कति उपयुक्त छ प्रधानमन्त्री ओलीले भनेझैं ‘तीन बच्चा नीति’ ?

तीन बच्चा उच्च मध्यम तथा उच्च वर्गको दम्पतिका लागि मात्र सम्भव हुन सक्दछ, जोसँग पारिवारिक बचत धन र स्थापित व्यवसाय हुन्छ । निम्न मध्यम र निम्न वर्गका लागि ‘तीन बच्चा नीति’ एक त असम्भव हो, अन्यथा अभिशाप सिद्ध हुन सक्दछ ।

Jul 13, 2025 - 07:24
 0
कति उपयुक्त छ प्रधानमन्त्री ओलीले भनेझैं ‘तीन बच्चा नीति’ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले युवायुवतीलाई ‘२० वर्षमै विवाह गर्न र ३० वर्ष पुग्दानपुग्दै ३ वटा बच्चा जन्माइसक्न’ सार्वजनिक आग्रह गरे । गत शनिबार अन्तर्राष्ट्रिय युवा दिवसको एक कार्यक्रममा बोल्दै उनले भने, ‘सकेसम्म २० वर्षपछि बिहे गरिहाल्नु, छोराछोरी ३ वटा बनाउनु । ३० वर्षभित्र ३ वटा छोराछोरी बनाऊ, अनि काममा लाग । हाम्रा युवायुवती अचेल के गीत गाउँछन् भने – ४० कटेसी रमाउँला । ४० पछि महिलाहरुको फर्टिलिटी रेट अत्यन्त कम हुन्छ, प्रायः हुँदैन । त्यसकारण २० वर्षपछि बिहे गर, सन्तान बनाऊ, त्यसमा प्रेरित गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ युथहरुलाई । यो सिरियस कुरा हो । जतिबेला प्रजनन क्षमता बढी हुन्छ, त्यतिखेरै जन्माउनुपर्छ, हुर्काउनुपर्छ ।’

यस्तो नीतिबाट देशमा ‘उपयोगी जनसांख्यिक स्थिति मौजुद हुने’ उनको विश्वास छ । यसले के प्रष्ट गर्दछ भने प्रधानमन्त्री ओली देशका लागि ‘तीन बच्चा नीति’को ‘जनसांख्यिक स्थिति’ उपयोगी हुने विश्वास गर्दछन् ।

यसअघि कुनै जिम्मेवार पदमा रहेका व्यक्तिले यस्तो आग्रह गरेका थिएनन् । दशकौंदेखि ‘दुई बच्चा नीति’को पक्षमा पैरवी हुने गरेको थियो । सरकारी निकायले ‘दुई सन्तान, ईश्वरका वरदान’ नारा नै लगाउने गरेका थिए । तर, समाज भने बिस्तारै स्वफूर्त ‘एक बच्चा’तिर प्रवृत हुँदै गइरहेको छ । प्रधानमन्त्रीको त्यस्तो आग्रह देशमा जनसंख्या कम हुँदै गएको निष्कर्षमा आधारित हुनुपर्दछ । यो धारणा कति सही हो वा गलत ? निष्कर्षमा पुग्न अघि केही तथ्य केलाउने प्रयत्न गरौं ।

शताब्दीको जनसांख्यिक इतिहास

नेपालमा वि.सं. १९६८ देखि जनगणना सुरु भएको हो । प्रत्येक १०/१० वर्षमा हुँदै आएको २०७८ को १२औं जनगणना हो । औपचारिक जनसांख्यिक तथ्यांक उपलब्ध हुन थालेको ११४ वर्ष मात्र भयो ।

