विकास र समृद्धिको प्रमुख आधार पर्यटन : अध्यक्ष ढकाल

नवलपुर । आइएमई हस्पिटालिटीले नवलपुरको मौलाकालीमा निर्माण गरेको ‘इला होटल’ आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । होटलको समुद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउँदै पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् । अध्यक्ष ढकालले आइएमई हस्पिटालिटीले इला होटलसँगै पाँचवटा […]

May 12, 2025 - 16:20
 0
विकास र समृद्धिको प्रमुख आधार पर्यटन : अध्यक्ष ढकाल

नवलपुर । आइएमई हस्पिटालिटीले नवलपुरको मौलाकालीमा निर्माण गरेको ‘इला होटल’ आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

होटलको समुद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउँदै पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।

अध्यक्ष ढकालले आइएमई हस्पिटालिटीले इला होटलसँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइसकेको जानकारी दिए । यसअघि बागलुङमा पनि इला होटलको उद्घाटन भएको थियो भने काठमाडौंको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट, लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन भइरहेको उनले बताए ।

ढकालले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण गर्ने योजना रहेको जानकारी दिँदै हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेको बताए । आजको होटल सञ्चालनसँगै दुईवटा आयोजना होटलसहित सञ्चालनमा आएको उनले जानकारी दिए । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको र सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको उनले बताए । कैलालीमा अबको एक वर्षभित्र केबलकार र त्यसपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने उनको भनाइ थियो । ताप्लेजुङको पाथीभरामा पनि केबलकार निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

पर्यटनमन्त्री समक्ष आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले नेपाल आउने विदेशी पर्यटकको औषत खर्च र बसाई निकै कम रहेको तथ्याङ्क प्रस्तुत गरे । पर्यटकलाई आकर्षित गर्ने र उनीहरुको बसाई तथा खर्च बढाउने खालका थप ठूला पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र विशिष्ट भूगोलका कारण पर्यटक आउने भएकाले त्यस्ता पर्यटकीय पूर्वाधारको विकासमा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने उनको सुझाव थियो ।

उनले नेपालमा अथाह प्राकृतिक सम्पदा रहेको र पर्यटन, प्रकृति तथा पर्यावरणका क्षेत्रमा धेरै सम्भावना रहेको बताए । भिजन, इच्छाशक्ति, प्रविधि र पुँजीको संयोजनबाट पर्यटन क्षेत्रमा चमत्कार गर्न सकिने उनको विश्वास थियो । निजी क्षेत्र विकास र परिवर्तनमा मिराकल ल्याउन सक्षम रहेको कुरा पटकपटक प्रमाणित भइसकेको उनको भनाइ थियो ।

अध्यक्ष ढकालले उपयुक्त वातावरण पाए निजी क्षेत्रले ठूलो लगानी गर्न सक्ने र विकास, रोजगारी तथा आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्ने बताए । निजी क्षेत्रको आत्मविश्वासबाट लाभ लिन स्थानीय तहहरुले लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्नेमा उनको जोड थियो । उनले मौखिक आह्वानले मात्र नभई ठोस र व्यवहारिक नीति मार्फत निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए ।

सबै स्थानीय तहले दीर्घकाललाई लक्षित गरी पर्यटन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । लगानीमैत्री वातावरण, नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिने उनले बताए । पर्यटन पूर्वाधारमा लगानी गरे पर्यटकको संख्या बढाउन, बसाई लम्बाउन, विदेशी मुद्रा आर्जन गर्न, रोजगारी सिर्जना गर्न र राजस्व बढाउन सकिने उनको भनाइ थियो । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी र राजस्व सिर्जना गर्ने भएकाले यसले जनताको जीवनस्तर उकास्न र गरिबी घटाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

अध्यक्ष ढकालले चितवन, तनहुँ र नवलपुरको संगम धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र भएको उल्लेख गर्दै मौलाकालिका मन्दिरको ऐतिहासिकता र देवघाटको पवित्रताको चर्चा गरे । केबलकार र नयाँ पर्यटकीय संरचनाले यी सम्पदाहरुको महत्वलाई सबै नेपाली समक्ष पुर्‍याउन सहयोग गर्ने उनको विश्वास थियो । आध्यात्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस पुण्यभूमिमा थप पर्यटकीय संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

प्राकृतिक सौन्दर्यलाई कायम राख्दै स्थानीय नागरिकको जीवनस्तर उकास्ने र पर्यटन विकासमार्फत देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । यस्ता संरचना राष्ट्र र जनताको साझा सम्पत्ति भएको र नवलपुरको गहनाको रुपमा निर्मित यस होटललाई स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारिएको उनले जानकारी दिए । चन्द्रागिरि केबलकार छोटो समयमै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको उदाहरण दिँदै उनले यसले देशको अर्थतन्त्र र स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

होटल निर्माणमा सहयोग गर्ने संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति, वन उपभोक्ता समिति लगायत सबै सरोकारवालाहरुलाई उनले धन्यवाद ज्ञापन गरे । गण्डकी प्रदेशको बासिन्दाको हैसियतले आफ्नो जन्मभूमिमा सेवा गर्न पाउँदा खुशी लागेको उनले बताए ।

उनले ‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’ भन्ने नेपाली गीत स्मरण गर्दै हरेक डाँडामा पर्यटनको सम्भावना रहेको र त्यहाँ पूर्वाधार विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register