निस्फिक्री नेपाली !

जबसम्म हामी वास्तविक समस्याहरूको सामना गर्दैनौँ, हामीलाई यो प्रवृत्ति निरन्तर निराशाजनक परिणाममा पुर्याउन सक्छ । जसका कारण विभिन्न स्वरहरू हामीले सडकमा सुन्न पाइरहेका छौँ । त्यसको मूल कारण भनेको ’डेलिभरी’ नभएर हो ।

Jun 4, 2025 - 06:19
 0
निस्फिक्री नेपाली !

पछिल्लो वर्ष म दुईपटक पूर्वी अफ्रिकी देश केन्या पुगेँ । प्रकृतिप्रेमीका लागि यो साँच्चिकै गजब ठाउँ हो । विशाल घाँसे मैदानहरू, ठूल्ठूला संरक्षित निकुञ्जहरू । ‘द बिग फाइभ’ (सिंह, हात्ती, चितुवा, गैंडा, र जंगली भैंसी) को रोमाञ्चक उपस्थिति । आफैँमा प्रशंसायोग्य, जीवन्त र संरक्षित केन्याको वन्यजीवन अहिले पनि मेरो स्मृतिमा ताजै छ ।

यी सबै कुराभन्दा बढी मलाई एक वर्षदेखि ‘हाकुना मटाटा’ भन्ने शब्द मेरो दिमागमा घुमिरहेको छ । यो शब्द पूर्वी अफ्रिका, तान्जानिया र केन्यामा खुब प्रयोग हुँदो रहेछ । ‘हाकुना मटाटा’ एउटा स्वाहिली शब्द हो । जसको अर्थ, ‘कुनै चिन्ता छैन’ भन्ने हुन्छ । यो शब्द १९९४ मा रिलिज भएको डिज्नीको ‘द लायन किंग’ फिल्ममार्फत विश्वभर चर्चित भएको हो । फिल्ममा, यो शब्द एक प्रकारको जीवनदर्शनको रूपमा प्रस्तुत गरिन्छ । जहाँ पात्रहरू समस्यालाई पराजित गर्दै जीवनको रमाइलो र खुसी खोज्छन् । यसमा जीवनका चुनौतीहरूलाई सरल रूपमा लिने र चिन्ता नगरी जिउने विचार प्रस्तुत गरिएको छ ।

‘हाकुना मटाटा’ र नेपाली समाज तथा राज्यको निस्फिक्री सोंचको बारेमा म केही उदाहरण दिएर यो लेख प्रस्तुत गर्न चाहन्छु ।

व्यक्तिगत जीवनमा निस्फिक्रीपन

हाम्रो सामाजिक व्यवहारमा यो प्रवृत्तिको प्रतिविम्ब दिनहुँ देखिन्छ । म प्रायः क्याफेमा गएर काम गर्न रुचाउँछु । क्याफे एक सार्वजनिक स्थल हो, जहाँ मान्छेहरू आउनु, बातचित गर्नु सामान्य कुरा हो । अधिकांश मान्छेहरू क्याफेभित्र अरू पनि मान्छे छन् भन्ने सामान्य ख्यालसमेत नगरी मोबाइलकै ह्यान्ड्स फ्रीमा कुरा गरिरहन्छन् । सायद, अर्को मान्छेलाई थाहा पनि छैन कि म ह्यान्ड्स फ्रीमा कुरा गरिरहेको छु । क्याफेमा भने सबैले उसको दुवैतर्फको कुरा सुनिरहेका हुन्छन्, तर कुरा गर्नेलाई कुनै प्रवाह छैन । बिना इयरफोन अरूलाई आफूले के सुनिरहेको छु भनेर सुनाउनका लागि हो कि के हो, सबैलाई सुन्ने गरी चर्को स्वरमा  बजाउनु त अधिकार नै सम्झन्छन् होला सायद ! यो नेपालीको निस्फिक्रीपन को सामान्य उदाहरण हो ।

यस्ता उदाहरण लेख्ने हो भने नेपाली सबैले एक–एक किताब लेख्न सक्छन् । ‘मैले गरेको कामले अरूलाई असर पारेको पो छ कि’ भनेर नेपालीले किन सोच्दैनन् ? सार्वजनिक स्थानमा मर्यादाहीन व्यवहार गर्नु, पालो मिच्नु वा कानुन पालना नगर्नुजस्ता गतिविधिले हामी कसरी ‘जे गरे पनि हुन्छ’ भन्ने निस्फिक्री मानसिकताबाट ग्रसित छौँ भन्ने स्पष्ट पार्छ ।

समाजको मौनताः न्यायको उपहास

नेपाली समाजमा निस्फिक्रीताको घातक रूप तब देखिन्छ जब सामूहिक बलात्कारजस्ता गम्भीर अपराधहरूलाई पनि पञ्चायती मिलापत्रमार्फत मिलाउने प्रयास हुन्छ । गत माघ २७ गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु कुमारी सदा शौच गर्न बाहिर निस्केकी थिइन् । त्यस रात उनी तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताइन् । २९ र ३० गते गाउँमा पञ्चायत बस्यो, घटना मिलाउन लेनदेनको प्रयास भयो । बलात्कार हुनु, छुवाछुतको गाली बेइज्जती हुनु, प्रहरी प्रशासन दुई दिनसम्म नआइपुग्नु अनि तेस्रो दिन उनको शंकास्पद मृत्यु हुनु ।

