रेलको ठक्करबाट घटनास्थलमै ६ हात्ती मरे

एजेन्सी । श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठुलो दुर्घटना भएको छ ।  यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किएको छ, जसका कारण ६ वटा हात्तीको मृत्यु भएको छ । श्रीलंकाका समाचार माध्यमका अनुसार घाइते २ हात्तीको उपचार भइरहेको छ । यो श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा खराब रेल–हात्ती टक्करको घटना मानिएको छ । श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य […]

Feb 21, 2025 - 02:49
 0
रेलको ठक्करबाट घटनास्थलमै ६ हात्ती मरे

एजेन्सी ।

श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठुलो दुर्घटना भएको छ ।  यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किएको छ, जसका कारण ६ वटा हात्तीको मृत्यु भएको छ ।

श्रीलंकाका समाचार माध्यमका अनुसार घाइते २ हात्तीको उपचार भइरहेको छ । यो श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा खराब रेल–हात्ती टक्करको घटना मानिएको छ ।

श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य भइसकेको छ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्तीको मृत्यु हुने गरेको छ । यसबाहेक गत वर्ष मानव हात्ती द्वन्द्वमा १७० भन्दा बढी मानिस र ५ सय हात्तीको मृत्यु भएको जनाइएको थियो ।


वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भइरहेका छन् । जसका कारण उनीहरु रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको शिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको चोरी शिकारको पनि मारमा परिरहेका छन् ।

वन्यजन्तु विज्ञ र स्थानीय प्रशासनले रेल चालकहरूलाई जंगल र हात्तीको करिडोरबाट गुज्र्दा रेलको गति कम गर्न र हर्न बजाएर हात्तीलाई सचेत गराउन निरन्तर अपिल गरिरहेका छन् । तर, यो उपाय अझै पूर्णतया प्रभावकारी साबित हुन भने सकेको छैन् ।

हबरानामा यस्तो दुर्घटना भएको पहिलो घटना भने होइन । सन २०१८ मा एक गर्भवती हात्ती र तिनका दुई बच्चाहरू सोही क्षेत्रमा रेलको ठक्करबाट मारिएका थिए । यस्तै गत अगस्तमा पनि मिनेरिया क्षेत्रमा रेलले हात्तीको बथानलाई ठक्कर दिँदा २ हात्तीको मृत्यु भएको थियो भने एक हात्ति गम्भिर रूपमा घाइते भएको थियो ।

श्रीलंकामा हात्तीलाई विशेष कानुनी सुरक्षा छ। देशमा करिब ७ हजार जङ्गली हात्ती रहेको जनाइएको छ । जसलाई त्यहाँका बौद्ध समुदायले बिशेष पूजाअर्चना गर्छन् । श्रीलंकामा हात्ती मार्नु कानुनी अपराध हो, जेल सजाय वा भारी जरिवाना हुने गर्छ । तर, यति हुँदाहुँदै पनि मानव–हात्तीको द्वन्द्वका घटना बढ्दै गएको सरकार र वन्यजन्तु विज्ञहरूका लागि ठूलो चुनौती बनिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register