नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपाली बढी खर्चालु

काठमाडौं ।  नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपालीहरूले बढी खर्च गर्ने गर्दछन् । एउटै अवधिमा नेपाल भित्रिने पर्यटक र विदेश जाने नेपालीले गर्ने खर्चको बीचमा ठूलो भिन्नता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।  तथ्यांकअनुसार सन् २०२४/२५ को पछिल्लो ११ महिनामा साढे १० लाख पर्यटक नेपाल भित्रिदा ८२ अर्ब १९ करोड ८६ लाख रुपैयाँ रकम खर्च […]

Jul 16, 2025 - 02:09
 0
नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपाली बढी खर्चालु

काठमाडौं ।  नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपालीहरूले बढी खर्च गर्ने गर्दछन् । एउटै अवधिमा नेपाल भित्रिने पर्यटक र विदेश जाने नेपालीले गर्ने खर्चको बीचमा ठूलो भिन्नता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। 

तथ्यांकअनुसार सन् २०२४/२५ को पछिल्लो ११ महिनामा साढे १० लाख पर्यटक नेपाल भित्रिदा ८२ अर्ब १९ करोड ८६ लाख रुपैयाँ रकम खर्च गरेका छन् । सोही अवधिमा विभिन्न उद्देश्यका लागि विदेश गएका नेपालीले विदेशी मुलुकमा २ खर्ब ३ अर्ब ९७ करोड २३ लाख रुपैयाँ खर्च गरेका छन् । 

नेपाली नागरिकले यो रकम विदेश घुम्न, अध्ययन गर्न, उपचार गर्नलगायत अन्य शीर्षकमा खर्च गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ । यसले देशको सेवा व्यापार घाटा अझ गहिरिँदै गएको देखाउँछ । सेवा व्यापार घाटा भनेको विदेशीहरूले नेपालमा खर्च गरेको रकमभन्दा नेपालबाट विदेशमा खर्चिएको रकम बढी हुनु हो ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक केलाउँदा पछिल्लो ११ महिनामा नेपालले एक खर्ब २१ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ सेवा व्यापार घाटा  व्यहोरेको देखिन्छ ।

कुन शीर्षकमा कति खर्च गर्छन् नेपाली 

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ११ महिनामा नेपालीले विदेशी मुलुकमा २ खर्ब रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । जसमध्ये सबैभन्दा बढी शिक्षामा १ खर्ब २४ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ खर्च गरेका छन् भने उपचारमा ४७ करोड १५ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । ७४ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ अन्य शीर्षकमा खर्च गरेको देखिन्छ । त्यस्तै, व्यावसायिक यात्रामा ३ अर्ब ९७ करोड २२ लाख रुपैयाँ खर्च गरेका छन् ।

सोही अवधिमा विदेशी पर्यटकले नेपालमा ८२ अर्ब २ करोड ३० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । जसमा ३५ करोड ४१ लाख स्वास्थ्यसम्बन्धी सेवामा खर्च गरेका छन् भने ३ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ शिक्षामा खर्च गरेका छन् । त्यस्तै, ७७ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ अन्य शीर्षकको सेवा खरिदमा खर्च गरेका छन् । 

नेपालले सेवा व्यापार घाटा व्यहोरेको यो पहिलोपटक भने होइन, पछिल्ला दुई वर्षभन्दा बढेको भने हो । सन् २०२३/२४ मा पनि नेपालको सेवा व्यापार ९८ अर्ब २७ करोड ५५ लाख रुपैयाँले ऋणात्मक देखिन्छ । त्यस्तै, सन् २०२२/२०२३ मा पनि ७१ अर्ब ७४ करोड ८८ लाखले सेवा क्षेत्र ऋणात्मक रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

नेपालको समग्र व्यापार घाटा पछिल्लो ११ महिनामा ६ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड रहेको छ । समग्र व्यापार घाटाको तुलनामा सेवा व्यापार घाटा मात्र ८.७२ प्रतिशत हो । तथापि यसको महत्त्व भने कम छैन, किनभने सेवा व्यापार घाटाले विदेशी सेवा (जस्तै शिक्षा, स्वास्थ्य सेवा, यात्रा) को निरन्तर उपभोगलाई प्रतिबिम्बित गर्छ, जुन छोटो समयभित्र घरेलु रूपमा सजिलै प्रतिस्थापन गर्न सकिँदैन । र, यसका लागि दीर्घकालीन योजना चाहिन्छ । 

किन बढ्दैछ नेपालीको विदेश खर्च ? 

