राजावादीसँग मनका कुरा

राजावादीलाई राजा फिर्ता ल्याउन मन लाग्यो त के बिरायो ? उसको विचारले त्यही भन्छ । ‘विचारभन्दा माथि देश’ भन्ने उक्ति जप्दै राजावादी पनि हुन मिल्ने छुट रवीन्द्र मिश्रलाई मात्रै छ । यद्यपि, बुझिने कुरा छ उनी पनि ‘यू टर्न’ लिएर राजावादी विचार बोक्न पुगेपछि मात्रै राजावादी भएका हुन् । राजावादी विचार मस्तिष्कको मुख्य धारा भएरै कोही […]

Mar 23, 2025 - 11:04
 0
राजावादीसँग मनका कुरा

राजावादीलाई राजा फिर्ता ल्याउन मन लाग्यो त के बिरायो ? उसको विचारले त्यही भन्छ ।

‘विचारभन्दा माथि देश’ भन्ने उक्ति जप्दै राजावादी पनि हुन मिल्ने छुट रवीन्द्र मिश्रलाई मात्रै छ । यद्यपि, बुझिने कुरा छ उनी पनि ‘यू टर्न’ लिएर राजावादी विचार बोक्न पुगेपछि मात्रै राजावादी भएका हुन् । राजावादी विचार मस्तिष्कको मुख्य धारा भएरै कोही राजावादी हुन्छ । त्यसैले राजा फिर्ता ल्याउने चाहना कुनै पनि राजावादीको स्वाभाविक चाहना हो । फेसबुकमा होस् वा सडकमा उसको चाहना स्वतः अभिव्यक्त हुन्छ ।

राजावादीलाई गणतन्त्र मन पर्दैन, यो पनि उत्तिकै स्वाभाविक कुरा हो । प्रत्येक विचारधाराको आफ्नो गुण धर्म अर्थात् स्वभाव हुन्छ । राजावादको स्वभावले गणतन्त्र रुचाउन मिल्दैन । कोहीकोही आश्चर्य व्यक्त गर्छन् – फलानो पीएचडी भएर पनि राजावादी कसरी हुनसक्यो ?

कुरो एकदम साधारण छ । हात्ती विश्वविद्यालय गए पनि हात्ती हुन छाड्दैन । मान्छे विचारधाराको प्राणी भएको हुनाले उसको राजनीतिक स्वभाव पनि वैचारिक स्वभावले बनाउँछ । त्यसैले राजावादीले राजाको छविमा विष्णुको अवतार देख्छ । यसलाई आश्चर्यजनक मान्ने हो भने आश्चर्यको परिभाषा नै बदल्नुपर्ने हुन्छ ।

राजावादको रन्को

ज्ञानेन्द्र शाह नेपालका धनाढ्य व्यक्तिमध्ये एक हुन् । त्यसमाथि उनको परिवारको सुरक्षा लगायतका खर्च राज्य कोषबाट व्यहोरिँदै आएको छ । धनमाथि धनको रास छ, तर खर्च गर्ने ठाउँ पनि खास छैन । अझ उनी उद्योगी-व्यापारी पनि हुन् । धन दौलतको कुनै कमी छैन । कमी छ त केवल एउटा गद्दीको । त्यसैले उनलाई राजगद्दीको मोह चढ्नु पनि स्वाभाविकै हो । तथापि प्रश्न उठ्छ, उतिबेला संविधानसभाको आदेश मान्दै नारायणहिटी छाडेका ज्ञानेन्द्रलाई अहिले अचानक फेरि गद्दी चढ्ने हुटहुटी केले जगायो ? उनको मनको शान्ति केले भङ्ग गरिरहेको छ ? बुढेसकालको स्वास्थ्यका निम्ति यस्तो चर्को मोह राग असल कुरो पक्कै होइन ।

