धर्म र राजनीति : प्रतिगामी हलचल

बहस विहीन समाज हुँदैन । मुद्दा विहीन राजनीति हुँदैन । प्रश्न विहीन सत्ता (राजनीतिक, धार्मिक, सांस्कृतिक या बौद्धिक) हुँदैन । समाज भइरहेको अवस्थाका बारे सन्तुष्ट हुँदैन । मानिस समाजसँगको अन्तरक्रियाका क्रममा केही न केही प्रश्नहरूको जवाफ खोजिरहन्छ । यस्ता प्रश्नहरू वर्ग सापेक्ष हुन सक्छन्, देशको शक्ति सापेक्ष हुन सक्छन्, संस्कृति र धर्म या परम्परा सापेक्ष पनि हुन्छन् ।

May 25, 2025 - 04:56
 0
धर्म र राजनीति : प्रतिगामी हलचल

“Everyone in India–whether he is a Muslim or a Hindu or Sikh or Christian–has the right to follow his own religion and traditions peacefully. All religions are worthy of respect and there should be no obstacles in the way of anyone. But if you try to bring religion into politics and try to create barriers, then you are following an extremely dangerous path. Religion is a sacred subject and if you try to drag it into the mire, you will be degrading both religion and politics….” – Jawaharlal Nehru


बहस विहीन समाज हुँदैन । मुद्दा विहीन राजनीति हुँदैन । प्रश्न विहीन सत्ता (राजनीतिक, धार्मिक, सांस्कृतिक या बौद्धिक) हुँदैन । समाज भइरहेको अवस्थाका बारे सन्तुष्ट हुँदैन । मानिस समाजसँगको अन्तरक्रियाका क्रममा केही न केही प्रश्नहरूको जवाफ खोजिरहन्छ । यस्ता प्रश्नहरू वर्ग सापेक्ष हुन सक्छन्, देशको शक्ति सापेक्ष हुन सक्छन्, संस्कृति र धर्म या परम्परा सापेक्ष पनि हुन्छन् । ज्ञान उत्पादन र पुनरुत्पादन, नयाँ ज्ञान र आविष्कारसँग साक्षात्कार गर्ने क्रममा पनि समाजमा हलचल र प्रश्न उत्पन्न हुन्छ । घर्षण हुन्छ । संघर्ष हुन्छ ।

मान्छे सधैँ अरूको सापेक्षतामा आफ्नो अस्तित्वको खोजी गर्छ, पहिचानको खोजी गर्छ । अरूभन्दा भिन्न बन्ने, विशिष्ट देखिने प्रयास गर्छ । मानिसको यो खोजीले समाजको सामूहिक आकाङ्क्षाको रूप लियो भने त्यो नै समाजको विचारधारा बन्छ । यसरी सामूहिक विचार बनेपछि त्यसले भौतिक शक्तिको रूपमा आकार लिन्छ । यस्ता भिन्न भिन्न शक्तिहरूका बीचको घर्षण नै आजका समुदायबीच, राष्ट्रबीच, सम्प्रदायबीच, आर्थिक शक्तिहरूबीच र सैन्य शक्तिहरूबीचका संघर्षहरू हुन् । यसैबाट संसार गतिशील छ ।

निरन्तर परिवर्तनको चक्रमा आफ्नो विद्यमान अस्तित्वमा संकट अनुभव गरेपछि व्यक्ति र समाजले आफ्नो पहिचान र शक्तिको पुनरुत्पादन या पुनरप्राप्तिको खोजी गर्छ । निराश र पराजित मनस्थितिमा पुगेको व्यक्ति र समाजले तर्कहरू र शास्त्रसम्मत मूल्यहरू अनुसरण गर्दैन । बरु कुतर्कहरूको सहारा लिन्छ, मुढे बलमा आफ्नो अस्तित्व स्थापित गर्न खोज्छ । जस्तो हालै टेक्नो लर्ड एलन मस्कले दक्षिण अफ्रिकाविरुद्ध फैलाएको भ्रमले सिंगो अमेरिकी विदेश नीतिलाई प्रभावित गरेको छ । त्यो मुढे बलको जोर जबरजस्तीको तरिका हो ।

