विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा सम्लग्न भएका हुन्। अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यवसायिक रूपमा माछापालन गरिरहेको उनले बताए । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उनले जानकारी दिए । आफ्नै ठाउँमा परिवारसँग […]

Jun 3, 2025 - 05:01
 0
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा सम्लग्न भएका हुन्।

अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यवसायिक रूपमा माछापालन गरिरहेको उनले बताए । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उनले जानकारी दिए । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताए ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उनले बताए। आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनले सुनाए ।

“धेरै युवामा विदेशप्रति मोह बढेको देखिन्छ, तर विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु । त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ”, उनले भने ।

माछापालनसँगै यहाँ व्यावसायिक कुखुरा र बङ्गुर गर्ने योजनाका साथ काम गरिरहेको उनले बताए । व्यवसायबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको तामाङले बताए । पहाडी क्षेत्रका पोखरीबाट उत्पादन भएको माछा बजारमा प्रतिकेजी रु छ सय ५०देखि रु सात सयमा बिक्री हुने उनले बताए ।

भोजपुर–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार व्यवसायमा लाग्ने युवाहरूलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यवसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको छ । किसानलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भइरहको छ । किसानलाई प्रोत्साहन गर्न वडाले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । उनीहरूका व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएका छौँ ।

भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानले व्यावसायिक माछापालन, तरकारीखेती तथा नगदेबालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताए । किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register