कमरेड सञ्जय थापा र कालुमानको पान्थर

उनका लेखले मालेको भूमिगत राजनीतिको शैली, जनकार्य, जनतासँगको सम्बन्ध, वर्ग संघर्षको स्थानीय रूप र आन्दोलनका दुःख, सुख, त्याग बलिदान र वर्गशत्रुप्रति घृणा जगाउन सहयोग गर्थे । क्रान्तिकारी जोस भर्थे । आन्दोलनमा लागि रहने प्रेरित गर्थे ।

May 6, 2025 - 16:51
 0
कमरेड सञ्जय थापा र कालुमानको पान्थर

कमरेड प्रदीप नेपाललाइ चिन्नुभन्दा निकै अगाडी हामी सञ्जय थापालाई चिन्थ्यौँ । माया मान्थ्यौँ । उनका कथा र उपन्यासको प्रतिक्षा गर्थ्यौँ । तत्कालीन नेकपा मालेभित्र मोदनाथ प्रश्रीतपछि सबैभन्दा बढी खोजीने लेखक थिए, सञ्जय थापा ।

हामी मालेको भूमिगत राजनीतिमा संलग्न साहित्यका पाठकका लागि उनी एक आदर्श लेखक मात्र थिएनन्, उनको लेखनबाट हामीलाई थाहा हुन्थ्यो यी पार्टीको जिम्मेवार भूमिगत नेता हुन् । उनका लेखले मालेको भूमिगत राजनीतिको शैली, जनकार्य, जनतासँगको सम्बन्ध, वर्ग संघर्षको स्थानीय रूप र आन्दोलनका दुःख, सुख, त्याग बलिदान र वर्गशत्रुप्रति घृणा जगाउन सहयोग गर्थे । क्रान्तिकारी जोस भर्थे । आन्दोलनमा लागि रहने प्रेरित गर्थे ।

उनको बुङ्लाका साँझहरू, देउमाईको किनारमा, पूर्वतिर उपन्यासले हामीलाई आफ्नै जीवनकथा भनिरहेजस्तो लाग्थ्यो । सायद पूर्वतिर उपन्यास पढ्दाको कुरा हुनुपर्छ, २०४४ साल तिरको कुरा हो । कास्कीकोटका कुनै सुवेदीको घरमा (खेमराजको हो कि ?) अखिल नेपाल किसान संघको क्षेत्रीय प्रशिक्षण कार्यक्रम थियो । अमृत बोहरा र केशव बडाल पुगेका थिए । जीवराज आश्रीत त हुने नै भए । मलाई औपचारिक प्रशिक्षणतिर त्यति उत्सुकता थिएन । वहाँहरूमध्ये कसैले उपन्यासको एउटा कपि ल्याएको रहेछ । मैले हात पारेँ ।

प्रशिक्षण चल्दै गर्दा पहिलो रातमा नै पढेर सकेको थिएँ । उनका उपन्यासमध्ये सबैभन्दा रमाइलो ‘खुइते कडेरिया’ थियो । पछि उनले लेखे या सुनाएका थिए; उक्त उपन्यास पढेपछि खुइते कडेरियाका रूपमा उभ्याइएको पात्र आफैँ काठमान्डौं आएर सञ्जय थापालाई सिध्याउँछु भन्दै त्रिचन्द कलेजतीर खोज्न पुगेका थिए रे !

यसै क्रममा पृथ्वी नारायण क्याम्पसको स्ववियुको मुखपत्र ‘माछापुच्छ्रे’ प्रकाशित गर्ने कुरा भयो । त्यसमा एउटा लेख रचना सञ्जय थापाको हुनैपर्छ भन्ने हामीलाई लाग्यो । अब सञ्जय थापाको थात थलो र सम्पर्क हुने कुरा त भएन । हामीले कमरेड जीवराज आश्रीतलाई अनुरोध गर्‍यौँ । आश्रीतसँग थापाका बारेमा बुझ्न खोज्यौँ । तर, बताउनु भएन । ‘लेख मागेको खबर चाहिँ पठाउँला’ भन्नु भयो ।

केही सातापछि हामीलाई लेख प्राप्त भयो । कथा थियो ‘कालुमानको पान्थर’ शीर्षकमा । बडो रामाइलोसँग पाँचथरको भूगोल र समाजको चित्रण गरिएको उक्त कथा छाप्न पाउँदा हामी दंग परेको अहिले पनि मलाइ सम्झना छ । उनीप्रतिको यस्तो आकर्षण उनलाई भेट्नुभन्दा पहिलेसम्म कायमै रहेको थियो ।

२०४७ मंसिरतिर जनसाँस्कृतिक मञ्चको आयोजनामा राष्ट्रिय सभागृहमा साँस्कृतिक कार्यक्रम भएको थियो । त्यसको समाचार टिभीमा आएको थियो । सायद, लाइभ पनि थियो । त्यसको उद्घोषण पार्टी नेता उनै सञ्जय थापाले गरेका थिए ।

यसले हामीलाई पार्टी कोरा राजनीतिमात्र गर्ने नेताहरूको एकलौटी संगठन होइन भन्ने विश्वास भएको थियो र खुशी बनाएको थियो । उनका प्रति आकर्षण थप बढेको थियो ।

