको कथामा आधारित नाटक देखाउने क्रममा प्रभूलाई खुसी पार्न भन्दै एक आठ र अर्की नौ वर्षीया बालिकालाई चर्चका पास्टरले नग्न बनाए । प्रभूलाई खुसी पार्ने नाममा बालिकाहरूलाई नग्न बनाइएको घटनाले सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ ।

धर्मको नाममा स्वर्ग र नर्कको डर देखाएर, परमेश्वरको आदेश भन्दै पास्टरले बालिकालाई नाङ्गो बनाएको आरोप छ ।

चर्चकै सदस्यहरूले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जुन पछि केही पोर्न साइटमा समेत अपलोड भएको देखिन्छ ।

कानुनी रूपमा बालबालिकालाई नग्न बनाउनु तथा नग्न तस्वीर वा भिडिओ सार्वजनिक गर्नु अपराध हो । ‘बालबालिका संरक्षण ऐन, २०७५’ लगायतका विभिन्न कानुनअनुसार यस्तो कार्य दण्डनीय छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी लैङ्गिक हिंसा निवारण सम्पर्क व्यक्ति ममता विस्टले भने घटनाबारे नोट गरेको बताइन् ।

उनले भनिन्, ‘हामीकहाँ उजुरी परेको छैन । तर, हामीले घटनाबारेमा चासो राखेका छौँ । छानबिन र कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौँ ।

धरान ११ मा रहेको हिसप मण्डली, जहाँ बालिकामाथि यौनहिँसा भएको भिडिओ सार्वजनिक भएको हो ।

धार्मिक प्रचलनको नाममा अपराध

यो घटनामा मिलापत्रको नाममा अपराध ढाकछोप गर्न खोजिएको देखिन्छ । तर, नेपालको संविधान र बालबालिकासम्बन्धी कानुनअनुसार धार्मिक प्रचलनका नाममा बाल यौन दुर्व्यवहार गर्न पाइँदैन ।

नेपालको संविधानको धारा ३९ ‘बालबालिकाको हक’को उपधारा ६ अनुसार धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले बाल यौन दुर्व्यवहार गर्न पाइँदैन ।

नेपालको संविधानको धारा ३९ ‘बालबालिकाको हक’को उपधारा ६

कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको छ ।

चर्चमा भएको यस्तो क्रियाकलापले बालबालिका संरक्षणसम्बन्धी ऐनको गम्भीर उल्लङ्घन गरेको मानव अधिकारकर्मीहरू बताउँछन् ।

उनीहरु भन्छन्, ‘मिलापत्रले अपराधीलाई उन्मुक्ति दिन सक्दैन । बालबालिकाको हकको गम्भीर उल्लङ्घन भएको छ, जसको कानुनी कारबाही आवश्यक छ ।’

यस्तै बालबालिकासम्बन्धी ऐन, २०७५’ को परिच्छेद ८ को दफा ६६ को बालबालिका विरुद्धको कसुरमा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने बाल अश्लीलता प्रदर्शन गर्ने वा गराउने कामलाई बाल यौन दुर्व्यवहार गरेको मानिनेछ भनिएको छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५’ को परिच्छेद ८ को दफा ६६

सोहीअनुसार चर्च सञ्चालकले अभिभावकले अनुमति दिएको भनेर प्रलोभनमा पारेर ‘मिलापत्र’ गर्दैमा उनीहरू कारबाहीबाट नबच्ने कानुनका जानकारहरू बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register