त्यसो त दरबारको पर्खालभित्र इतिहासदेखि थुप्रिएका रहस्यहरूको थुप्रो छ । कति रहस्य खुले होलान्, कति खुलेनन् । इतिहासका नाममा कति कथा सुनाइए, कति रहस्यको गर्भमै विलिन भए । अहिले फेरि नागार्जुन दरबारभित्र केले कम्पन पैदा गरिरहेको छ ? यो रहस्य अहिले चाखलाग्दो भएको छ । चुनाव जित्न र समानुपातिक भोटका लागि थैलो थाप्नकै लागि पनि एक थरी पार्टी त राजावादी बनेकै थिए । अहिले अचानक ज्ञानेन्द्र शाहलाई राजावादको रन्को केले लगाइदियो ? उनलाई सायद चुनाव लड्नु त छैन । राजेन्द्र लिङ्देनको टिकटमा ‘प्रजा’हरूसँग भोट माग्दै हिँड्न ‘राजा’लाई शाही रवाफले नै नदिँदो हो । गद्दी नै फिर्ता पाउन त संविधान नै बदल्नुपर्‍यो, त्यसका लागि दुई तिहाइ सिट जित्नुपर्‍यो । राप्रपा एउटा सारथि अवश्य हुनसक्छ तर, त्यसो हुन पनि राप्रपाले आफ्नो नामको ‘प्र माने प्रजातन्त्र’ खारेज गरेर ‘रा माने राजावादी’ बनाउनुपर्ने हुनसक्छ ।

मौजुदा संविधानअन्तर्गत दर्ता भएको पार्टी हो, राप्रपा । घोषित राजावादी विधानअन्तर्गत गणतन्त्रको चुनाव लडेर के पार लाग्ला र ! कर्मकाण्डी दुनियाँमा भन्छन्, गाईको पुच्छर समातेर वैतरणी तर्न सकिन्छ । पूर्वराजालाई राप्रपाले यही गणतान्त्रिक नदीको बाटो वैतरणी तार्न सक्ला त ? पछिल्लो चुनाव जित्न पनि अध्यक्ष लिङ्देनसहित ४ जनाले एमालेसँग हल बाँध्नुपरेको थियो । यसप्रकार गद्दी पाउन सम्भव नलागेरै हुनसक्छ, शाहले भाँतीभाँती टुकडीहरू जम्मा पार्न खोजेको देखिन्छ । पहिलो प्रदर्शनमै ती टुकडीहरू एकअर्कालाई तारो हान्ने खेलमा लागेको देखिसकेपछि उनले पुराना पञ्चमहारथी नवराज सुवेदीलाई अघि सारे । टुकडीहरू झन तितरबितर हुने स्थिति बन्यो ।

त्यसो त दरबारको पर्खालभित्र इतिहासदेखि थुप्रिएका रहस्यहरूको थुप्रो छ । कति रहस्य खुले होलान्, कति खुलेनन् । इतिहासका नाममा कति कथा सुनाइए, कति रहस्यको गर्भमै विलिन भए । अहिले फेरि नागार्जुन दरबारभित्र केले कम्पन पैदा गरिरहेको छ ? यो रहस्य अहिले चाखलाग्दो भएको छ ।

सम्भवतः राजावादीहरूको आकलनमा चुनाव काम लाग्ने साधन होइन । राजतन्त्रलाई कमजोर पार्न र खारेज गर्न इतिहासमा पटक-पटक जनआन्दोलन प्रभावकारी साधन भए भने राजा फिर्ता ल्याउन पनि त्यही साधन प्रयोग किन नगर्ने ? भाँतीभाँती टुकडी भेला पार्ने प्रयत्न त्यस्तै जनआन्दोलनको परिकल्पनामा गरिएको हुनुपर्छ । तर, यो उपायमाथि चिसो पानी खन्याउने काम तिनै टुकडीका सरदारहरूले गरेपछि बडो अन्योलको स्थिति बनेको छ । एक थरी राजनीतिक पण्डितले ज्ञानेन्द्र स्वयं आन्दोलनको नेतृत्व गर्न सडकमा आउनुपर्ने कुरो उठाएका छन् । त्यसो गर्न गाथगादीको ठाँठबाँठले झन के देला !

हिन्दुत्वको डङ्का

अब एउटै उपाय बाँकी रह्यो: सैनिक ‘कु’ । राजतन्त्रको परम्परामा इतिहासभरि सैनिक ‘कु’का दर्जनौँ उदाहरण भेटिन्छन् । अनुभवसिद्ध उपाय हो यो । यद्यपि, सैनिक कु गर्नलाई कुनै शाही सेना बाँकी छैन, नेपाली सेनाका उनी परमाधिपति पनि रहेनन् । त्यसो भए उनका निम्ति राजगद्दी कसले फिर्ता ल्याइदिन्छ ?

