दैलेखको माटोमुनि ५० वर्षसम्म पुग्ने ग्यासको खानी

काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरतातर्फको यात्रामा ऐतिहासिक पाइलाका रूपमा दैलेखको जलजले क्षेत्रले राष्ट्रिय ध्यान तानेको छ । चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालनमा आएको यस क्षेत्रको ग्यास उत्खनन कार्यले हालसम्म १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको निष्कर्ष निकालेको छ । प्रारम्भिक अध्ययनकै आधारमा विशेषज्ञहरूले उक्त ग्यासले नेपाललाई आगामी ५० वर्षसम्मको खपत धान्न सक्ने सम्भावना […]

Jun 20, 2025 - 02:11
 0
दैलेखको माटोमुनि ५० वर्षसम्म पुग्ने ग्यासको खानी

काठमाडौं ।

नेपालको ऊर्जा आत्मनिर्भरतातर्फको यात्रामा ऐतिहासिक पाइलाका रूपमा दैलेखको जलजले क्षेत्रले राष्ट्रिय ध्यान तानेको छ । चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालनमा आएको यस क्षेत्रको ग्यास उत्खनन कार्यले हालसम्म १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको निष्कर्ष निकालेको छ ।

प्रारम्भिक अध्ययनकै आधारमा विशेषज्ञहरूले उक्त ग्यासले नेपाललाई आगामी ५० वर्षसम्मको खपत धान्न सक्ने सम्भावना औंल्याएका छन् । नेपाल सरकार र चीन सरकारबीच यससम्बन्धी सहकार्यका लागि २०७५ सालको भदौमा समझदारी भएको थियो । सोही समझदारीको आधारमा प्रारम्भिक भूगर्भीय अध्ययन तथा सम्भाव्यता मूल्यांकन शुरू गरिएको थियो । उक्त सर्वेक्षणका आधारमा २०७६ सालको असोज–कात्तिकमा जलजले क्षेत्रमा पहिलो चरणको भौगर्भिक परीक्षण गरिएको थियो ।
२०७९ साल असार महिनादेखि औपचारिक रूपमा ड्रिलिङ कार्य शुरू गरिएको थियो । चिनियाँ इन्जिनियरहरूको २० सदस्यीय टोली र ४५ जना नेपाली प्राविधिकहरू सम्मिलित संयुक्त प्रयासमा अहिलेसम्म ४,०१२ मिटर गहिराइसम्म ड्रिल गरिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितका अनुसार त्यहाँबाट लिइएको गहिराइको नमुना चीनमा परीक्षणका लागि पठाइएको थियो । त्यसको नतिजाले ग्यासको गुणस्तर र व्यावसायिक प्रयोगको सम्भाव्यता पुष्टि गरेको छ । उहाँले भन्नुभयो– ‘प्रारम्भिक अनुमानअनुसार जलजलेमा पाइएका ग्यास भण्डारले आगामी पाँच दशकसम्म नेपाललाई आत्मनिर्भर बनाउन सक्ने प्रबल सम्भावना देखिएको छ ।’

उहाँका अनुसार अबका तीनदेखि छ महिनाभित्र थप परीक्षण, प्रशोधन संयन्त्रको तयारी र पूर्वाधार विकास कार्य अघि बढाइनेछ । ‘हामी ग्यास प्रशोधन संयन्त्र, वितरण प्रणाली र पाइपलाइन संरचनाको योजनाको तयारीमा छौं’, उहाँले भन्नुभयो– ‘यसका लागि अन्तर्राष्ट्रिय लगानी र साझेदारलाई आकर्षित गर्ने योजना बनाउन शुरू गरेका छौं ।’

जलजले मात्र होइन, अन्य क्षेत्रमा पनि सम्भावना
जलजले मात्र होइन, नेपालका विभिन्न स्थानमा पनि प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिँदै आएको छ । मुस्ताङको मुक्तिनाथ क्षेत्र, दैलेखको पञ्चकोसी क्षेत्र (टौदह, सिरिस्थान, नविस्थान–पडुकास्थान), मोरङको बहुनी क्षेत्र र चुरे–तराई क्षेत्रहरूमा विगतमा सर्वेक्षण गरिएको छ ।

मुक्तिनाथमा भूगर्भीय सम्भावना देखा परे पनि गहिरो उत्खनन गरिएको छैन । मोरङको बाहुनीमा करिब ३,५०० मिटर गहिराइसम्म ड्रिल गरिएको भए तापनि त्यहाँ व्यावसायिक रूपमा उपयोग गर्न मिल्ने ग्यास फेला परेको थिएन । चुरे तथा तराईका भू–भागहरूमा पनि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूमार्फत सम्भाव्यता अध्ययन भइसकेको छ ।

सामरिक, आर्थिक र रणनीतिक महत्व

जलजले खानीको विकाससँगै नेपालले इन्धनको क्षेत्रमै ‘गेम चेन्जर’ अवसर पाउने संकेत देखिएको छ । हालसम्म भारतबाट पूर्णरूपमा आयात हुने ग्यासको विकल्पस्वरूप घरेलु उत्पादनले नेपाललाई आर्थिक लाभ दिने होइन, क्षेत्रीय ऊर्जा रणनीतिमा पनि नेपाललाई स्वतन्त्र बनाउने सम्भावना देखिएको छ ।

भू–राजनीतिक विश्लेषकहरूले नेपालमा ग्यास उत्पादन शुरू भएमा भारतले यसलाई चासोपूर्वक हेर्ने बताएका छन् । एकातिर भारतले क्षेत्रीय प्रभुत्व कायम राख्न खोजिरहेको बेला अर्कातिर चीनको प्रविधि र सहयोगमार्फत नेपालले ऊर्जा क्षेत्रमै आत्मनिर्भरतातर्फको ठूलो फड्को मारेको संकेत यो परियोजनाले दिएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार जलजलेमा अबको चरण ग्यास प्रशोधन संयन्त्र स्थापनाका लागि पहल अघि बढेको छ । यसका लागि सम्भावित लगानीकर्ताको खोजीका लागि नेपाल सरकारले कूटनीतिक पहल शुरू गरेको छ ।
नेपालले अब ग्यास निर्यात सम्भावनासमेत अध्ययन गर्नुपर्छ, विभागका एक उच्च अधिकारीले भने– ‘नेपालजस्तो मुलुकका लागि यो ग्यासले केवल आर्थिक होइन, रणनीतिक सन्तुलन पनि ल्याउनेछ ।’

‘अब केही महिनाभित्र ग्यास उत्पादनको व्यावसायिक प्रक्रियामा नेपाल प्रवेश गर्ने सम्भावना प्रबल देखिएको छ । यदि, योजनाअनुसार सबै पूर्वाधार निर्माण र व्यवस्थापन समयमै सम्पन्न भयो भने जलजलेबाट ग्यास उत्पादन शुरू हुने दिन टाढा छैन’ –विभागका ती अधिकारीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register