डा.पौडेलले ल्याइन् साहस 

 काठमाडौं मानव बेचबिखनबाट फर्किएका महिलाको विषयमा अनुसन्धान गरेर समाजशास्त्री डा.मीना पौडेलले पाठकमाझ साहस नामक पुस्तक ल्याएकी छन् । बेचबिखनबाट फर्किएका विभिन्न १८ जिल्लाका २८ महिलाको जीवन भोगाइको अनुसन्धानबाट तयार पारिएको उक्त पुस्तक, किताब पब्लिसरले बजारमा ल्याएको हो ।  राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा.पौडेलले साहस एक पुस्तक मात्र नभई मानव बेचबिखनविरुद्धको आक्रोश र विद्रोह रहेको […]

Mar 23, 2025 - 11:06
 0
डा.पौडेलले ल्याइन् साहस 

 काठमाडौं

मानव बेचबिखनबाट फर्किएका महिलाको विषयमा अनुसन्धान गरेर समाजशास्त्री डा.मीना पौडेलले पाठकमाझ साहस नामक पुस्तक ल्याएकी छन् । बेचबिखनबाट फर्किएका विभिन्न १८ जिल्लाका २८ महिलाको जीवन भोगाइको अनुसन्धानबाट तयार पारिएको उक्त पुस्तक, किताब पब्लिसरले बजारमा ल्याएको हो । 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा.पौडेलले साहस एक पुस्तक मात्र नभई मानव बेचबिखनविरुद्धको आक्रोश र विद्रोह रहेको जनाइन् । पुस्तक तयार पार्ने क्रममा सम्पादक पारसप्रकाश नेपालले आफूलाई धेरै घचघचाउनुका साथै सहयोग गरेको उनले जिकिर गरिन् । 

कार्यक्रममा डा.पौडेलको पुस्तकमाथि टिप्पणी  गर्दै लैंगिक विश्लेषक डा.बिन्दु पोखरेलले नेपालको महिला आन्दोलन अझै रणनैतिक रुपमा चल्न नसकेको र यसले गर्दा नेपाली समाजमा रहेको संरचनागत विभेद हटाउन नसकिएको विचार राखिन् । बेचबिखनबाट फर्केका महिलालाई सामाजिक अन्तरघुलनमा पर्ने समस्याका विषयमा पनि पुस्तकमा उजागर गरिएको उनले जनाइन् । 

मानवशास्त्री डा. सुरेश ढकालले पुस्तकमा बेचबिखनबाट फर्केर आएका महिलाले समाजमा आएर विभिन्न तहमा भोग्नुपरेको बन्चितिकरण र अपहेलनालाई पुस्तकमा प्रष्ट्याइएको बताए । त्यसैगरी लेखक जेबी विश्वकर्माले नेपाली समाजमा शक्तिशालीले कमजोर वर्गमाथि गर्ने अन्याय र अत्याचारलाई साहसमा प्रतिबिम्बित गरिएको प्रतिक्रिया दिए । उनले पुस्तकमा समाजवादी महिलावादलाई पनि उजागर गरिदिएको भए अझै उत्तम हुने सुझाव दिए । 

नेपाली भाषामा प्रकाशन हुनु अगाडि पुस्तक अंग्रेजी, स्पेनी, जर्मनलगायतका ६ भाषामा प्रकाशित भइसकेका छन् । पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाईको खाँचो औंल्याएको छ । पुस्तकले बेचबिखन जस्तो जघन्य अपराधमा घचेटी सामाजिक –सांस्कृतिक, आर्थिक, राजनीतिक-कानुनी रुपमा बहिष्कार गरिएका र त्यसका परिणाम भोग्न बाध्य पारिएका महिलाले गरेको प्रतिरोधको रणनीतिक साहसलाई मिहिन ढंगले विश्लेषणसमेत गरिएको छ ।

 डा. पौडेलले त्रिविबाट मानवशास्त्रमा स्नातकोत्तर र संयुक्त अधिकाराज्यबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गरेकी छन् । आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आबद्ध भएर काम गरेको अनुभव उनीसँग छ । सामाजिक सांस्कृतिक अर्घेल्याई, लैंगिक हिंसा, आर्थिक विभेद र राजनीतिक रुपले सीमान्तकृत पारिएका समुदायका पक्षमा साढे तीन दशकदेखि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा प्राज्ञिक अनुसन्धान र नीतिगत पैरवी गर्दै आएकी छन् ।

कार्यक्रममा महिला अधिकारकर्मी दुर्गा घिमिरे र भगवती नेपाललाई सम्मान पनि गरिएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराइयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register