यहाँनेर एउटा भाइरल फोटोको प्रसङ्ग आउँछ । प्रसङ्ग त्यो दिनको हो, जुन दिन ज्ञानेन्द्र शाह पोखराबाट हिउँदे छुट्टी मनाएर फर्कँदै थिए र त्यही मौकालाई विशिष्ट ठानेर राजावादीहरू काठमाडौंको विमानस्थलमा स्वागत गर्न पुगेका थिए । जुलुसमा अमुक व्यक्तिले शाहको तस्वीरसँगै भारतीय प्रान्त उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर पनि प्रदर्शन गरिरहेको थियो । लगत्तै फोटो भाइरल भयो र फोटोसँगै ‘विचारभन्दा माथि देश, देशभन्दा माथि उत्तर प्रदेश’ भन्ने उक्ति पनि । शाह स्वयं योगीको ‘दर्शन’ गर्न पटकपटक भारत जाने गरेको तथ्य एकाएक चर्चामा आयो । ओठे राष्ट्रवादी दरिने चक्करमा फलानोको दलाल, ढिस्कानो परस्त आदि हल्ला चल्ने मुलुकमा राजावादीलाई पनि यसपालि ‘भारतीय दलाल’को आरोप लाग्ने खण्ड आइलाग्यो ।

उहिले उहिले राणा शासन विरुद्ध विद्रोह गर्नेलाई राणाहरू ‘अराष्ट्रिय’ भन्थे । तत्कालीन राजा त्रिभुवनलाई पनि यो आरोप लागेको थियो । पछि पञ्चायत कालमा व्यवस्था विरोधी काङ्ग्रेस, कम्युनिष्ट लगायतलाई ‘अराष्ट्रिय तत्त्व’ भन्ने गरियो । त्यसै गरी इतिहास भएका सबैजसो पार्टी र नेताले बेलाबखतमा व्यहोरेको साझा आरोप हो– भारतीय दलाल । अहिले राजावादीलाई पनि यही आरोपले सुशोभित गरिएको छ ।

तैपनि प्रश्न उठ्छ:  के साँच्चै यसपालिको मिसनमा राजावादीले मुख्यमन्त्री योगी र भारतीय सत्ताको आशीर्वाद प्राप्त गरेका हुन् ?

भारतमा सत्तासीन भारतीय जनता पार्टी (बीजेपी)को मातृ सङ्गठन हो– राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) । अहिले पनि बीजेपीको दार्शनिक, साङ्गठनिक, राजनीतिक लगाम आरएसएसकै हातमा रहेको विश्वास गरिन्छ । आरएसएसका दस्ताबेजहरूमा हिमवत्खण्ड अर्थात् नेपालसमेतलाई अखण्ड भारतको हिस्सा मानिएको छ । भारतको नवनिर्मित संसद् भवनको भित्तामा कोरिएको ‘अखण्ड भारत’को नक्सा त्यसैको एउटा झलक हो । आरएसएसले त खुल्लमखुल्ला नेपाललाई ‘अखण्ड भारत’को हिस्सा मात्र होइन, नेपालका राजालाई हिन्दु सम्राट्कै पगरी गुथाइदिने गरेको छ । आरएसएसको हिन्दुत्व राजनीति र हिन्दु राष्ट्रवादको गुदी के हो ? अब कुनै रहस्यको विषय रहेन ।

हिन्दुत्वको डङ्का बजाउने आरएसएसको रणनीतिको एक हिस्सा सधैँ नेपाल रहने गरेको छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएको भारतीय सत्तालाई कहिल्यै मन परेको छैन । संविधान निर्माणकै बेला पनि यो कुरो चुहिएको थियो । त्यसपछि पनि पटकपटक विभिन्न राजनीतिक जस्केलोबाट नेपाललाई हिन्दु राष्ट्र बनाउने कोसिस उसले गरिरहेकै छ । देशकै ठूलो पार्टी काङ्ग्रेसभित्रै हिन्दुवादी कित्ता खडा गरिएको छ । केही वर्षयता आरएसएसको गतिविधि नेपालमा व्यापक विस्तार भएको खबर पनि आइरहेकै छन् । विभिन्न धार्मिक सङ्गठन तथा गतिविधि विस्तार गरिएको छ । यस्तो बृहत् लगानी केवल संविधानमा हिन्दु राष्ट्र लेखाएर लुतो कन्याएको आनन्द लिनकै लागि त पक्कै गरिएको होइन ।

