‘रेन्बो फ्यामीली’का नाममा नयाँ हिप्पीको अखडा बन्दै नेपाल

काठमाडौं । नशामा लट्ठ भएर चर्को सङ्गीतमा जङ्गलको बीचमा नाचिरहेका सयौं विदेशीलाई ७ चैतमा कैलालीको घोडाघोडी–९ जङ्गलमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको नेतृत्वको टोलीले फेला पार्‍यो । करिब एक हप्तादेखि घोडाघोडीको सिमली जङ्गलमा सयौंको सङ्ख्यामा विदेशी नागरिक बसिरहेका थिए । उनीहरु कहाँबाट आएका हुन् ? केही स्थानीयहरूले भेला भएका विदेशी नागरिकहरूले अस्वाभाविक ‘हर्कत’ गरेको गुनासोपछि […]

Mar 24, 2025 - 08:50
 0
‘रेन्बो फ्यामीली’का नाममा नयाँ हिप्पीको अखडा बन्दै नेपाल

काठमाडौं । नशामा लट्ठ भएर चर्को सङ्गीतमा जङ्गलको बीचमा नाचिरहेका सयौं विदेशीलाई ७ चैतमा कैलालीको घोडाघोडी–९ जङ्गलमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको नेतृत्वको टोलीले फेला पार्‍यो ।

करिब एक हप्तादेखि घोडाघोडीको सिमली जङ्गलमा सयौंको सङ्ख्यामा विदेशी नागरिक बसिरहेका थिए । उनीहरु कहाँबाट आएका हुन् ? केही स्थानीयहरूले भेला भएका विदेशी नागरिकहरूले अस्वाभाविक ‘हर्कत’ गरेको गुनासोपछि सीडीओ हमालसहितको टोली अनुगमनमा पुगेको थियो ।

‘अस्वाभाविक हर्कत के थियो ?’ अनुगमनमा पुगेका एक सरकारी अधिकारीले भने – “अर्ध नाङ्गो हुने, गाँजा खाने, ठूलो आवाजमा सङ्गीत बजाउने गरेको गुनासो स्थानीयले गरेको सुनाए ।”

अनुगमनमा पुगेको टोलीलाई उनीहरूले आफूहरू ‘नेचर लभर’ हौं भन्दै प्रतिक्रिया दिएका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार ती सयौं विदेशी नागरिकहरु ‘रेन्बो फेमली ग्यादरिङ’को नाममा जम्मा भएका थिए ।

कुन देशका कति नागरिक रहेको एकिन नभए पनि भारत, चीन, अमेरिकासम्मका नागरिकहरू रहेको प्रशासन बताउँछ । सीडीओ सहितको टोलीले सरकारी निकायबाट जमघटको अनुमति नलिएको भन्दै २४ घण्टाभित्र जङ्गल छोड्न निर्देशन दिएका थिए । पछिल्लो दिन उनीहरु जङ्गल छाडेर गए ।

यो बीचमा घोडाघोडी नगरपालिकाले उनीहरुसँग एउटा सांस्कृतिक आदानप्रदान कार्यक्रम पनि गर्‍यो । नगरपालिकाका प्रवक्ता घनश्याम ओझाका अनुसार ‘ठूलो सङ्ख्यामा विदेशी पर्यटक आएपछि नगरपालिकाले स्वागत’ गरेको हो । ओझाका अनुसार नगरपालिका ‘रेन्बो फ्यामीली’का बारेमा जानकार थिएन । उनी भन्छन्, “उहाँहरुसंग आफ्नै खालका बाजागाजा थिए, भेषभुषा पनि फरक थियो । विदेशी पर्यटक आएपछि हामीले स्वागत गरेका हौँ ।”

कैलालीको जङ्गलमा देखिएको ‘रेन्बो फेमिली ग्रुप’ २०८० मा अछामको रामारोसनमा पनि देखिएको थियो । प्रशासनले ‘शङ्कास्पद’ भन्दै रामारोसन प्रवेश निषेध गरेको थियो । पशासनले शंकास्पद भनेर रोक्न खोजेपनि हजारौंको संख्यामा विदेशीहरु रामारोशन पुगेका थिए । यहाँ ६१ देशका नागरिक पुगेका थिए ।

नयाँ वर्षको छेको पारेर २०७५ मा पूर्वी पहाडी जिल्ला सङ्खुवासभा र तेह्रथुमको सिमाना तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा समेत यही ‘रेन्बो फेमिली ग्रुप’ पुगेको थियो । त्यहाँ आयोजना हुन लागेको भेलालाई स्थानीय प्रशासनले रोक लगाएको थियो ।

उनीहरुले त्यहाँ ‘ट्रान्स पार्टी’ गर्ने योजना बनाएका थिए । काठमाडौंमा रहेको शक्ति पिक नेपाल संस्था र स्थानीय तीनजुरे गुराँस क्लबले आयोजना गर्न लागेको ट्रान्स पार्टीलाई जिल्ला प्रशासन कार्यालयले रोकेको थियो त्यति बेला ।

अन्तर्राष्ट्रिय म्युजिक फेस्टिभल गर्ने भन्दै आयोजकले मादी नगरपालिकाबाट समेत आर्थिक सहयोग मागेको थियो । तर, प्रशासनले गैर–कानुनी हर्कत हुने भन्दै कार्यक्रम स्थगित गरायो ।

तिनजुरे क्षेत्रमा आयोजना हुनु अघि २०७५ चैतको पहिलो साता प्रहरीले पोखराको लेकसाइडबाट ट्रान्स पार्टीमा सहभागीहरू लाई पक्राउ गरेको थियो । प्रहरी तथ्याङ्कका अनुसार एक स्थानीय रेस्टुराँमा आयोजित ट्रान्स पार्टीमा छापा मारेर ४४ जना विदेशी तथा १४ जना नेपालीलाई पक्राउ गरिएको थियो ।

के हो ट्रान्स पार्टी ?

