लन्डनमा ‘अबको बाटो’ पुस्तकमाथि विमर्श

लन्डन । लन्डनमा ‘अबको बाटो’ पुस्तकमाथि विमर्श भएको छ । सम्पादक भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन् । उक्त कार्यक्रममा प्रमुख अतिथी थिए बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरे । उक्त कार्यक्रममा नवनियुक्त राजदूत, कवि तथा लेखक घिमिरेलाई बेलायतमा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाहरूले स्वागत गरे । […]

Feb 24, 2025 - 18:09
 0
लन्डनमा ‘अबको बाटो’ पुस्तकमाथि विमर्श

लन्डन । लन्डनमा ‘अबको बाटो’ पुस्तकमाथि विमर्श भएको छ । सम्पादक भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथी थिए बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरे । उक्त कार्यक्रममा नवनियुक्त राजदूत, कवि तथा लेखक घिमिरेलाई बेलायतमा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाहरूले स्वागत गरे । साथै पुस्तक विमर्श कार्यक्रममा नेपालको विगत, वर्तमान र भविष्यको समीक्षात्मक मूल्यांकन गरियो।

राजदूत घिमिरेले आफ्नो मन्तव्यका क्रममा नेपालले विगतमा गरेका कमजोरी र अबका चुनौतीहरूबारे पुस्तकमा प्रस्तुत विचार गहन रहेको बताए। “विभिन्न क्षेत्रका विज्ञहरूबाट नेपालका सम्भावनाबारे तथ्यगत विश्लेषण गरिनु सराहनीय छ,” उनले भने । उनले पुस्तक संकलनका लागि सम्पादक श्रेष्ठलाई विशेष धन्यवाद समेत दिए ।

डा. मिलन ज्ञवालीले आफ्नो लेख ‘साना तथा मझौला उद्योगको पारस्परिक अन्तरसम्बन्ध, एक बिजनेस मोडल’ को चर्चा गर्दै नेपालका २७ सफल साना तथा मझौला उद्योगको अनुसन्धानबाट प्राप्त निष्कर्ष प्रस्तुत गरे।

त्यस्तै, पूर्व प्रहरी डिएसपी तथा स्तम्भकार शिवजी श्रेष्ठले  “नेपाल प्रहरी र गृहमन्त्री कस्तो हुनुपर्छ” भन्ने विषयमा ऐतिहासिक उदाहरण दिँदै पुस्तकमा समावेश आफ्नो लेख माथि विचार राखेका थिए ।

उनले सन् १८२२ का बेलायती गृहमन्त्री रोबर्ट पिलको उदाहरण पेश गर्दै नेतृत्व र प्रशासनिक दक्षताको महत्व दर्शाए। “हामीले सत्य लेख्न र बोल्न छाड्नु हुँदैन, किनभने सकारात्मक विचारको कुनै न कुनै दिन सुनवाई हुन्छ,” श्रेष्ठले जोड दिए ।

पुस्तक समिक्षकका रूपमा साहित्यकार तथा लेखक डा. रुपक श्रेष्ठले पुस्तकको समग्र पक्षको समीक्षा प्रस्तुत गरे। त्यसैगरी, पत्रकार महासंघ यूकेका महासचिव तथा लेखक खेमराज रानाभाटले पुस्तकका परिकल्पनाकार एवं संकलक भरत कुमार श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे चर्चा गरे ।

कार्यक्रममा लेखक गोपी सापकोटाले राजदूत चन्द्रकुमार घिमिरेले लेखेको ‘डन्ट टच मी ओ कविताहरू’ वाचन गरि कार्यक्रममा साहित्यिक माहोल थपेका थिए ।

साहित्य अनुरागीहरूको उत्साह झन् बढ्दै गयो जब दुर्गा प्रसाद पोखरेल, सुनिल संगम, विनोद अधिकारी, प्रसुना कँडेल, रस्मिता दर्लामी, वाइबी गुरुङ, जया राईलगायतका साहित्यिक सर्जकहरूले आफ्ना गजल, मुक्तक र कविताहरू प्रस्तुत गरे । आध्यात्मिक व्यक्तित्व विष्णु प्रसाद सापकोटाले ’जीवनमा सन्तुष्टि कसरी प्राप्त गर्ने’ भन्ने विषयमा प्रेरणादायी विचार राखे।

पुस्तकका संकलक श्रेष्ठले आफ्नो धारणा राख्दै भने, “हाम्रो समाजमै रहेका दक्ष र अनुभवी व्यक्तिहरूको ज्ञानलाई एकत्रित गरेर अबको नेपाल निर्माणको मार्गचित्र कोर्न सकिन्छ भन्ने सोचले यो पुस्तकको परिकल्पना गरिएको हो।”

कार्यक्रम अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रम सञ्चालन पर्या साहित्यकार तथा लेखक विजय हितानले गरेका थिए ।

उक्त कार्यक्रममा पुस्तकका सम्पादकसहित चारजना लेखक र विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा साहित्य अनुरागीहरूको गुणात्मक उपस्थिति थियो।

नेपालको भविष्यप्रति गहिरो चासो र विचार विमर्शले भरिएको उक्त कार्यक्रम एक प्रेरणादायी विचार मन्थनका रूपमा स्मरणीय रहेको अनुभूति उपस्थितहरुले बताए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register