अर्थविद् गोविन्द नेपाल नेपालमा क्षमताअनुसारको रोजगारी र राम्रा विश्वविद्यालय नहुनुले धेरै विद्यार्थी बाहिरिने गरेको बताउँछन्, जसको कारण नेपालको सेवा व्यापार बर्सेनि ऋणात्मक हुने गरेको छ । 

उनी भन्छन्, ‘तथ्यांकले नै भन्छ त, सबैभन्दा बढी रकम विद्यार्थीहरूले लाने गरेका छन् । नेपालमा राम्रा विश्वविद्यालय छैन, पढाइ हुन्छ तर पढेअनुरूप जागिर पाउँदैनन् । त्यसैले उच्च शिक्षाका लागि नेपालबाट बर्सेनि ठूलो रकम बाहिरिन्छ ।’

नेपालका मन्त्री, प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जाँदा ठूलो सङ्ख्यामा टोली लैजाने हुँदा पनि धेरै खर्च हुने गरेको उनको भनाइ छ ।  

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल अर्थविद् नेपालकै भनाइमा सहमत जनाउँदै थप्छन्, ‘एनओसी लेटर लिनेहरूले सेवा व्यापारको ठूलो रकम विदेश लगिरहेका छन् । यहाँका विश्वविद्यालय सुधार्ने हो भने यो रकममा धेरै नियन्त्रण हुने थियो । ऋणदान गरेरै भए पनि नेपाली विदेश गएर रेमिट्यान्स पठाइरहेका छन् । यसैले देश धानिएको छ, त्यसैले सरकारलाई मतलब छैन, यो बेवास्ता गर्ने विषय होइन ।’

पछिल्लो ११ महिनामा रेमिट्यान्स १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ  पुगेको राष्ट्र बैंक को तथ्यांकले देखाएको छ। 

पर्यटनमा चुकेको नेपाल 

पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख माध्यम भनिए पनि पर्यटन क्षेत्रको विकासमा आवश्यक ध्यान पुग्न सकेको छैन । पर्यटक आए पनि लामो समय बस्दैनन् र उनीहरूले गर्ने खर्च निकै कम छ । संख्यात्मक हिसाबले पर्यटकको संख्या बढे पनि, पर्यटनको गुणात्मक वृद्धि हुन सकेको छैन ।

अर्थविद् नेपाल नेपालमा पर्यटकको बसाइ छोटो हुनु, पर्यटकले खर्च कम गर्नु जस्ता कारणले पनि नेपालको सेवा व्यापार ऋणात्मक देखिने गरेको बताउँछन् । 

नेपालमा पर्यटक कम समय बस्नु र कम खर्च गर्नुका केही मुख्य कारणहरू छन्, जस्तै, छोटो अवधिको ट्रेकिङ पर्यटनमा केन्द्रित हुनु, बजेट पर्यटकको उच्च हिस्सा, सीमित हवाइ सम्पर्क, र उच्चस्तरीय पूर्वाधारको अभाव । अधिकांश विदेशी पर्यटक ट्रेकिङ वा सांस्कृतिक अवलोकनका लागि नेपाल आउँछन्, र आफ्नो निश्चित कार्यक्रम सकिएपछि तत्काल फर्किन्छन्।

नेपाल अझैसम्म ‘सस्तो गन्तव्य’ को रूपमा चिनिन्छ, जसले थोरै बजेटमा आउने यात्रुलाई आकर्षित गरे पनि ‘प्रिमियम सेग्मेन्ट’ (त्यस्ता पर्यटक जसले धेरै खर्च गर्छ) लाई तान्न सकेको छैन । साथै, लक्जरी होटेल, स्पा, एडभेन्चर पार्क वा हेल्थ रिसोर्टजस्ता सेवाहरूको कमीले गर्दा उच्च खर्च गर्ने पर्यटकहरू या त नेपाल आउँदैनन् वा छोटो अवधिमै फर्किने गर्छन् । यस्तै, सरसफाइ, स्वास्थ्य सेवा, ट्राफिक र पूर्वाधारका समस्याले पनि पर्यटकको बसाइ छोट्याउने गर्दछ । यस बाहेक, नेपालले उच्च खर्च गर्ने पर्यटक वर्गलाई लक्षित गरी प्रभावकारी मार्केटिङ गर्न सकेको छैन । र ‘पर्यटनको विविधता’ मा ध्यान पुर्‍याउन सकेको छैन ।  