वि.सं. १९६८ मा पहिलो जनगणना हुँदा देशको कुल जनसंख्या ५६ लाख ३८ हजार ६४९ थियो । पहिलो जनगणना भएको हुँदा जनसंख्या घटेको हो वा बढेको थाहा हुने कुरा भएन । तर, त्यसपछिका दुई जनगणनामा निरन्तर ऋणात्मक वृद्धिदर देखिएबाट जनसंख्या घट्ने क्रममा थियो कि भन्ने अनुमान गर्न सकिन्छ । वि.सं. १९७८ मा दोस्रो जनगणना हुँदा जनसंख्या वृद्धिदर ०.१३ प्रतिशतले ऋणात्मक देखियो । अर्थात् १० वर्षमा जनसंख्या घटेर ५५ लाख, ७३ हजार ७८८ मात्र बाँकी थियो । वि.सं. १९८८ मा तेस्रोमा हुँदा ०.०७ ले ऋणात्मक थियो भने कुल जनसंख्या ५५ लाख ३२ हजार ५७४ थियो ।

यदि पहिलो जनगणना अघिको प्रवृति पनि यस्तै थियो भनेर मान्ने हो भने विक्रम सम्वत्‌को पछिल्लो शताब्दीमा ३० वर्ष निरन्तर जनसंख्या घटेको थियो । यसको कारण के थियो होला ? निसन्देह महामारी, रोग, बसाइँसराइ, उच्च मातृ तथा शिशु मृत्युदरजस्ता कारण थिए होलान् । त्यतिखेर देशभित्र आन्तरिक युद्ध नभए पनि लाहुर जाने प्रचलनले युद्ध प्रभाव परेको हुन सक्दछ । एजिङ इफेक्ट (बुढ्यौली जनसंख्या छोटो अवधिमै निधन हुने प्रक्रिया ) त्यो बेला अवश्य थिएन । किनकी औसत आयु नै ४० वर्षभन्दा माथि थिएन ।

विश्व परिवेश र प्रवृतिसँग तुलना गर्दा पनि यो स्थिति मिल्दोजुल्दो नै छ । पहिलो विश्वयुद्धको पृष्ठभूमिदेखि र दोस्रो विश्व युद्धसम्म विश्वमै पनि जनसंख्या घट्ने प्रवृति थियो । प्लेग, विफरलगायतका रोगको महामारी थियो। नेपालमा विफर, दादुरा, हैजा, औलो आदि रोग व्यापक थिए ।

नेपालमा वि.सं. १९८८ मा भएको चौथो जनगणनादेखि वृद्धिदर धनात्मक देखिएको हो । यसपटक वृद्धिदर १.१६ र कुल जनसंख्या बढेर ६२, ८३, ६४९ पुगेको थियो । यतिखेरसम्म समाजमा आधुनिकीकरण प्रभावको कारण सामान्य स्वास्थ्य सेवा तथा औषधि प्राप्त हुन सुरु भएको थियो । वि.सं. २००८ मा २.३० प्रतिशत र २०१८ मा १.६४ वृद्धिदर भए पनि वि.सं. २०२८ सालको सातौं जनगणनाबाट १ करोड कटेर १ करोड १५ लाख ५ हजार ९८३ पुगेको थियो । सबैभन्दा धेरै वृद्धिदर २०३८–२०४८ बीच २.६२ प्रतिशत थियो ।

जनगणना सुरु भएको ठीक १०० वर्षपछि वि.सं. २०६८ मा आइपुग्दा करिब १ करोड १० लाख जनसंख्या बढेको देखिएको थियो । २०५८–२०६८ बीचको वृद्धिदर १.३५ प्रतिशत थियो भने वि.सं. २०७८ मा वृद्धिदर ०.९२ प्रतिशत र कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यहाँनेर स्मरणीय छ कि २०५८ यता अघिल्लो शताब्दीजस्तो जनसंख्या नै घटेको हैन, वृद्धिदर मात्र घट्न थालेको हो । वि.सं. १९८८ को जनगणनाबाट बढ्न थालेको देखिएको जनसंख्या १०० वर्षयता निरन्तर वृद्धिमा नै छ । जनसंख्या ऋणात्मक हुनु र जनसंख्या वृद्धिदर ह्रास हुन एउटै कुरा हैन ।

