रुरुक्षेत्रको बजेट : बिजुली ‘फ्री’देखि घर-घरमा खानेपानीको धारासम्म

बुटवल । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १८औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष मीनादेवी गौतमले बजेट प्रस्तुत गर्दै चालुतर्फ ३६ करोड ९५ लाख ६९ हजार (६६.३९%) र पुँजीगत तर्फ १८ करोड ७० लाख ५० हजार (३३.६०%) सहितको बजेट ल्याएको जानकारी […]

Jun 25, 2025 - 12:07
 0
रुरुक्षेत्रको बजेट : बिजुली ‘फ्री’देखि घर-घरमा खानेपानीको धारासम्म

बुटवल । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिकाको १८औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष मीनादेवी गौतमले बजेट प्रस्तुत गर्दै चालुतर्फ ३६ करोड ९५ लाख ६९ हजार (६६.३९%) र पुँजीगत तर्फ १८ करोड ७० लाख ५० हजार (३३.६०%) सहितको बजेट ल्याएको जानकारी दिइन् ।

बजेटमा कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, स्वास्थ्य , शिक्षा, रोजगारी ,पूर्वाधार निर्माण ,पर्यटन, छुवाछुत मुक्त वडा घोषणा, सामाजिक समावेशीकरणको नीतिसहित गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने विषयहरु मुख्य प्राथमिकतामा परेका छन् ।

शिक्षामा सबै बालबालिकाको पहुँच पुर्‍याइ गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले २ करोड ६४ लाख ४२ हजार रकम विनियोजन गरको छ । कक्षा ४ देखि ९ सम्मको परीक्षा पालिकास्तरीय सञ्चालन गर्न ७ लाख, विद्यालयहरुमा कार्यरत महिला शिक्षकहरु प्रसूति बिदामा रहेको समयमा सट्टा स्वयंसेवक शिक्षक व्यस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

कार्य सम्पादनमा आधारित प्र.अ. प्रोत्साहन भत्ताको लागि ४ लाख ८० हजार, स्मार्ट शिक्षण विधिको लागि १८ लाख, गाउँपालिकाका युवाहरुलाई सरकारी सेवामा प्रोत्साहन गर्न नि:शुल्क लोकसेवा/शिक्षकसेवा आयोगका परीक्षा तयारी कक्षा सञ्चालन गरिने उपाध्यक्षको बजेट वक्तव्य उल्लेख रहेको छ ।

त्यस्तै, विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम, जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका लागि घर घरमा स्वास्थ्य सेवा प्रवाह प्रसूति महिला तथा असाहय र ‘क’ वर्गको अपाङ्गता भएका नागरिकहरुलाई स्वास्थ्य उपचारको लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था, मासिक १ हजारका दरले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पेन्सन योजना कोषको व्यवस्थाको साथै सञ्चार र यातायात खर्च दिनेछ ।

नागरिकहरुलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन घर-घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनको लागि ७ लाख, स्त्रीरोग तथा अन्य विशेषज्ञ शिविर सञ्चालनको लागि ७ लाख रुपैयाँ, नागरिकहरुलाई आँखा उपचारको लागि रिडीमा स्थापना गरिएको प्राथमिक आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग गर्नुका साथै गाउँपालिकाका नागरिकहरुको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियाका लागि पालिकाले विशेष पहल गर्ने जनाएको छ भने गाउँपालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्धतासहित सम्पूर्ण स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि १ करोड १३ लाख ८६ हजार रकम विनियोजन गरिएको छ भने १५ शय्याको अस्पताल सञ्चालनका लागि १ करोड १० लाख रकम रहेको उपाध्यक्ष गौतमले बताइन् ।

त्यस्तै, गाउँपालिकाका सबै नागरिकलाई विद्युत् सेवाको सुनिश्चित गर्न न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल गाउँपालिकाबाट भुक्तानी गर्न १३ लाख, महिला, दलित, आदिवासी जनजाति, एकल नागरिकलगायत लक्षित समूहका कार्यक्रम सञ्चालनको लागि २१ लाख ४० हजारको बजेट छुट्याइएको छ । ज्येष्ठ नागरिकहरुलाई देशका विभिन्न धार्मिक स्थलहरुको भम्रण गराउन ५ लाख बजेट छ्ट्याएको छ ।

महिलाहरुको जिवनस्तर सुधार गर्न सीप विकास तालिम सञ्चालन, जातीय छुवाछुत मुक्त दिवस र छुवाछुत मुक्त वडा घोषणाका लागि अभियान सञ्चालन गर्न विशेष बजेटको व्यवस्थासमेत गरेको छ ।