बलात्कारजस्तो आपराधिक घटनामा अझै पनि समाज पञ्चायत बसेर मिलाउने प्रयास गर्छ । किन ? के गरिब, दलित, वा न्यायसम्म पहुँच नभएका मानिसहरूमाथि जे गरे पनि हुन्छ भन्ने सोच हाम्रो समाजमा गडिएको छ ? यही हो हाम्रो निस्फिक्री समाज को प्रतिनिधि उदाहरण । नवराज विक र उनका साथीहरूको हत्या, र अहिले रिंकुको मृत्यु– यी सबैले देखाउँछन् कि हाम्रो समाज अझै दमन, अन्याय, र मौनताको चक्रव्यूहमा फसिरहेको छ । नवराज विकको हत्या पाँच वर्षअघि भयो, तर आज पनि उनकी आमा न्यायको खोजीमा छन् । रिंकुकी आमा पनि जेठ १० गते माइतीघर मण्डलामा न्याय माग्न आइपुग्नु परेको छ । उहाँहरू भन्नुहुन्छ ‘अब हामीसँग आशा र आँसु मात्रै छ’ । किन नेपाली समाज उहाँहरूको आँसु देख्दैन ? यी घटना प्रतिनिधि उदाहरण हुन्, हामी कस्तो समाज बनाइरहेका छौँ ? हामीले के सिकेका छौँ ? नेपाली समाजका लागि यी साना तर अहम् प्रश्नहरू हुन् ।

राज्यको लाजमर्दो निस्फिक्रीपन

अब अलिकति राज्यको कुरा गरौँ ।

मानव बेचबिखनजस्तो अन्तर्राष्ट्रिय मुद्दामा, भुटानी शरणार्थी काण्डदेखि भर्खरै एअरपोर्टको बारेमा जुन समाचार आयो, यो आफैँमा नेपाली राज्यको लाजमर्दो स्थिति हो । आफ्नै नागरिकको बेचबिखन गर्नु भनेको मनमानी मात्रै होइन, संसारको सामु नेपालको शिर निहुराउनु हो । तर, पनि राज्य संवेदनशील भएको पटक्कै देखिँदैन । यी विषय खाली विरोध र बचाउको सवाल हुनु आफैँमा दुःखलाग्दो र लाजमर्दो विषय हो ।

भर्खरै बीबीसीमा एउटा समाचार आयो– क्यानडाबाट अमेरिका प्रवेश गर्ने क्रममा हिमपातमा परेर एक भारतीय परिवारको मृत्यु भएको घटनामा दुई जनालाई सजाय तोकिएको छ । जगदीश पटेल (३९), उनकी श्रीमती वैशालीबेन (३७) र उनीहरूका दुई छोराछोरी (११ वर्षीया विहंगी र तीन वर्षीय धार्मिक) को शव जनवरी २०२२ मा फेला परेको थियो । शिक्षक दम्पती र उनीहरूका छोराछोरी अमेरिका प्रवेश गर्ने क्रममा हिमपातमा परेका थिए, जहाँ तापक्रम माइनस ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । प्रहरीले अनुसन्धान गर्दा यो घटना मानव बेचबिखनको ठूलो सञ्जालको एउटा पाटो भएको खुल्यो ।

यसरी अवैध बाटो जाने नेपालीहरू बाटोमै बितेको खबर हामीले पनि सुनेका छौँ, तर नेपाली राज्यले न न्यायका लागि पहल गरेको छ न त आफ्नै एअरपोर्टमा आइरहेको यस्तो समाचारको निष्पक्ष छानबिन गरेर जनतालाई आश्वस्त पार्न सकेको छ । यो संसारको अगाडि नेपालको लज्जाको विषय हो । साथै, अपराध पनि हो । यस्तो भएपछि युवाहरूले नेपालमा सम्भावना देख्दैनन् । उच्च शिक्षित युवाहरू विदेश जानुमा गर्व गर्छन्, देशभित्र संघर्ष गर्नुमा रुचि देखाउँदैनन् । जसले गलत देख्छ, उसले बोल्दैन । बोल्ने कोसिस गर्छ, तर सुनिँदैन । समस्या पहिचान हुन्छ, तर समाधानको खोजी छैन । यो अवस्थाले युवाहरूमा व्याप्त निराशा र पलायनको भावलाई संकेत गर्छ । देश निर्माणमा युवाको सक्रिय सहभागिता हुनुपर्नेमा उनीहरूको यो मौनता र पलायनले थप जटिलता सिर्जना गरेको छ, तर हाम्रो राज्य निस्फिक्री छ । अरुलाई दोष थोपरेर आफू चोखो बन्ने प्रयासमा छ ।