विश्व अनुभव

कत्रो क्षेत्रफल भएको देशमा कति जनसंख्या हुनु उचित हो, कुनै बनिबनाऊ सुत्र छैन । ठूलो भूगोल भएका देशमा पनि थोरै जनसंख्या हुन सक्दछ, यदि मानव बस्तीयोग्य जमिन, हावापानी र सामाजिक तथा राजनीतिक प्रणाली अनुपयुक्त छ भने । विश्व अनुभव हेर्दा हिउँ जम्ने, चिसो क्षेत्र र देशमा जनसंख्या कम हुने गरेको छ भने गर्मी देशमा धेरै देखिएको छ । ठूलो क्षेत्रफलका बावजुद रुस, क्यानडा, अमेरिका, ब्राजिल, अष्ट्रेलियाको जनसंख्या आकार र जनघनत्व निकै सानो वा कम हो ।

अर्कोतिर चीन, भारत, इरान, इथियोपियाजस्ता देश ठूला र जनसंख्या धेरै भएका छन् । जनसंख्या धेरै भएर पनि यी देशको जनघनत्व विश्व औसतको हाराहारी नै छ । बंगलादेशजस्तो सानो क्षेत्रफलमा धेरै ठूलो जनसंख्या भएको उदाहरण पनि छ ।

विश्वमा सबैभन्दा धेरै जनघनत्व एकाई मकाओ–२२०००, मोनाको–१९०००, सिंगापुर–८१२०, हङकङ– ७०५९ जना प्रति वर्गकिमी हुन् । विश्वको औसत जनघनत्व ४५६ जना प्रतिवर्ग किमी छ । विशाल जनसंख्याका बावजुद चीन विश्व औसतभन्दा कम १५० जना प्रति वर्गकिमिमा छ । तर, पनि चीन आफ्नो जनसंख्यालाई ठूलो ठान्दछ । सन् १९७९ देखि सन् २०१६ सम्म चीनले एक बच्चा नीति लागू गरेको थियो । चीनमा अहिले भारतपछिको दोस्रो ठूलो जनसंख्या छ ।

दक्षिण एसियामा भुटान र अफगानिस्तानबाहेक सबै देशमा नेपालको भन्दा बढी जनघनत्व छ । नेपालको जनघनत्व औसत १९८, मधेशमा ४६० र हिमालमा ३४ छ । काठमाडौंमा विश्वकै उच्च जनघनत्वको हाराहारी ५१६९ र मनाङमा सबैभन्दा कम ३ छ ।

नेपालको तुलनामा मालदिभ्स–१७५९, बंगलादेश–१३३३, भारत–४८८, पाकिस्तान–३२६, श्रीलंका– ३७३ जना प्रति वर्गकिमि धेरै हो । जनघनत्वको दृष्टिकोणले नेपाल ७१औं स्थान छ । युरोपली देशहरुको औसत जनघनतत्व ३४ र अमेरिकाको ३७ जना छ । यस आधारमा नेपालको जनसंख्या क्षेत्रफलको आधारमा धेरै सानो वा ठूलो दुवै भन्न मिल्दैन । धेरै भन्न किन मिल्दैन भने विश्व औसत भन्दा जनघनत्व कम छ । कम किन भन्न मिल्दैन भने युरोप, अमेरिका, चीन, आदिको भन्दा जनघनत्व धेरै भइसकेको छ ।

औसत आयु वृद्धिको प्रभाव

जनसंख्या प्रजनन दरले मात्र निर्धारण गर्दैन, औसत आयुको प्रभाव उत्तिकै महत्वपूर्ण हुन्छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा बढेको जनसंख्या प्रजनन दर वृद्धिले हैन, औसत आयुको वृद्धिले हो । जनसंख्या अभिलेखको ऐतिहासिक तथ्यांकअनुसार सन् १७५० मा विश्वको औसत आयु २० वर्ष थियो । जन्मिएकामध्ये ८० प्रतिशत १० वर्ष नपुग्दै मर्थे । मातृ शिुशु मृत्युदर भयानक समस्या थियो ।