प्रगतिशील विचारधाराविरुद्ध जेसुकै कदम चाल्ने फासिस्ट विचारधाराले अमेरिकी राष्ट्रपति परिचालित भएका छन् । अमेरिका प्रथमको नीति लिएका उनले हालै हार्वर्ड विश्वविद्यालयमा कुनै पनि विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएका छन् । उनको तर्क छ यसरी पढेकाहरू हाम्रै प्रतिस्पर्धी भएर निस्कन्छन् । यो पराजित मानसिकता र भय सिर्जित विनाशकाले मति हो । यसले एउटा सेक्युलर समाजको परिकल्पना गरेका अमेरिकी संविधानका रचनाकारहरूको मनसायको धज्जी उडाएको छ ।

नेपाल पछिल्लो समय अनेक निराशाहरूको उत्पादन थलो बन्दै गएको छ । सरकार या सत्तामा हुनेहरू यसलाई नकारात्मक प्रचारको प्रतिफलका रूपमा मात्र अर्थ्याउँदै छन् । तर समाजमा भित्रभित्र उठिरहेका तरंगहरूका अन्तर्यमा प्रवेश गर्दा यो निराशाका अनेक आयाम खुल्दै जान्छन् । यहाँ परिवार र समुदायहरूले अस्तित्वको संकट अनुभव गरेका छन् । त्यो चाहे धर्मका रूपमा होस् या संस्कृतिका रूपमा या परम्परागत मूल्य र आधुनिकताका बीचको घर्षणका रूपमा । त्यसको एउटा अभिव्यक्ति धर्मका नाममा भइरहेका बहसमा देखा परेको छ ।

यस्तो बहसलाई भारतीय धर्मगुरुहरू र राष्ट्रिय स्वयंसेवक संघ तथा विश्व हिन्दु महासंघ जस्ता बाह्य शक्तिको प्रोत्साहन समेत मिल्दा यसले नेपाललाई अनावश्यक द्वन्द्वतिर मात्र धकेल्दै छैन, हाम्रा बीचका एकता र सहअस्तित्वलाई मेटाउन खोज्दै छ । त्यसको प्रभाव नेपालको राजनीतिक शक्तिहरूमा पनि परेको छ । यी दुवै पक्षबीच एकता हुँदा हामी नयाँ घर्षण र संघर्षतिर जानेछौँ, ध्रुवीकरणतिर जानेछौँ । यसबाट वर्षौँ लगाएर हामीले विकास गरेका लोकतान्त्रिक मूल्य, र सार्वजनिक अभिव्यक्तिका स्पेससहित विद्यमान संवैधानिक व्यवस्थामाथि पनि प्रहार गर्ने जोखिम बढेको छ ।

जसरी धर्मलाई राजनीतिको स्पेस र स्फेयरमा तानिँदै छ, त्यसले समाजको एउटा तप्काको हतासा र निराशालाई अभिव्यक्त त गरेको छ नै बिस्तारै–बिस्तारै धार्मिक अतिवादले राजनीतिक गन्तव्यलाई प्रभावित गर्ने जोखिम पनि बढाइदिएको छ ।

नेपालमा पछिल्लो समय धर्मको विषयलाई लिएर भइरहेका गतिविधि, उठेका प्रश्न र बहसले मुढे तर्कहरूलाई आफ्नो अस्तित्वको सर्त बनाउन खोज्दै छन् । आफूलाई विशिष्ट मान्ने, आफ्नो मूल्य परम्परा, धर्म, संस्कृति र पन्थलाई विशेष ठान्ने मनोविज्ञानका आधारमा समाजलाई जबरजस्त पुनर्संगठित गर्ने प्रयास हुँदैछ । यसो गर्दा आफ्नो विशिष्टताको पक्षधरता देखाएर मात्र पुग्दैन, अर्कोको अस्तित्वमाथि आक्रमण पनि गर्न खोजिन्छ । समस्या त्यहीँबाट सुरु हुन्छ । केही वर्षदेखि खास गरी तराई मधेसमा अल्पसङ्ख्यक मुसलमान समुदायमाथि योजनाबद्ध रूपमा बहुसङ्ख्यक हिन्दु समुदायको उग्रपन्थी तप्काले गरेको आक्रमण र सिर्जना गरिएको भय त्यसको एउटा उदाहरण हो ।