राजनीतिक नेतृत्वमा ‘हाकुना मटाटा’ : निर्लज्जताको पराकाष्ठा

राजनीतिक नेतृत्वमा पनि यस्तै ‘निस्फिक्री मानसिकता’ हावी छ । एउटै नेता पटक–पटक सांसद, मन्त्री, प्रधानमन्त्री बनेका छन्, तर बेरोजगारी, स्वास्थ्य, शिक्षा, सडकमा प्रगति छैन । असमानता बढेको छ, बजेट आउँछ, योजना घोषणा हुन्छ, तर कार्यान्वयन न्यून हुन्छ । जनताको आवाज सुन्नेभन्दा चुनावी रणनीति र पदको लोभ बढी देखिन्छ, तर पद पाएपछि के गर्ने कुनै भिजन छैन । यस्तो अवस्थामा ‘सबै ठीकै छ’ भन्नु हाकुना मटाटा होइन, यो त निर्लज्जता हो । जनताका आधारभूत आवश्यकता र देशको दीर्घकालीन विकासप्रति उदासीन रहँदै आफ्नो स्वार्थ मात्र हेर्ने प्रवृत्तिले मूल विषयमा राजनीतिक नेतृत्वको निस्फिक्रीता अचम्मकै छ ।

मूल काम एकले अर्कोलाई गाली गर्ने होइन, देशको भ्रष्टाचार, अव्यवस्था र सबै खाले विभेदको अन्त्यका लागि काम गर्ने हो भने सोच र व्यवहार कहिले आउने हो ? न कि आफू कसरी फेरि पदमा पुग्ने हो भनेर निस्फिक्री सोचिरहने हो ?

मूल काम एकले अर्कोलाई गाली गर्ने होइन, देशको भ्रष्टाचार, अव्यवस्था र सबै खाले विभेदको अन्त्यका लागि काम गर्ने हो भने सोच र व्यवहार कहिले आउने हो ? न कि आफू कसरी फेरि पदमा पुग्ने हो भनेर निस्फिक्री सोचिरहने हो ?

निष्कर्षः परिवर्तन कहिले ? कसले ?

हामीले अब बुझ्नैपर्छः जनताले प्रश्न गर्नुपर्छ, नेताले उत्तरदायित्व लिनुपर्छ, युवाले संघर्ष गर्नुपर्छ, र समाजले आत्ममूल्यांकन गर्नुपर्छ । ‘हाकुना मटाटा’ भन्ने शब्द प्रेरणा बन्न सक्छ, तर त्यसका लागि नागरिक, समाज र राज्यको सोच र व्यवहार मा रूपान्तरण आवश्यक छ । नत्र, यो शब्द हामी नेपालीका लागि प्रेरणा होइन, व्यंग्य मात्र बन्नेछ ।

जब यो सन्देशको सन्दर्भमा हामी नेपालको समाज र विशेष गरी नेपाली युवाहरूको स्थिति सम्झन्छौं, तब केही गहिरो प्रश्न उठ्छ । के हामी नेपालीहरूले जीवनमा वास्तविक समस्याहरूसँग जुझ्नको सट्टा ‘हाकुना मटाटा’ को मानसिकता अपनाएका छौँ ? के हाम्रो देशको वर्तमान अवस्थामा हामीलाई कुनै चिन्ता छैन, जब नेपालीहरूको भविष्य अनिश्चित छ ? त्यसैले, ‘हाकुना मटाटा’ केवल एक सकारात्मक दृष्टिकोण मात्र होइन, यो हामीलाई हाम्रो जिम्मेवारी र कार्यप्रति सचेत गराउने एउटा चेतावनी पनि हो ।

जबसम्म हामी वास्तविक समस्याहरूको सामना गर्दैनौँ, हामीलाई यो प्रवृत्ति निरन्तर निराशाजनक परिणाममा पुर्‍याउन सक्छ । जसका कारण विभिन्न स्वरहरू हामीले सडकमा सुन्न पाइरहेका छौँ । त्यसको मूल कारण भनेको ’डेलिभरी’ नभएर हो ।

‘हाकुना मटाटा’ भन्नुको मतलब यो होइन कि हामी समस्याबाट भाग्छौँ, बरु यसको अर्थ यो हो कि हामी समस्याको सामना गर्दै समाधान गर्न सक्रिय र सृजनशील उपायहरू खोज्छौँ । यो स्वाहिली शब्द हो, जसको अर्थ हुन्छ– ‘कुनै चिन्ता छैन ।’ यो केवल एउटा अभिव्यक्ति होइन, त्यहाँको जीवनशैलीको प्रतिबिम्ब हो–जहाँ समस्याहरूलाई हल्का ढंगले लिँदै समाधानतर्फ सोच्ने प्रयास गरिन्छ । तर, नेपाल फर्किएपछि मलाई लाग्यो– हामी अझैँ निस्फिक्री छौँ, निस्फिक्री नै रहनेछौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register