उहिलेउहिले राणा शासन विरुद्ध विद्रोह गर्नेलाई राणाहरू ‘अराष्ट्रिय’ भन्थे । तत्कालीन राजा त्रिभुवनलाई पनि यो आरोप लागेको थियो । पछि पञ्चायत कालमा व्यवस्था विरोधी काङ्ग्रेस, कम्युनिस्ट लगायतलाई ‘अराष्ट्रिय तत्त्व’ भन्ने गरियो । त्यसै गरी इतिहास भएका सबैजसो पार्टी र नेताले बेलाबखतमा बेहोरेको साझा आरोप हो– भारतीय दलाल । अहिले राजावादीलाई पनि यही आरोपले सुशोभित गरिएको छ ।

पछिल्लो समय इन्टरनेट सञ्जालमा आक्रामक भइरहेका राजावादी, हिन्दुवादी, सनातनवादी आदि इत्यादि नाम गरेका ग्रुप र ह्यान्डलहरू, व्यक्ति र संस्थाहरूले जुकरबर्ग र एलन मस्कहरूका कम्पनीलाई करौडौं रुपैयाँ बुझाएर आखिर के हासिल गर्न खोजेका छन् ? कथित राष्ट्रवादी हुन गरेको भए यहाँकै मिडियामा पारदर्शी विज्ञापन गरेर देशकै अर्थतन्त्रमा योगदान गर्ने थिए, खुफिया ढङ्गले देशको पैसा विदेश पठाउने थिएनन् । डलर बुझाएपछि जुकरबर्गहरूले सजिलै तिललाई पहाड बनाइदिन्छन् । सबै सकियो–सकियो, भत्कियो–भत्कियो, बिग्रियो–बिग्रियो भनेर सर्वसाधारणको दिमागमा कोकोहोलो मच्चाउन सम्भव बनाइदिने मिसिन हातहातमै उपलब्ध भएपछि बुद्धिजीवी हुन् कि मजदुर, शिक्षक हुन् कि विद्यार्थी, किसान हुन् कि वैदेशिक रोजगारीमा रहेका युवा, जसको पनि दिमाग खराब गर्न सकिन्छ र अन्ततः व्यवस्था नै ठीक छैन भन्ने निष्कर्षमा धकेलेर पुर्‍याउन सकिन्छ ।

आखिर त्यस्तै भइरहेको त होइन ?

राजा हिँड्ने राजमार्ग

राजावादीले परिकल्पना गरेको राजा हिँड्ने राजमार्गको गन्तव्य के हो ? राजतन्त्र भनेको केवल राजगद्दीको उपस्थिति होइन, यो त एउटा प्रणाली हो । त्यसभित्र साहु, महाजन, सामन्त, जमिन्दार तथा दरबारिया भारदारहरूको हुकुमी शासन सम्मिलित हुन्छ । तर, यो आलेख अहिले त्यतातिर जाँदैन । अहिलेकै सन्दर्भमा एउटा गरिब देशका राजावादीले विश्वव्यापी रूपमा आइरहेका अनेकन् सङ्कटहरूको सामना कसरी गर्छन् ? विद्यमान विश्व व्यवस्थामा पनि शक्तिशाली होस् वा कमजोर प्रत्येक मुलुकको सार्वभौमसत्ताको सम्मान गरिने न्युनतम मान्यता छ ।

ट्रम्पले धमाधम त्यो विश्व व्यवस्था भत्काइरहेका छन् र खुलेआम क्यानडालाई अमेरिकामा मिसाउने कुरा गरिरहेका छन् । विश्व व्यवस्था भत्किँदै जाँदा अरू शक्तिशाली मुलुकले पनि कमजोर छिमेकीमाथि त्यसै गरी गिद्धे आँखा गाड्ने स्थिति आउन सक्दैन भन्ने कुनै ग्यारेन्टी छ ? अहिले राजावादीले धमाधम पिच गरिरहेको राजमार्ग विश्व व्यवस्थामा आइरहेको भूकम्प थेग्नेखाले छ ? कि त्यो राजमार्गले देशलाई सिधै ठूलो माछाको मुखतिर लैजान खोजिरहेको छ ? धर्म, संस्कृति, सनातन आदि इत्यादि रक्षा गर्ने नाममा राजावादीहरू कुनै जालमा फसिरहेका त छैनन् ?

यो राजावादीले आफ्नै छातीमा हात राखेर चिन्तन गर्ने बेला हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register