यसबारे दुई वर्ष जति पहिले नेपालरिडर्समा पत्रकार नरेश ज्ञवाली र सागर चन्दका सिलसिलाबद्ध रिपोर्ट प्रकाशित छन् । केही समय अगाडी वीरगन्जमा भएको घटना यसले क्यान्सरको रूप लिँदै गएको संकेत हो । हालै मात्र पत्रकार कनकमणि दीक्षित लगायतले यस्तो प्रवृतिप्रतिको सरकारी मौनताबारे प्रश्न गर्दै पत्र बुझाएका थिए । पत्रकार जेवी पुन मगर र अभियन्ता डा. जीवन क्षेत्रीका लेखले यसको गम्भीरतातिर ध्यानाकर्षण गराएका छन् ।

जसरी धर्मलाई राजनीतिको स्पेस र स्फेयरमा तानिँदै छ, त्यसले समाजको एउटा तप्काको हतासा र निराशालाई अभिव्यक्त त गरेको छ नै बिस्तारै–बिस्तारै धार्मिक अतिवादले राजनीतिक गन्तव्यलाई प्रभावित गर्ने जोखिम पनि बढाइदिएको छ ।

तिन वटा समानान्तर प्रयास

केही वर्ष यता नेपालको राजनीतिमा धर्मलाई विषय बनाउँदै तिन वटा अभियानहरू एकसाथ समानान्तर रूपमा जारी छन् । नेपालको संविधान २०७२ ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको छ । तर धर्म निरपेक्षताको विषयमा स्पष्टीकरण समेत थपिएको छ । जसले धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ भनेर प्रस्ट पारेको छ । धर्म निरपेक्षताको अर्थ हुन्छ – राज्यले कुनै धर्मलाई राज्य धर्मका रूपमा स्वीकार गर्दैन ।

सबै धर्मप्रति समभाव राख्छ, सबैलाई धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्छ । हरेक धार्मिक समुदाय र धर्ममा आस्था राख्ने नागरिक या व्यक्तिलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्था अनुरूप धर्म मान्न, नमान्न, संस्कृति, जात्रा र पर्व, पूजा र ध्यान, तिर्थ र व्रत लगायतका परम्परा पालना गर्न कुनै अवरोध हुन नदिन राज्यले दायित्व स्वीकार गरेको छ । कसैको पनि धर्म अर्काको भन्दा सानो या ठूलो हुँदैन । कसैले पनि अर्कोलाई धर्म परिवर्तन गर्न दबाब र प्रलोभन दिनु हुँदैन । यसरी नै धार्मिक स्वतन्त्रताको रक्षा हुने हो । जब एउटा धर्म मान्नेले अर्काको स्पेसमा हस्तक्षेप गर्न खोज्छ, जब यसमा राजनीति घुस्छ अनि समस्या त्यहीबाट सुरु हुन्छ ।

२०१९ को संविधानबाट घुसाइएको हिन्दु राष्ट्रको विषयले सिर्जना गरेका प्रश्नहरूलाई अनेक बहस र विवादसहित यसरी निरूपण गरिएको थियो । अहिले यो या त्यो कोणबाट यसमाथि प्रहार भइरहेको छ । पछिल्लो समय राजावादी हिन्दुवादीहरू, नेपाली काँग्रेस भित्रका हिन्दुवादीहरू र आरएसएस परिचालित हिन्दुवादीहरू सहित गरी तिन थरी हिन्दुवादीहरू नेपालको राजनीतिमा हिन्दु धर्मलाई जबरजस्त घुसाउने प्रयास गरिरहेका छन् । मठहरूको दर्शनलाई राजनीतिक हतियार बनाउन पूर्व प्रधानमन्त्री प्रचण्ड पनि लागेका थिए । वर्तमान प्रधानमन्त्री केपी ओली र नेकपा एमालेको भूमिकाले पनि उत्तेजनाको काम गरेको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापाको राप्रपासहित कतिपय व्यक्तिहरू नेपाललाई हिन्दु राज्य बनाउने मिसनमा लागेका छन् । यो उनीहरूको शक्ति आर्जनको घोषित नीति अन्तर्गत भइरहेको छ । पछिल्लो समय दुर्गा प्रसाईं जस्ता अराजनीतिक व्यक्तिहरू पनि यसलाई आफ्नो नाराका रूपमा अगाडी सारिरहेका छन् । र, यी सबैका माथि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । जो हिन्दु सम्राट् बन्ने अतृप्त आकाङ्क्षाले वशीभूत छन् । उनका आकाङ्क्षाहरू भारतीय हिन्दु राष्ट्रवादबाट प्रेरित छन् । भारतीय हिन्दुवादीहरू नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छन् भन्ने कुरा यसै साता काठमाडौं आएका भारतीय संस्थापन पक्षका एक जना नेता विजय जोलीले पत्रकारसामु खुलै राखेका थिए । यो आपत्तिजनक विषय थियो, तर नेपालमा कसैले यसको विरोध गरेको सुनिएको छैन ।