उनलाई मैले पहिलोपटक भेटेको चाहिँ २०४७ पुष महिनाको अन्तिम साताको कुनै चिसो बिहानमा कालीमाटीस्थित सुनकोशी छापाखाना र दृष्टिसाप्ताहिकको कार्यालयमा हो । अघिल्लो दिन नेकपा माले र मार्क्सवादीको एकताको घोषणा भएको थियो । त्यही दिनलाई एकता घोषण सभा टुंडिखेलमा आयोजना गरिएको थियो । हामीलाई त्यसले अति उत्साहित बनाएछ । पोखराबाट रविन्द्र अधिकारी, युमा र म रात्रीबस चढेर काठमान्डौं आएका थियौँ । कलंकी झरेपछि हिँड्दै, स्युस्यु गर्दै सुुनकोशी छापाखानामा पसेका थियौँ ।

बिहानको आठ बजेको हुँदो हो । नेकपा मालेको केन्द्रीय सदस्य कमरेड प्रदीप नेपालका रूपमा परिचय बनाइसकेका सञ्जय थापा एउटा पुरानो कुर्सीमा बसेर केही लेखिरहेका थिए । हाम्रो उत्साह थाहा पाएपछि उनले हामीलाई खिन्न बनाउँदै भने, ‘खै पार्टी त सक्ने भए कि क्याहो कमरेडहरू ! पार्टीको नाम पछाडि एकीकृत मार्क्सवादी र लेनिनवादी भनेका छन् । मालेलाई पो मान्छेले चिन्छन् । अब यो एमाले कस्ले चिन्ने हो ?’

उनको सुस्केर सुनेर हामी अलिकति खिस्रिक्क परेका थियौँ । दिउसोको सभा सकेर हामी रात्रीबसमा नै फर्कियौँ । पछि केन्द्रीय सदस्यमा आफ्नो नाम पहिले नपरेपछि उनी त्यसरी निराश भएका थिए भनेर अरूले कुराकाटेको सुनियो ।

प्रदीप नेपालले महासचिव मदन भण्डारीको निकट सहयोगीका रूपमा काम गरे । लामो सयम युवा, विद्यार्थी परिचालन गर्ने काम गरे । उनी ठाडो बोल्थे, स्वर मिठो र रसिलो थियो । उनले हप्काएको पनि माया गरेझैं लाग्थ्यो । सबैसँग घुलमिल हुन्थे । कथा र लेखहरू तथा उपन्यास लेखिरहन्थे । उनी नेता र आदर्श लेखकमात्र थिएनन्, मानवीय कमजोरी सहितका एकजना सक्रियतावादी थिए । मुहफट थिए । खरो, खस्रो बोल्थे । मदन भण्डारी बाहेक अरूलाई टेर्दैनथे । मनमा लागेको कुरा बोलीहाल्ने, लेखिहाल्ने बानी थियो । जसले उनको भूमिकालाई कहिलेकाहीँ विवादास्पद बनाउँथ्यो ।

२०४९ मा माघमा एमालेको पाँचौ महाधिवेशन भइरहेको थियो । म महाधिवेशनमा पर्यवेक्षकका रूपमा सहभागी थिएँ । विदेशी पाहुनको स्वागत गर्ने उपसमितिमा मेरो जिम्मेवारी थियो । कँग्रेस आईका महासचिव रोमश भण्डारीलाई सहयोग गर्ने जिम्मा मलाई परेको थियो । उनी लाजिम्पाट पानीपोखरीमा रहेको काठमान्डौं गेष्टहाउसमा बसेका थिए । म साँझ बिहान भण्डारीको सत्कारमा र दिउँसो महाधिवेशनको हलमा हुन्थेँ ।

बिदा भए प्रदीप नेपाल, कालजयी नै रहनेछन् शक्तिशाली उपन्यासकार सञ्जय थापा

महाधिवेशनको अन्तिम साँझ । प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा उनी ओभरकोट लगाएर चुरोट तान्दै गफिइरहेका थिए । उदयराज पाण्डे र म थियौं  (अर्जुन कार्की पनि थिए कि जस्तो लाग्छ) । हामी त्यतिबेलासम्म पार्टीका अनुशासीत कार्यकर्ता थियौँ । मन नपरेका कुरा पनि खुलै भन्न डराउथ्यौँ । तर, उनले त्यहाँ हामीसँग गफिदै भनेका कुरा म अहिले पनि सम्झिन्छु । गफैगफमा उनले भने, ‘मलाई केन्द्रीय कमिटिमा राखे ठीकै छ, नभए कारितासको कार्यालय फिलिपिन्समा काम गर्न बोलाएको छ । म उतै गएर बस्छु ।’

