दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गाउँमा बिहीबार दिउँसोदेखि लागेको डढेलो राति नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो । नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार डढेलोका कारण चार घर र दुई मटान जलेर नष्ट भएका छन् । दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ […]

Mar 21, 2025 - 13:30
 0
दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गाउँमा बिहीबार दिउँसोदेखि लागेको डढेलो राति नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो ।

नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार डढेलोका कारण चार घर र दुई मटान जलेर नष्ट भएका छन् । दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र गणेशटारका जगबहादुर राई, रुङकाडोका रणबहादुर राईका घर जलेको जनाउँदै उनले चुमाखुका वीरगञ्ज राई र दिलकुमारी राईको मटान जलेर नष्ट भएको बताए ।

सुनकोशी किनारबाट सुरु भएको डढेलो तेर्सालुङ सामुदायिक वन हुँदै गाउँ पसेको थियो । “गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भएका छौँ । डढेलो नियन्त्रणमा लिन इलाका प्रहरी, नगर प्रहरी र स्थानीयले सहयोग गरेका छन”, उनले भने, “आगलागीमा मानवीय क्षति भने भएको छैन । घरका साथै खाद्यान्नसहित सम्पूर्ण सामग्री जेका छन् । डढेलो पीडित परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।”

सामुदायिक वनमा लागेको डढेलो दुर्छिमका विभिन्न गाउँ तथा बस्तीमा छिर्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिममा आगलागी भएको समयमा हुरिबतास चलिरहेकाले ठूलो क्षति भएको नगर प्रवक्ता गिरीले बताउनुभयो । गाउँ पसेको डढेलो नियन्त्रणमा आए पनि सामुदायिक वनमा भने आगो नियन्त्रण बाहिर रहेको उनले जानकारी दिए ।

सामुदायिक वनमा लागेको डढेलोले करोडौं मूल्यको जडीबुटी, काठपात, जङ्गली जनावर र चराचुरुङ्गीको क्षति भएको हुनसक्ने स्थानीय तामन राईले बताए । उक्त डढेलोको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसअघि गत फागुन ४ गते हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित हलेसी बजारमा चार घर र यही चैत ४ गते हलेसी तुवाचुङ–२ डिकुवामा नौ घर जलेर नष्ट भएका थिए । त्रिधार्मिकस्थल हलेसी बजारमा खाना पकाउने ग्यासको सिलिन्डरबाट सल्किएको आगोका कारण रु सात करोड ५० लाख र डिकुवामा वनमा लागेको डढेलो गाउँ पस्दा रु ७७ लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

हलेसी बजारका आगलागी पीडितका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलन भएको रु २२ लाख राहत रकम उपलब्ध गराइएको छभने डिकुवाका लागि राहत सङ्कलन भइरहेको नगर कार्यालयले जनाएको छ । डिकुवावासीका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले प्रतिपीडित घरका लागि रु १५ हजार र नगरपालिकाले रु दश हजार नगद उपलब्ध गराएका छन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register