उन्नाइशौं शताब्दीमा सरकार तथा जनसंख्याविद्ले निर्धारण गर्ने औसत आयुको लक्ष्य ५० वर्ष हुने गर्दथ्यो । दोस्रो विश्वयुद्धपछि मात्र औसत आयु ५० वर्ष कटेको हो । सन् १९७० यता मात्र औसत आयुले ७० वर्ष छोएको हो । अहिले विश्वको औसत आयु ७३ वर्ष छ । जापान, स्वीट्जरल्याण्ड, फ्रान्स, माल्टा, दक्षिण कोरियालगायत उच्च औसत आयु भएका १० देशको ८० वर्षदेखि ८६ वर्षसम्म छ ।

मानव जातिको इतिहासमै अहिले सबैभन्दा धेरै ८ अर्बभन्दा बढी मानिस यो धर्तीमा छन् । तीमध्ये करिब ५ अर्ब मान्छे हिजोको तुलनामा सुरक्षित, आरामदायी, सम्मानित, स्वास्थ्यकर र दीर्घजीवन बाँचिरहेका छन् । पोषण, खोप, महामारी उन्मूलन, मातृशिशु तथा जेष्ठ नागरिकमाथि सामाजिक सुरक्षा लगानी, आर्थिक वृद्धि र स्वास्थ्य सेवाआदिको कारण मानिसको औसत आयु र जनसंख्या उच्च बिन्दुका पुगेको हो।

प्रजननदर, परिवारको आकार र जनसंख्या वृद्धिदर घट्न थाले पनि विश्व जनसंख्यामा तत्काल उल्लेखनीय ह्रास हुने छैन । जनसंख्या विश्लेषकहरुका अनुसार अझै कम्तीमा ६० वर्ष जनसंख्या धनात्मक वृद्धिमा हुनेछ ।

नेपालको सन्दर्भ

७० वर्ष अघिसम्म १ करोड पनि नभएको जनसंख्या अहिले ३ गुणा बढी करिब ३ करोड हुनु कम हैन । अझ यसबीच अनौपचारिक रुपमा भारतमा समेत अन्तर्राष्ट्रिय बसाइँसराइ गरेको जनसंख्यालाई ध्यान दिने हो भने यो वृद्धि ४ गुणाको हुन सक्दछ । बितेका ५० वर्षमा नेपालमा जन्मिएका कति भारततिर गए वा दुवैतिर बस्छन् वा आउजाउ गर्छन् भन्ने तथ्यांक कसैसँग छैन ।

अनौपचारिक अनुमानअनुसार ३० लाख नेपाली भारततिर हुन सक्दछन् । अमेरिकामा करिब ३ लाख, बेलायतमा करिब १ लाख छन् । यसरी नै विश्वभरि छरिएका छन्, जो नेपालको गणनामा पर्दैनन् । तर, त्यो पनि मूलतः वि.स. २०२८ पछि नेपालमै जन्मिएको जनसंख्या हो ।

बसाइँसराइ वा वैदेशिक रोजगारका लागि विदेश गएकै कारण देशमा श्रम शक्तिको अभाव भएको छैन । यद्यपि, देशभित्र पर्याप्त, मर्यादित र उच्च आय सम्भावना भएका रोजगार अवसर छैनन् । देशभित्र भएको जनशक्तिले देशभित्रको काम धान्न नसक्ने स्थिति देखिए मान्छेको कमी वा श्रम अभाव भन्न मिल्छ । देशभित्रको काम, पेशा र व्यवसायको आकारलाई पुग्दो भएर बाँकी श्रमिक विदेश जानु ‘अतिरिक्त श्रम’ले उच्च अवसर लागत प्राप्त गर्नु हो । अर्थशास्त्रीय दृष्टिकोणले कुनै पनि राष्ट्रका लागि यो फाइदा र खुशीको कुरा हो ।

२० वर्षअघि सबैभन्दा बढी प्रजननदर थियो ६.३९ थियो, अहिले १.९४ मा झरेको छ । यसको अर्थ अधिकांश नेपाली अब दुई बच्चाबाट एक बच्चातिर गइरहेका छन् । यसका लागि चीनमा जस्तो एक बच्चा नीतिका लागू गर्न राज्यले कुनै जबर्जस्ती गर्नुपरेको छैन ।

