चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्‍याउँदा…

भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधन पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्‍याएका छन् । पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका […]

May 11, 2025 - 03:31
 0
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्‍याउँदा…

भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधन पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्‍याएका छन् ।

पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङले गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए । उनले भने, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए ।

यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताए । उनले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गरे।

कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ । त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ । हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए। उनले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताए । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उनले भने, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताए ।

कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलले हाते ट्रयाक्टर पुर्‍याउनका लागि सहजीकरण गरेका थिए । उनले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताए । ‘किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ’, उनले भने । यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register