पार्टीमा आदर्श मानिएको र व्यक्तिको यो भनाइले मलाई चसक्कै घोचेको थियो ।

माहाधिवेशन हलमा केन्द्रीय समितिको निर्वाचनको दिखावा चलिरहेको थियो । उमेद्वारी दिने समय बढाउँदै बढाउँदै दिउँसोबाट राती, रातीबाट भोलीपल्ट बिहानसम्म तन्कँदै गयो । चुनाव उठ्दा हार्ने डर थियो सिपि मैनालीहरूलाई । मनमोहन चुनावको विरोधमा थिए । यद्यपि, उनी अध्यक्षमा सर्वसम्मत हुनेवाला नै थिए । तर, उनलाई पूर्व मार्क्सवादीहरूका नेता हार्लान्, सिपिलाई हराउलान भन्ने परेको रहेछ ।

हलमा झण्डै रुवावासी चल्दै थियो । दिउँसोलाई घोषणा सभा आयोजना गरिएको थियो । त्यस्तैमा बिहान ५ बजेतिर मदन भण्डारी र जीवराज आश्रीतहरूले २५ जनाको केन्द्रीय समितिको नामावली घोषणा गर्न अध्यक्ष मण्डलमा रहेका माधव नेपाललाई एउटा लिस्ट पठाए । जम्मा पाँचसात मिटरको दूरीमा थिए, मदन भण्डारी र माधव नेपाल । अध्यक्ष मण्डलको अध्यक्षता साहाना प्रधानले गरिरहेकी थिइन् । त्यही लिस्ट बोकेर हिँडेका केशव स्थापीतहरूले मदन भण्डारीले दिएको लिस्टबाट प्रदीप नेपाल र अष्टलक्ष्मी शाक्यको नाम काटेर माधव नेपाललाई दिएछन् ।

केन्द्रीय समितिको नाम घोषणा भयो । हलले ताली बजाएर समर्थन गर्‍यो । एकैछिनमा प्रदीप नेपालको वक्तव्य आयो: ‘मैले आजदेखि एमाले छाडेँ’ भनेर । भयनाक निराशाको सन्देश थियो त्यो, महाधिवेशनको उत्सहा सेलाइदिने । हतार हतार केन्द्रीय समितिको बैठक बस्यो र दुवैलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि दिउँसो घोषणा सभा समयमा नै सम्पन्न भयो ।

एउटा व्यक्तिगत कुरा पनि उनीसँग जोडिएको थियो । एमालेको नौ महिने सरकारका समयमा कमरेड प्रदीप नेपाल सञ्चार मन्त्री थिए । म सुकुम्वासी आयोगमा काम गर्थें । फोन आइरहन्थे । आफ्नो डेरामा टेलिफोन थिएन । नयाँ बजारमा पिताम्वर नेपाली गुरुकहाँ डेरा थियो । मेरो फोनले घरबेटी हैरान परेका थिए । त्यहिबेला सञ्चारमन्त्री प्रदीप नेपाललाई फोन गरेर एउटा ल्याण्ड लाइन फोन मिलाइदिन अनुरोध गरेँ । उनले त उल्टो हप्काए, ‘तँलाई अहिले किन चाहियो फोन ? बलियो छस् । दौडकुद गर्न सकिहाल्छस् । म दिन सक्दिन ।’

त्यसपछि मसँग फोन नभएरै जागीर सकियो ।

प्रदीप मलाई मन पर्ने नेता हुन् । खस्रो बोल्ने, देशभरका सबैजसो कार्यकता चिन्ने र सूचना राख्ने । प्रविधिमा पोख्त, लेखिरहने । उनका कतिपय राजनीतिक वक्तव्य र अडानका प्रति मेरा असहमति पनि थिए । खासगरी महाकाली सन्धीको समयमा र वामदेव गौतमलाई एक नम्बरको भ्रष्टाचारी भनेर टुँडिखेलमा घोषणा गर्दाका उनका उत्ताउला अभिव्यक्ती चित्त बुझ्दा थिएनन् ।

माओत्सेतुङ् खोज्न हिँड्दा कम्युनिस्ट बनेका प्रदीप नेपाल 

तर, मृत्यु अगाडि उनले लेखेको भनेर आजै प्रशारित उनको इच्छापत्रले फेरी उनले मन जीते । माया जीते । उनले मृत्युपछिको औपचारिकता अस्विकार गरेछन् । २०३३ मा जेल ब्रेक गरेर नेपाली जनवादी क्रान्तिलाई अघि बढाउन संकटकालीन समयमा महत्वपूर्ण योगदान गरेका कमरेड नेपालका अन्तिम वर्षहरू सुखद रहेनन् । तर, आफ्नो मृत्यु पछिको संस्कारका बारेमा उनले जे सन्देश दिए त्यो पनि यो ढोंगी समाजको विरुद्ध एउटा विद्रोह नै हो । उनले आफ्ना समकालीन नेताहरूका पाखण्डीपनलाई फेरि ठाडो चुनौती दिए ।

अलविदा कमरेड सञ्जय थापा !

तपाई सँधै सम्झनामा रहनुहुनेछ । तपाईसँग सहयात्रा गर्ने पान्थरको कालुमान हामीसँगै यात्रारत रहनेछ ।

अन्तिम समयमा घाटसम्म जान नसकेकोमा कस्तो थक-थक लाग्यो ।

हार्दिक श्रद्धाञ्जली कमरेड प्रदीप नेपाल !

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register