बिमस्टेक समिटमा आरजु: ‘क्षेत्रीय समृद्धि, शान्ति र एकतालाई नेपालले आत्मसात गरेको छ’

काठमाडौँ, चैत्र २१, २०८१-परराष्ट्रमन्त्री आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छन्।  बैङ्ककमा आयोजित छैठौँ बिमस्टेक समिटअन्तर्गत आज २०औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बङ्गालको खाडी क्षेत्रका नागरिकको साझा आकांङ्क्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक […]

Apr 3, 2025 - 18:11
 0
बिमस्टेक समिटमा आरजु: ‘क्षेत्रीय समृद्धि, शान्ति र एकतालाई नेपालले आत्मसात गरेको छ’

काठमाडौँ, चैत्र २१, २०८१-परराष्ट्रमन्त्री आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छन्। 

बैङ्ककमा आयोजित छैठौँ बिमस्टेक समिटअन्तर्गत आज २०औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बङ्गालको खाडी क्षेत्रका नागरिकको साझा आकांङ्क्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एसियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने चम्किलो इन्द्रेणी हो र यसका रङले यस क्षेत्रको समृद्ध सभ्यता, संस्कृति, इतिहास, पारिस्थितिक विविधता बोकेको छ । यस क्षेत्रका नागरिकको आर्थिक समृद्धिको सम्भावनालाई थप उजागर गर्ने प्रयत्न बिमस्टेकले गर्नुपर्दछ।’

अन्तरराष्ट्रिय समुदायको एक जिम्मेवार सदस्यका हैसियतले नेपालले संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्तिपूर्ण, समतामूलक र समावेशी रुपमा क्षेत्रीयता र बहुपक्षीयतालाई महत्व दिँदै आएको पनि उनले स्पष्ट गरिन् । 

मन्त्री राणाले भनिन्, ‘हामी शान्ति, सुरक्षा र दिगो विकासलाई सुदृढ पार्न क्षेत्रीय र विश्वव्यापी मञ्चहरूमा सक्रिय रूपमा संलग्न छौँ । संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देशका रुपमा पनि हामी गर्व गर्दछौँ ।’

उनले सन् २००४ मा सदस्य भएदेखि नै नेपाल बिमस्टेकको बडापत्र, सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको र क्षेत्रीय समृद्धि, शान्ति र एकताको भूमिकालाई नेपालले आत्मसात गरेको बताइन् । 

मन्त्री राणाले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनाश र प्रदूषणको विनाशकारी प्रभावजस्ता कारणले बङ्गालको खाडी क्षेत्र जोखिममा रहेको सन्दर्भमा पूर्वाधार निर्माण, पूर्व चेतावनी प्रणालीमार्फत विपद् रोकथाम तथा स्थानीय समुदायलाई वातावरण संरक्षणमा संलग्न गराउनु अहिलेको आवश्यकता भएको बताइन्।

उनले प्राकृतिक प्रकोप नियन्त्रण तथा प्रतिरोधमा क्षेत्रीय प्रयासहरूलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनसम्बन्धी बिमस्टेक केन्द्र स्थापना गर्ने भारतको प्रस्तावको स्वागत गर्दै केन्द्रले यी सबै चुनौतीको सामना गर्न ‘एआई’ प्रयोगलाई प्राथमिकता दिने विश्वास व्यक्त गरिन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register