धर्म निरपेक्ष संविधान जारी भएपछि राजनीतिमा राज्यबाटै हिन्दु सनातन धर्मलाई अतिरिक्त प्रोत्साहन गर्ने काम सबैभन्दा पहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उनले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी बनाउन राज्य कोषबाट १ अर्ब रुपैयाँभन्दा बढी दान दिएका थिए । त्यसै गरी प्रधानमन्त्री निवासमै पूजाआजा गरीकन राम, लक्ष्मण र सीताका मूर्ति स्थापना गर्न चितवनको माडीतिर पठाएका थिए । उनले आफ्नो कार्यकालमा माडीलाई वास्तविक राम जन्मभूमि अयोध्या भएको भन्दै एउटा धार्मिक बहस सिर्जना गर्ने प्रयास गरे । जसले राजनीतिलाई सीमा वारपार नै तरङ्गित गरेको थियो । र, यस्तो राजनीति पनि हिन्दु धर्मवालाहरूको मत आकर्षित गर्ने स्वार्थबाट प्रेरित थियो । धर्मप्रतिको तटस्थ भाव देखाउनु पर्ने राज्यका तर्फबाट भएका यी गतिविधिले संविधानको मर्म उल्लङ्घन गरिरहेका थिए ।

गत साता मात्रै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यो विषयलाई असमयमा राजनीतिक कार्यसूची बनाउने गरी प्रवेश गराएका छन् । संसद्को सबैभन्दा ठूलो र उदारवादी राजनीतिक दलको महामन्त्रीका रूपमा गगन थापाको यो विषय उठान सोची विचारी नै आएको अनुमान गर्न सकिन्छ । आफूलाई काँग्रेसको भावी सभापति र भावी प्रधानमन्त्रीका रूपमा दाबी गरिरहेका थापाले यो विषय उठाउने कुरा उनको व्यक्तिगत मामिला हुनै सक्दैन । यो राजनीतिक विषय हो र उनको प्रस्तावले आउने दिनमा नेपाली राजनीतिको उदारवादी लयलाई ध्वस्त पार्ने खतरा देखाउँछ ।

नेपाली नागरिकका रूपमा उनलाई आफ्नो पन्थ छनौट गर्ने स्वतन्त्रता छ । उनी मन्दिर जाउन्, पूजाआजा गरुन्, ठाडो तेर्सो टिका लगाउन्, टुपी पालुन् या जनै लगाउन् या नलगाउन्, तिर्थ-व्रत गरुन्, कसैलाई आपत्ति हुनुहुँदैन । नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो, जुन हक हाम्रो संविधानले प्रदान गरेको छ । तर, काँग्रेस महामन्त्रीका रूपमा उनले धर्मका नाममा दुई वटा गम्भीर राजनीतिक विषयलाई राजनीतिक बहसको कार्यसूचीमा प्रवेश गराउन चाहेका छन् ।

रातोपाटीका लागि पत्रकार नरेश ज्ञवालीसँग कुरा गर्दै थापाले नेपालले संविधानमा धर्म निरपेक्ष होइन धार्मिक स्वतन्त्रताको प्रावधान राख्नुपर्ने कुरा बताएका छन् । यद्यपि, यो नेपाली काँग्रेसको एउटा ठूलो पङ्क्तिले पहिलेदेखि नै उठाइआएको विषय हो । तर, त्यसले महामन्त्री या सभापतिको तहमा स्वीकार्यता पाएको थिएन । दलको कार्यसूचीमा प्रवेश पनि पाएको थिएन ।

गत चैत महिनाको पहिलो साता काँग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) पार्टी समक्ष संविधान संशोधनका विषयमा सातै प्रदेशमा गएर गरेको अध्ययनको प्रतिवेदन पेस गरेको थियो । बुद्धिजीवी विभाग प्रमुख रहेकी नेता डीला सङ्ग्रौलाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदनमा संशोधनका क्रममा संविधानको प्रस्तावनामा नै नेपाललाई हिन्दु राष्ट्र घोषित गरिनुपर्ने सुझाव आएको थियो । केही अगाडी काँग्रेस महासमितिको बैठकमा सहभागी प्रतिनिधिहरूको ठूलै संख्याले यो विषयलाई कार्यसूचीमा पार्न हस्ताक्षर अभियान नै चलाएको थियो ।