जहाँसम्म नेपालका ३४ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक भएको तथ्यांक छ, त्यसले प्रजननदर, औसत आयु ह्रास हैन, बसाइँसराइ र जनसंख्याको असमान भौगोलिक वितरणलाई संकेत गर्दछ । यी सबै जिल्ला हिमाली र पहाडी मात्र छन् । अझै ४३ जिल्लामा जनसंख्या धनात्मक वृद्धिमै छ । पहाड र हिमालबाट काठमाडौं, पोखरा, सुर्खेतजस्ता उपत्यका र तराई–मधेशमा बसाइँ सर्नु नेपालको आम अर्थ–राजनीतिक प्रवृति हो । यसले जनसंख्या वा श्रमशक्ति अभावलाई संकेत गर्दैन ।

२०७८ को जनगणना अनुसार १५–५९ वर्ष उमेर समूहको जनसंख्या ६१.९६ छ तसर्थ देशलाई ‘एजिङ इफेक्ट’ को साटो ‘जनसांख्यिक लाभ’ ( डेमोग्राफिक डिभिडेन्ड ) नै प्राप्त भइसकेको छ । जन्मेकामध्ये ३.२ प्रतिशत बच्चा मात्र मर्ने हुँदा प्रजननदर कम हुनुले तुलनात्मक रुपमा ठूलो अर्थ राख्दैन । परिवारको आकार ४.८८ बाट ४.३७ मा झर्नुले जनसंख्या संकट आइपरेको संकेत गर्दैन ।

बिहे गर्ने उमेर

नेपाल बाल विवाहको समस्याबाट भर्खरै मुक्त हुँदै गएको देश हो । कडा कानुनी प्रावधानका बावजुद गाउँघरतिर अझै बाल विवाह हुन्छन् । बाल विवाहका नकारात्मक पक्षबारे धेरै चर्चा गरिरहनु परेन । अहिले पनि करिब ४० प्रतिशतले १८–२२ वर्षको बीचमा विवाह गर्दछन् । नेपालमा पहिलो बच्चा जन्माउने औसत उमेर लामो समयसम्म २२ भन्दा कम थियो । २०७८ को जनगणनामा पहिलो पटक २५.६ वर्ष देखिएको हो । पुनश्च: बाल विवाहतिर समाज प्रवृत हुने जोखिम बढ्छ ।

१२ वर्षे विद्यालय शिक्षा र ४ वर्षे स्नातक समेतलाई जोड्द युवायुवतीलाई औपचारिक शिक्षा पूरा गर्न कम्तीमा २५ वर्ष लाग्ने छ । यदि प्रधानमन्त्रीले भनेझै सबैले २० वर्षमै बिहे गर्ने हो भने धेरैले ५ वर्षको शिक्षा ‘ड्रप’ गर्न सक्नेछन् वा शैक्षिक उपलब्धि कमजोर हुन सक्नेछैन । सिधा शब्दमा भन्दा स्नातक गर्नेहरुको अनुपात घट्ने छ । यस अर्थमा पनि २० वर्षमा विवाह आम रुपमा उपयुक्त होइन ।

नेपालका सन्दर्भमा बिहे गर्न उपयुक्त उमेर २५–३५ वर्षबीच हो । यो उमेर समूहमा शिक्षण सिकाइ पनि पूरा हुन्छ । दाम्पत्य जीवनका लागि जोडीले आधारभूत व्यवस्थापन गरेका हुन सक्दछन् । यौन आकांक्षा र प्रजनन क्षमता पनि कमजोर भएको हुँदैन ।

उचित छैन ‘तीन बच्चा नीति’

नेपालजस्तो सामाजिक, आर्थिक परिवेश भएको देशमा ‘तीन बच्चा’ भन्दा ‘एक वा दुई बच्चा नीति’ नै उचित देखिन्छ । औसत आयु वृद्धिको कारण यसले अझै एक शताब्दी जनसंख्या संकट ल्याउँदैन । धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने राज्यले सांकेतिक रुपमा केही आर्थिक सुविधा वा अनुदान देला, तर त्यसले गर्भावस्थाको सुरक्षा गर्ने, बच्चा जन्माउने, हुर्काउने, बढाउने, पढाउने, अझ विदेश पठाउनेसम्मको समय भार, कार्यबोझ र आर्थिक लागत कभर गर्दैन ।

