खोटाङको सामुदायिक वनमा लागेको आगो गाउँ पस्दा ७७ लाखभन्दा बढीको क्षति

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट ७७ लाखभन्दा बढीको क्षति भएको छ । यही चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । आगलागीबाट अदम राईको दुईवटा फुसको […]

Mar 20, 2025 - 03:09
 0
खोटाङको सामुदायिक वनमा लागेको आगो गाउँ पस्दा ७७ लाखभन्दा बढीको क्षति

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट ७७ लाखभन्दा बढीको क्षति भएको छ ।

यही चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

आगलागीबाट अदम राईको दुईवटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीन वटा बाख्रा जलेर नष्ट भएको थियो । राईको रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको रु सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । नगेन्द्र राईको रु १२ लाख, पविन्द्रकुमार राईको नौ लाख, हिराधन राईको नौ लाख, कृष्णबहादुर राईको सात लाख, चयनकुमार राईको सात लाख रुपैयाँ बराबरको क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।

डिकुवाको विभिन्न गाउँमा फैलिएको डढेलोले स्थानीय टङ्कबहादुर राईको फुसको छाना भएको घर जल्दा पाँच लाख तथा स्थानीय रनबहादुर राईको घरमा आङ्शिक क्षति हुँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । स्थानीय छोटा राईको चरनका लागि जङ्गलमा छाडिएको ६ वटा बाख्रा र चारवटा खसी जलेर मर्दा एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीमा स्थानीय नाईखोला मुहान भएको बाल्चुङ–बाघखोर खानेपानी आयोजनाको ३२ मिलिलिटरको एक हजार २०० र २५ मिलिलिटरको ९०० मिटर पोलेथिन पाइप जलेर नष्ट हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । बाल्चुङ, बाघखोर र च्यानटारका ३२ घरधुरी उपभोक्ताले उपभोग गर्दै आएको खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएपछि खानेपानी अभाव भएको छ ।

सोही ठाउँको मैतञ्जु–थुम्की खानेपानी आयोजनाको ३२ मिलिलिटरको दुई हजार १०० मिटर लामो पोलेथिन पाइप जलेर नष्ट हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र रेडक्रसले राहत सामग्री उपलब्ध गराएका छन् । आगलागीका घटनाबाट बिचल्लीमा परेका डिकुवावासीका लागि तत्काल राहत तथा पुनःस्थापनामा ध्यान दिन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बिहीबार संसद्मा विशेष समय लिएर सरकारको ध्यानाकार्षणसमेत गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register