यी घटनाले काँग्रेसमा हिन्दु धर्मलाई राष्ट्र धर्म बनाउनुपर्छ भन्ने धार्मिक राजनीतिको मत बलियो रहेको देखाउँछन् । सम्भवतः महाधिवेशनमा सभापतिका लागि तयारी गरिरहेका गगन थापाले यो विषय बुझेका छन् । र, आफ्नो मत बढाउने उद्देश्यले धर्मलाई राजनीतिक मुद्दा बनाउन अघि सरेका छन् । समस्या यहीँनेर छ ।

सुरुमा उद्धृत गरिएको नेहरुको भनाइ जस्तै गगनको यो प्रयासले एक्स्ट्रिम्ली डेन्जरस पथतिर देशको राजनीतिलाई लैजाने मनसाय राखेको छ । विपि कोइरालाको धार्मिक स्वतन्त्रता पक्षधर उदार विचारबाट दीक्षित भएका गगन थापा व्यक्तिगत रूपमा हिन्दु या सनातनपन्थी हुनु एउटा कुरा हो, तर धर्मलाई राजनीतिको सिँढी उक्लन प्रयोग गर्ने उनको मनसाय आपत्तिजनक र खेदजनक छ ।

सुरुमा उद्धृत गरिएको नेहरुको भनाइ जस्तै गगनको यो प्रयासले एक्स्ट्रिम्ली डेन्जरस पथतिर देशको राजनीतिलाई लैजाने मनसाय राखेको छ । विपि कोइरालाको धार्मिक स्वतन्त्रता पक्षधर उदार विचारबाट दीक्षित भएका गगन थापा व्यक्तिगत रूपमा हिन्दु या सनातनपन्थी हुनु एउटा कुरा हो, तर धर्मलाई राजनीतिको सिँढी उक्लन प्रयोग गर्ने उनको मनसाय आपत्तिजनक र खेदजनक छ । उनलाई थाहा छ, एक पटक यो विषयलाई संविधान संशोधनको मुद्दा बनाइसकेपछि देशलाई धर्म निरपेक्ष या धार्मिक स्वतन्त्रता भएको राष्ट्रका रूपमा मात्र राख्न सम्भव छैन । यसले ठूलो ध्रुवीकरण र संघर्ष निम्त्याउँछ र सत्तान्ध दुर्योधनको मति भएका नेताहरूले यसलाई हिन्दु राज्यका रूपमा परिणत गर्छन् । अनि धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता दुवैले सानेपामा बिपीको फोटोमुनि पुगेर आत्महत्या गर्नुपर्नेछ ।

गगनले उठाएको अर्को विषय छ धर्म परिवर्तनको मुद्दा । उनले धर्म परिवर्तनको अहिलेको अवस्थाले समाजमा विभाजन र द्वन्द्वको मनोविज्ञान निर्माण गरेको भनेका छन् र त्यसलाई रोक्न आवश्यक रहेकोतर्फ संकेत गरेका छन् । यो पनि उनको बहुसङ्ख्यक हिन्दु समुदाय र लुन्याटिकहरूको मत सुरक्षित गर्ने उपाय मात्र हो । धर्मलाई राजनीतिमा तान्ने प्रयासकै अंश हो । धर्मान्तरणले समाजमा मनोवैज्ञानिक समस्या र संघर्षको अवस्था सिर्जना गरेको साँचो हो । लोभ, लालच र भय देखाएर गरिने धर्म परिवर्तनको विषय लामो समयदेखि चर्चामा रहेको छ । जहाँ–जहाँ नयाँ–नयाँ चर्चहरू बन्छन् र नयाँ पाष्चरहरू धर्म परिवर्तनको उद्देश्य लिएर घुमेका भेटिन्छन् त्यहाँ भित्रभित्रै एक प्रकारको द्वन्द्व पनि विद्यमान छ ।

यसबारे लेखक तथा सिनेकर्मी उपेन्द्र सुब्बाको कथा सङ्ग्रह लाटो पहाडमा एउटा कथा छ – प्रभु माइला भन्ने पात्र, जसले यस्तो मनोविज्ञानको प्रतिनिधित्व गर्छ । यस्तो मनोविज्ञान हिन्दु समुदायमा पनि छ र बुद्ध या प्राकृत धर्म मान्ने जनजाति समुदायमा पनि । अल्पसङ्ख्यक आदिवासी समुदायमा थप बलियो छ ।