डा. चिरञ्जीवी नेपाल नेपालको सडक, विमानस्थललगायतका पूर्वाधार व्यवस्थित भए अझै विदेशी पर्यटक भित्र्याउन सकिने र पर्यटकले खर्च गर्ने बताउँछन् । यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

हालैका वर्षहरूमा नेपालीहरू माझ बाहिर घुम्न जाने प्रचलन बढ्दो छ । यसको अर्थ नेपालीहरूको खर्च गर्ने क्षमताम वृद्धि भएको भन्ने त हो, तर यसरी घुम्नकै लागि विदेश जाने नेपालीहरूको संख्या भने कम छ । तथापि, देशमा पर्यटनको विकास गरेर विदेशी पर्यटकबाट आम्दानी गर्न नसकेको बेला सानै संख्यामा विदेश जाने नेपालीहरूले गर्दा पनि सेवा व्यापार घाटा भने बढाएको छ ।  

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा नेपालका केही व्यक्तिको आयमा ठूलो परिवर्तन भएको र घुम्न जाने प्रचलन बढेकाले भ्रमण व्यय बढेको बताउँछन् । 

‘कर्पोरेट हाउस, बैंक, बीमा कम्पनीहरूले पनि प्याकेज बनाएर विदेश भ्रमणमा लैजाने गरेको कारण पनि भ्रमण व्यय बढेको छ,’ थापा भन्छन् ।

‘प्राइभेट कम्पनीहरूले पनि प्याकेज बनाएर विदेश भ्रमणमा लाने गरेका छन् । त्यससँगै, विदेश पढ्न जाँदा उस्तै खर्च हुन्छ, यात्रामा नेपालीले विदेशी विमान प्रयोग गर्नाले पनि भ्रमण व्यय बढेको देखिन्छ’, उनले भने । 

सेवा व्यापार घाटाको असर 

समग्र व्यापार घाटा नै बढिरहेको अवस्थामा सेवा व्यापार घाटा बढ्नु भनेको विदेशी मुद्राको निकासी बढ्नु हो, जसले देशको विदेशी मुद्रा सञ्चितिमा सिधै दबाब पुर्‍याउँछ ।  यसले देशभित्रका महत्त्वपूर्ण सेवा क्षेत्रहरूमा, जस्तै शिक्षा, स्वास्थ्य सेवा र पर्यटन, पर्याप्त क्षमता नहुनु र सुधार आवश्यक भएको संकेत दिन्छ । जब नेपाली नागरिकहरू उच्च शिक्षा, उपचार र भ्रमणका लागि बाहिर जान्छन्, तब त्यसले घरेलु सेवाहरूप्रति निर्भरता कम गराउँछ र अर्थतन्त्रमा विदेशी निर्भरता बढाउँछ । 

पछिल्लो ११ महिनाको तथ्यांकका आधारमा नेपालको विदेशी मुद्रा संचय २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । उच्च शिक्षाका लागि विदेशीने नेपाली विद्यार्थीले विदेशी विनिमय सञ्चितिको महत्त्वपूर्ण हिस्सा लैजाने भएकाले नेपालको अर्थतन्त्रमा दबाब सिर्जना भएको अर्थविद् नेपालको ठम्याइ छ ।  

उनी नेपालको सेवा व्यापार घाटा रोकिने स्थिति नरहेको बताउँछन् ।  ‘यो रोकिने स्थिति देखिँदैन, विद्यार्थीहरू देशमा भविष्य देख्दैनन् । न त सरकार न त प्राइभेट सेक्टर कसैले पनि युवालाई क्षमताअनुरूपको रोजगारी दिन सकेका छैनन्,’ अर्थविद् नेपालले भने ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register