सरकारले देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने प्रवृत्ति देखाएको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने निरंकुश प्रवृत्ति देखाएको निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको प्रवृत्तिको विरोध गर्दै तत्काल संघीय संसद […]

Jan 7, 2025 - 13:02
 0
सरकारले देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने प्रवृत्ति देखाएको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने निरंकुश प्रवृत्ति देखाएको निष्कर्ष निकालेको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको प्रवृत्तिको विरोध गर्दै तत्काल संघीय संसद र प्रदेशसभाको अधिवेशन आह्वान गर्न सरकारसँग माग  गरेको छ ।

बैठकले विभिन्न निकायमा भएको राजनीतिक हस्तक्षेपको विरोध गर्दै स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न माग गरेको छ भने शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न समेत माग गरेको छ । त्यस्तै, बैठकले सहकारी प्रकरणमा गठबन्धननिकट व्यक्तिहरूलाई संरक्षण गर्ने पूर्वाग्रहपूर्ण र भेदभावपूर्ण काम गरेको भन्दै निष्पक्ष छानविन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ ।

बैठकले अबको पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, वैशाख महिनाभरि मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘पार्टी रूपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । उनले जनताको अधिकार बढाउनका निम्ति संविधान संशोधन गर्नुपर्नेमा बैठकले जोड दिएको बताए ।

बैठकले सबै नेताले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको बैठकको समापनका क्रममा अध्यक्ष प्रचण्डले बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुंगा बन्ने र यसले निरन्तरतामा क्रमभंग गरेको स्पष्ट गरे ।

उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताको कार्यविभाजन गर्दा उनको पनि गरिने जानकारी गराए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register