तर यस विषयमा बहस गर्दा यो कानुनी प्रश्न मात्र हो कि संवैधानिक राजनीतिक प्रश्न हो भन्ने विषय निर्क्योल गर्नु आवश्यक छ । संविधानले धर्मान्तरणलाई न प्रोत्साहित गर्छ न रोक्छ । व्यक्तिलाई स्वेच्छाले धर्मान्तरण गर्न पाउने अधिकार छ । तर संगठित र संस्थागत प्रयास गरेर यस्तो धर्मान्तरण गराउन खोज्नेहरूलाई त्यसको मूल स्रोतबाटै रोक्न विद्यमान कानुन र प्रशासनिक कार्यका माध्यमबाटै सम्भव छ । खास गरी मिसनरीहरूका यस प्रकारका गतिविधिलाई राज्यले सिधै रोक लगाउन सक्छ ।

धर्मान्तरण गर्नु, सनातन परम्परा मान्नु, नास्तिक हुनु सबै व्यक्तिगत मामिला बनाइनु पर्छ । मठमन्दिर र चर्च गुम्बा या मस्जिद क्वोइवो अथवा, जात्रा पर्व सञ्चालन गर्ने जिम्मेवारी समुदायलाई दिनुपर्छ । नेपालले धर्म निरपेक्षता स्वीकार गरे पनि यहाँको राज्य र सरकारले अहिले पनि धार्मिक मामिलालाई आफ्नो नियन्त्रणमा राखेको छ भन्ने कुरा पशुपति क्षेत्र विकास कोषमा उसको सहभागिताले देखाउँछ । यसबाट कमसेकम संघीय र प्रदेश सरकार तत्काल हट्नुपर्छ ।

धर्मान्तरणलाई राजनीतिक मुद्दा बनाइरहनु भनेको पनि धर्मलाई राजनीतिमा घुसाएर सत्तामा पुग्ने घृणित आकाङ्क्षाको विषय मात्र हो । गगनले समाजमा विद्यमान मनोविज्ञानलाई आफ्नो राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेर खतरनाक बाटोलाई प्रोत्साहन गरेका छन् । अनुचित समयमा देशलाई धार्मिक राजनीतिको बहसमा धकेल्ने काँग्रेस महामन्त्रीको यो प्रयासलाई कदापि सामान्य रूपमा लिन सकिन्न ।

समग्रमा भारतीय दक्षिणपन्थी हिन्दुवादको वैचारिक वर्चस्वबाट प्रभावित समूहले भुँइतहमा अल्पसङ्ख्यक मुस्लिम र क्रिश्चियन समुदायविरुद्ध हिंसात्मक दमनको माग गर्छ । त्यसको पृष्ठभूमि बनाउँदै धार्मिक दङ्गा फैलाउने प्रयास गर्छ । अर्कोतिर कथित वामपन्थी या कम्युनिस्ट पार्टीदेखि उदारवादी काँग्रेस पार्टीसम्म भित्रभित्रै हिन्दुवादी राजनीतिको विष घोल्दै लान्छन् । अहिले त्यही भइरहेको छ ।

काँग्रेसी वृत्तबाट उठेको यो आवाज पनि प्रकारान्तरले ज्ञानेन्द्र शाहको जस्तै प्रतिगामी विचारको पक्षमा छ । यसको भण्डाफोर गर्नु आवश्यक छ । किनभने, धर्मका नाममा हुने प्रतिगमनले प्रकारान्तरले लोकतन्त्रलाई समाप्त पार्छ भन्ने कुरा भारतमा भइरहेका फासिस्ट व्यवहारले सिद्ध गरेका छन् । हामी हाम्रो लोकतान्त्रिक स्पेस खुम्चन दिनु हुन्न भन्ने मान्यता राख्छौँ । हामी कमसेकम उदारवादी खुला समाज कायम रहनुपर्छ भन्नेमा दृढ छौँ । हिन्दुवादी राजनीतिको हावा चल्न थाल्यो भने त्यसले पहिले खाने भनेको नै लोकतन्त्र र खुला समाजका उदारवादी मूल्यहरूलाई हो । सबै खाले प्रतिगमनको नाश होस् !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register