नेवाः समुदायका महिलालाई राजनीतिक रुपमा चेतनशील हुन आग्रह

ललितपुर । नेवाः समुदायका महिलाहरु भाषा, संस्कृति संरक्षणसँगै राजनीतिक रुपमा अघि बढ्नुपर्ने खाँचो सम्बद्ध व्यक्तिहरुले औल्याएका छन् । १ सय १५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोधिचर्या नेपालले ललितपुर महानगरपालिका – २१ संग सहकार्य र छय्लाबुला ज्यासःको सहयोगमा आयोजना गरेको नेवाः समुदायका महिलाको सशक्तिकरणमा चुनौती र अवसर विषयक कार्यक्रममा उनीहरुले सो खाँचो औल्याएका हुन् । […]

Mar 5, 2025 - 09:34
 0
नेवाः समुदायका महिलालाई राजनीतिक रुपमा चेतनशील हुन आग्रह

ललितपुर ।

नेवाः समुदायका महिलाहरु भाषा, संस्कृति संरक्षणसँगै राजनीतिक रुपमा अघि बढ्नुपर्ने खाँचो सम्बद्ध व्यक्तिहरुले औल्याएका छन् ।

१ सय १५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोधिचर्या नेपालले ललितपुर महानगरपालिका – २१ संग सहकार्य र छय्लाबुला ज्यासःको सहयोगमा आयोजना गरेको नेवाः समुदायका महिलाको सशक्तिकरणमा चुनौती र अवसर विषयक कार्यक्रममा उनीहरुले सो खाँचो औल्याएका हुन् ।

सो अवसरमा वाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले व्यवस्था परिर्वतनका लागि पहिलका अग्रज महिला नेतृहरुले जस्तो संघर्ष अहिले गर्नुपर्ने स्थिति अहिले नरहेको बताउँदै राजनीतिक अधिकारको सदुपयोग गर्न महिलाहरु अघि बढ्नुपर्नेमा जोड दिए ।

संविधानले दिएका महिला सम्बन्धी अधिकारलाई अभ्यास गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारको सख्ंया बढाउनुपर्ने बताइन् । उनले भनिन् ‘ चुनावको टिकट लिनेदेखि दिएर, अवसर पाएमा काम गरेर क्षमता प्रमाणित गर्ने अधिकार संविधानले दिएको छ । त्यसका लागि महिला घरबाट बाहिर निस्किनुपर्दछ ।’

कार्यक्रममा ललितपुर महानगरपालिका– २१ वडाका अध्यक्ष रविन्द्र महर्जनले नेवाः समुदायमा राजनीतिक दलमा लाग्न नहुने भनेर प्रायको दिमागमा जरो गाडेर बसेको जनाउँदै त्यस्तो सोच परिर्वतन गर्नुपर्ने बताए । ‘ राजनीतिमा लागेर नै हामी देशको, समाजको अवस्था बदल्ने हो । राजनीति सबै नीति बनाउने ठाउँ हो। राजनीतिमा नलाग्ने हो भने नेवाः समुदाय सरोकार रहेको क्षेत्रको विकास पछाडि धकेलिने छ ।’ वडाअध्यक्ष महर्जनले भने ।

स्थानीय राजनीतिककर्मी सुप्रभा शाक्यले समाज र राजनीतिक दलमा विद्यमान पितृसत्तात्मक सोच र संस्कारसंग जुधेर नै महिलाहरु अघि बढ्नुपर्ने बताईन् । ‘ पार्टीमा महिलालाई टिकट दिँदा चुनाव जित्ने वा नजित्नेमा अनेक शंका गरिन्छ । पार्टी बाहिर राम्रा भन्दा हाम्रा मानिस चाहिन्छ भन्ने सोच सोच छ । पितृसत्तात्मक सोचको हावी छ । यसलाई चिरेर नै अघि बढ्नु नै अहिलेको अर्थमा साँचो सशक्तिकरण हुने छ ।’

चर्चित गायिका निशा देशारले नारी शक्तिलाई बुझेर आफ्नो सिर्जना कर्ममा लाग्नुपर्ने बताउनुभयो । विभिन्न अवरोध छिचोल्दै जाने अठोट भएमा महिलालाई जीवनको लक्ष्य पुरा गर्न कसैले रोक्न नसक्ने गायिका देशारको भनाई रहेको छ ।

हस्तकला उद्यमी सवितासिं महर्जनले महिलाले आआफ्नो क्षेत्रमा अघि बढ्दै जाने हो भने विभिन्न अवसरहरुको प्राप्त गर्न सकिने बताइन् । महिलामाथि हुने विभेद, पुरातन सोचले गर्दा महिलालाई अघि बढ्न कठिन भएतापनि त्यसको सामना गर्दै जाँदा नै सशक्त हुने पनि उद्यमी महर्जनको भनाई रहेको छ ।


बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले महिलाहरु शोषित, पीडित भएसम्म पुरुषहरु सुख र शान्तिपूर्वक बाँच्न नसकिने भन्दै महिलाहरुको क्षमता विकास र विभेद अन्त्यका लागि पुरुषहरुपनि संगसंगै लाग्नुपर्नेमा जोड दिए ।

नेपाल भाषाका शिक्षिका गंगा बज्राचार्र्य स्थानीय तहमा नेपालभाषाको माध्यमबाट पढाइने नीतिले भाषा, संस्कृतिमा लाग्ने थुप्रै महिलाहरुलाई उचित अवसर प्रदान गरेको बताइन् । मिस नेवाः– ११४५ उपाधिका विजेता प्रलिशा शाक्यले बिना विभेद आफ्नो लक्ष्यमा अघि बढ्न सक्न स्थिति र प्रतिभाको प्रस्फुटन गर्न आत्मविश्वासपूर्वक अघि बढ्नुपर्ने बताए ।

बोधिचर्या नेपालका कार्यकारिणी सदस्य संगीता शाक्यले महिलाले आफूलाई घरभित्रको काममा मात्र सीमित गर्न नहुने बताइन् ।
सो अवसरमा मिस नेवाः ११४५ उपाधिका विजेतासहित विभिन्न उपाधि विजेताहरुलाई नेवाः परम्परा अनुसार सगुन प्रदान गरिएको थियो ।

सो अवसरमा एनटी मिस नेवाः११४५ उपाधि विजेता प्रलिशा शाक्य लगायत विभिन्न उपाधि विजेताहरुलाई सम्मान गरिएको थियो । मिस नेवाःका विभिन्न उपाधिका विजेताहरुलाई लक्षित गर्दै वडाअध्यक्ष शाक्यले नेवाः समुदायका महिला भाषा, संस्कृतिको विकासको चेतसंगै राजनीतिक रुपमा सचेत हुन आग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register