राज्यले प्रोत्साहन गर्दैमा यस्ता दायित्व बहन गर्ने हैन । यी सबै दम्पति वा दम्पतिको परिवारले नै सामना गर्नुपर्दछ । धेरै बच्चा जन्माएर पोषण, स्वास्थ्य, शिक्षा, गुणस्तरीय समय र अवसर व्यवस्थापन गर्न नसक्दा सन्तानलाई कमजोर बनाउनुभन्दा एक वा दुई बच्चा जन्माएर यी सबै चिजको राम्रो व्यवस्थापन गरी स्वास्थ्य तथा सक्षम बनाउनु उचित हो ।

प्रधानमन्त्री ओलीसँग बच्चा जन्माएको, हुर्काएको व्यवहारिक व्यक्तिगत अनुभव नभएको र वृद्धिदर ह्रास हुन थालेको कारणले यस्ता कल्पना आएका हुन सक्दछन् ।गर्भावस्थादेखि बच्चालाई ५ वर्षको बनाउँदा सम्मको मात्र शिशु प्रजनन तथा स्याहारलागत हिसाबले गर्ने हो भने दम्पतिको आम्दानीको ४० प्रतिशत हिस्सा खर्च हुने अवस्था छ । अझ कलिलो उमेरमै तीन वटा बच्चा जन्माउँदा आमा पूरै बेरोजगार हुन्छिन् भने पिताको कार्यबोझ र मानसिकतामाथि दबाब परी श्रम उत्पादकत्व र आम्दानी घट्न सक्दछ ।

यद्यपि, यसबारे औपचारिक सर्वेक्षण र तथ्यांक उपलब्ध छैनन्, तर समाजको व्यवहारिक अनुभव र प्रवृति हेर्दा आज दम्पति दुवै कमाऊ र एक बच्चा भएका परिवार सबैभन्दा सन्तुलित र सुरक्षित अवस्थामा छन् । यदि तीन बच्चा जन्माउने हो भने दम्पतिको कमाइ गर्ने उमेरको करिब १ दशक वा सबैभन्दा उत्पादनशील र उच्च उत्पादकत्व भएको समयावधि र आम्दानी बदलिन सक्दछ । दम्पतिको करिअर, आम्दानी र बचतमा निक्कै ठूलो नोक्सानी पुग्न सक्दछ ।

प्रधानमन्त्री ओलीले भनेजस्तो तीन बच्चा उच्च मध्यम तथा उच्च वर्गको दम्पतिका लागि मात्र सम्भव हुन सक्दछ, जोसँग पारिवारिक बचत धन र स्थापित व्यवसाय हुन्छ । निम्न मध्यम र निम्न वर्गका लागि ‘तीन बच्चा नीति’ एक त असम्भव हो, अन्यथा अभिशाप सिद्ध हुन सक्दछ । यी र यस्ता अन्य तथ्यलाई आधार मान्दा नेपालमा अहिले जनसांख्यिक प्रवृति गम्भीर मुद्दा होइन । न जनसंख्या वृद्धिलाई अति प्रोत्साहित गर्न जरुरी छ न निरुत्साहित । जनसंख्या अनुपात सहज, स्वाभाविक र सन्तुलित नै छ । समस्या विकास र व्यवस्थापनका अन्य पक्षमा छ, जनसंख्या प्रवृतिमा होइन ।

गाउँमा कृषिकार्य गर्ने जनशक्तिको अभाव र बाँझो जमिन आर्थिक प्रवृति हो, जनसांख्यिक होइन । जति नै बच्चा जन्माए पनि तुलनात्मक लाभ र अवसर लागत अनुकूल नहुन्जेल गाउँमा खेती गरेर बस्ने ग्यारेन्टी हुँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register