लागुऔषध, सङ्गीत र यौनको त्रिवेणी हो – ट्रान्स पार्टी । सहभागीहरू लागुऔषध तथा मादकपदार्थको नशामा लट्ठ भएर चर्को आवाजमा सङ्गीत बजाउने गर्छन् । र, यौन क्रियाकलाप गर्ने गर्छन् ।

सुनसरीस्थित कोशी नदीको टापुमा २०७२ सालमा सयौंको सङ्ख्यामा विदेशी आएर नाचगान गरेका थिए । विदेशी पर्यटकहरू घुम्न आएको भन्दै स्थानीयहरू हर्षित थिए । तर, विस्तारै त्यहाँ बज्ने सङ्गीतको आवाजले स्थानीयहरू त्रसित भएपछि प्रशासनले हस्तक्षेप गरेको थियो ।

त्यहाँ आउनेहरूले एकअर्काको मतलब गर्दैन थिए । उनीहरू हातमा अल्कोहल र लागू औषध लिँदै नाच्ने स्थानीय व्यवस्थापनको जिम्मा पाएका एक व्यक्ति भन्छन् ।

पार्टीमा नशाले लट्ठिएकाहरू एक–अर्कासँग नजिकिन्छन् । बिस्तारै अश्लील हर्कत हुन थाल्छ । ट्रान्स पार्टीको विशेषता हो यो । ट्रान्स पार्टी हिप्पी सर्कलमा बढी लोकप्रिय छ ।

कुनै एक समूहले ट्रान्स पार्टी आयोजना गरेपछि सामाजिक सञ्जालका विभिन्न ग्रुपमार्फत आफ्नो सर्कलका व्यक्तिहरूलाई खबर गरिन्छ । यस्ता पार्टीमा सहभागी हुन वेबसाइट तथा ग्रुपमार्फत जानकारी दिइन्छ ।

रेन्बो फ्यामीली ग्रुप के हो ?

‘रेन्बो फ्यामीली’ भनेर चिनाउने समुहको सुरुवात सन् १९७० को दशकमा भएको थियो । यो समूह पुरानो हिप्पी समुह जस्तै लुज नेटवर्क हो । यो समुहको पहिलो ‘रेन्बो फ्यामीली ग्यादरीगं’ सन् १९७२ मा संयुक्त राज्यको कोलोराडोमा भएको थियो ।

आफूलाई हिप्पीका अनुयाी भन्ने रेन्बो फ्यामीलीको सुरुवात भने ‘अल्कोहोलिज्म, ड्रग्स र पोष्ट ट्रमाटिक डिसअर्डर’बाट छुटकारा पाउन भनेर गरिएको थियो ।

तर, आज उनीहरु आफूलाई शान्ति, प्रेम र प्रकृतिका पक्षधर भन्छन् । ‘काउन्टर कल्चर’का रुपमा परिचित यस्तो संस्कृति विवादमा छ । औपचारिक सङ्गठन वा नेतृत्व संरचनाबिना नै सञ्चालन हुने यो समूहले प्रकृति, शानित र मानवताको कुरा गर्छ ।

स्थानीय प्रशासनको अनुमति नै नलिकन जङ्गलमा भेला हुने यो समूह आफ्नो चर्को सङ्गीत, लागुऔषध, मादक पदार्थका कारण विवादित छ ।

यो समूहमाथि नै प्रतिबन्ध नलागेपनि यस्तो भेलामाथि भने विभिन्न देशमा प्रतिबन्ध लगाइएको छ । अमेरिका, अष्ट्रेलिया, जर्मनी र स्पेनजस्ता देशहरुमा यस्ता रेन्बो भेलामाथि प्रतिबन्ध छ । भारतमा पनि हिमाञ्चल र उत्तराखण्डजस्ता क्षेत्रमा यस्ता भेलाहरू भएका छन्, तर स्थानीय प्रशासनले अनुमति नदिई भेला गर्न रोक लगाएको छ ।

अमेरिकाको वन सुरक्षा निकायले सन् २०२४ मा ‘रेन्बो फ्यामीली’को एउटा कार्यक्रममाथि प्रतिबन्ध लगाएको थियो । यूएस टुडेको समाचारअनुसार अनुमति बेगर जङ्गलमा भेला भएका ‘रेन्बो फ्यामीली’का सदस्यलाई ५ हजार डलर जरिवाना र ६ महिना कैद गर्ने धम्की दिएपछि उनीहरु जङ्गल छाडेर भागेका थिए ।

पछिल्लो समय नेपालमा ‘रेन्बो फ्यामीली’का गतिविधि बढिरहेको प्रहरीले पनि नियालेको बताउँछन्, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरिक्षक दिनेशकुमार आचार्य । उनी भन्छन्, “यस्ता भेलाहरु भईरहेको हामीले नोटिस गरेका छौं । त्यस्ता भेलामा गैरकानूनी गतिविधि हुन्छन भने हामी कानुनअनुसार काम गर्छौं ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register