चुनौतीका चाङलाई छिचोल्न सक्लिन् ?

काठमाडौं । एमालेकी युवानेत्री तथा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि गुप्ताको राजीनामासँगै रिक्त रहेको मन्त्री पदमा न्यौपानेलाई नियुक्त […]

Jul 16, 2025 - 03:07
 0
चुनौतीका चाङलाई छिचोल्न सक्लिन् ?


काठमाडौं ।

एमालेकी युवानेत्री तथा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि गुप्ताको राजीनामासँगै रिक्त रहेको मन्त्री पदमा न्यौपानेलाई नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नवनियुक्त मन्त्री न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा मन्त्रालयमा व्याप्त विकृति हटाउनुपर्ने प्रमुख चुनौती रहेको छ । यसै गरी संघीय निजामती सेवा ऐन चाँडोभन्दा चाँडो जारी हुने वातावरण सिर्जना गर्नु उहाँको पहिलो चुनौती र भूमिका रहेको छ ।

विशेष गरी कर्मचारी सरुवामा व्याप्त विकृति र सरुवामा गरिने आर्थिक चलखेल मन्त्रालयमा व्याप्त ठूलो रोगकै रूपमा रहँदै आएको छ । कर्मचारी सरुवामा भएकै लेनदेन र घुस प्रकरणका कारण यसअघिका मन्त्री राजकुमार गुप्ताको बहिर्गमन हुन पुगेको थियो । प्रशासन सुधार र सेवा प्रवाह प्रभावकारी बनाउने मुख्य विषयलाई पनि मन्त्रालयले यसअघि खासै प्राथमिकतामा राख्न सकेको थिएन । जसका कारण सेवाप्रवाह प्रभावकारी बन्न नसकी नागरिकमा शासकीय प्रणालीमाथि नै व्यापक असन्तुष्टि बढ्दै आएको हो । सबै सरकारी कार्यालयको सेवा प्रवाह प्रभावकारी बनाउनुका साथै सुशासन कायम गर्ने विषय पनि नवनियुक्त मन्त्री न्यौपानेका लागि चुनौतीको रूपमा रहेको छ ।

यसका साथै नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ दिएको मन्त्रालयको २९ वटा कार्यजिम्मेवारीलाई सफलताका साथ लागू गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी न्यौपानेको काँधमा छ । जस अनुसार नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेले संघ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीच उचित सम्पर्क र समन्वय कायम गर्न आवश्यक रणनीति बनाउनुपर्ने दायित्व छ ।

यसै गरी सार्वजनिक सेवा प्रवाहसम्बन्धी प्रभावकारी नीति, कानुन र मापदण्ड तय गरी कार्यान्वयन गर्नुपर्ने, प्रशासनिक सुधारसम्बन्धी नीति योजना, समायोजन र समन्वय गर्नुपर्ने चुनौती उहाँसामु छ । यसै गरी कर्मचारी कल्याणसम्बन्धी नयाँ नीति, कानुन र मापदण्ड बनाउनुपर्ने कार्यजिम्मेवारी उहाँमा आएको छ । यस्तै सार्वजनिक पदाधिकारीको क्षमता विकास तथा कर्मचारीको सेवा सुविधा र सुरक्षा सम्बन्धमा प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी उहाँमा काँधमा आएको छ ।


यस्ता छन् चुनौती ?
–२९ वटा महत्वपूर्ण कार्यजिम्मेवारीको कुशलतापूर्वक बहन गर्नुपर्ने
–संघीय निजामती सेवा ऐन छिटो ल्याउने वातावरण बनाउने
–सेवा प्रवाह प्रभावकारी बनाउँदै सुशासन कायम गर्नुपर्ने
–भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने
– कर्मचारी सरुवामा व्याप्त विकृति हटाउनुपर्ने
–संघ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीच उचित सम्पर्क र समन्वय गर्नुपर्ने
–सेवा प्रवाहसम्बन्धी प्रभावकारी नीति, कानुन र मापदण्ड तय गर्नुपर्ने
– प्रशासनिक सुधारसम्बन्धी नीति योजना, समायोजन र समन्वय
– कर्मचारीको सेवा सुविधा र सुरक्षा सम्बन्धमा प्रभावकारी काम गर्नुपर्ने
–शासकीय प्रणाली सफलताको महत्वपूर्ण आधार बनाउनुपर्ने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register