पालीकाले ‘एकघर एकधारा ’कार्यक्रम पूर्ण रुपमा सम्पन्न गरी सबै नागरिकको घरघरमा खानेपानीको सेवा उपलब्ध गराउन २ करोड २० लाख बजेट छुट्याएको छ भने नागरिकलाई सर्वसुलभ रुपमा खानेपानी उपभोग गर्न समुदायस्तरमा सञ्चालनमा रहेका लिफ्टिङ्ग खानेपानीको विद्युत् महसुलमा अनुदान दिइ नागरिकले हाल प्रयोग गरिरहेको खानेपानीमा सहुलियत दिनेछ ।

‘एक वडा एक उत्पादन ’कार्यक्रम सञ्चालन, कृषक सम्मान कार्यक्रमक, निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन, उत्पादनमा आधारित अनुदानको लागि २३ लाख , युवा उद्यम कार्यक्रम सञ्चालनको लागि १० लाख, लागत साझेदारीमा रुरु कृषि परियोजना सञ्चालनको लगायत कृषि तथा पशु विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनको लागि १ करोड २२ लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै, वडामा रहेका विभिन्न पूर्वाधारहरु निर्माणको लागि वडामार्फत खर्च हुने गरी २ करोड बजेट ल्याएको छ । आव ०८२/०८३ मा वडा पहुँच मार्गहरुलाई कालोपत्रे गर्न ८ करोड ४२ लाख, स्थानीय पूर्वाधार विकास सहयोग कार्यक्रमअन्तर्गत धोबीघाट–रिमुवा–रुद्रवेणी बाटो कालोपत्रे वडा नं. ६ पहुँच मार्ग ३ करोड २५ लाख र वडामा अन्य पूर्वाधार निर्माणको लागि ७५ लाख गरी ४ करोड र कोल्डस्टोरको निर्माण सम्पन्न गर्न  ५० लाख बजेट छुट्याइएको छ ।

प्राकृतिक प्रकोपहरु जस्तै – बाढी, पहिरो, आगलागी तथा विभिन्न महामारी रोगको रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोष स्थापना गर्न ३५ लाख, ‘हाम्रो टोल राम्रो टोल’ भन्ने अभियान सञ्चालन गरी सार्वजनिक संरचनाहरुको संरक्षण गर्दै वडा कार्यालयको सहयोगी संस्थाको रुपमा गठन भएका टोलविकास संस्थाको सुदृढीकरण गर्न, वन्यजन्तुबाट कृषकहरुको कृषि उपजहरुको संरक्षण गर्न गाउँपालिकाका सबै वडामा परिचालन गर्ने गरी रोजगार कार्यक्रम सञ्चालनको लागि रु १७ लाख, खेलकुद क्षत्रमा उत्कृष्टता हासिल गर्न पालिकास्तरीय खेल शिक्षकको व्यवस्थासहित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई थप प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गरी समग्र खेलकुद क्षेत्रलाई चलायमान गराउन ४ लाख रकम बजेट छुट्याइएको उपाध्यक्ष गौतमले जानकारी दिइन् ।

रुरुक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार विगतमा भन्दा योपटक योजना, कार्यक्रम र बजेट प्रत्यक्षरुपमा नागरिकले अनुभूति गर्न लायकका छन् । ‘समाजमा रहेका विभेद अन्त्यका लागि सरकार, सरोकारवाला, निकाय, लक्षित समुदाय र धर्म गुरुहरुलाई राखेर सामाजिक अन्तरघुलन अभियान सञ्चालन गर्ने हो,’ उनले भने, ‘पालिकाभित्र रहेका नागरिकहरुलाई सभ्य र आत्मसम्मानसहित बाँच्ने आधार निमार्णका लागि पहल गर्नेछौं ।’

‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गरि जनतासँग प्रत्यक्षरुपमा जोडिएर विगतका योजनाहरुलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा मानवीय विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

‘विगतमा भौतिक विकासमा जोड दिएका थियौं, अब मानवीय विकासका लागि स्थानीय आर्थिक उत्पादनमा जोड दिएका छौं,’ उनले भने । लघु उद्योगहरु सञ्चालन तथा व्यवस्थापनको औद्योगिकग्राम निर्माण, ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको प्रवर्धनसँगै होमस्टे सञ्चालन गर्ने योजनासहित बजेटको उचित प्रबन्ध मिलाएको ज्ञवालीले बताए ।

पालिकाले सबै क्षेत्रसँग समन्वय र सहकार्य गरेर बजेट ल्याएको हुँदा कार्यान्वयनमा समस्या नहुने उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register