मुलुक विपत्तिको चपेटामा

काठमाडौं । यस वर्षको मनसुन शुरू भएयता देशभर प्राकृतिक प्रकोपले भयावह रूप लिँदै गएको छ । बाढी, पहिरो, चट्याङ, सर्पदंश, आगलागी, डढेलो, हवाहुरी, जनावर आक्रमण, भूकम्प, असिना र अन्य घटनाले देशभर मानवजीवन, जनधन, पूर्वाधार र वातावरणमा गम्भीर असर पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८१ जनाको ज्यान गइसकेको छ […]

Jul 18, 2025 - 02:58
 0
मुलुक विपत्तिको चपेटामा


काठमाडौं ।

यस वर्षको मनसुन शुरू भएयता देशभर प्राकृतिक प्रकोपले भयावह रूप लिँदै गएको छ । बाढी, पहिरो, चट्याङ, सर्पदंश, आगलागी, डढेलो, हवाहुरी, जनावर आक्रमण, भूकम्प, असिना र अन्य घटनाले देशभर मानवजीवन, जनधन, पूर्वाधार र वातावरणमा गम्भीर असर पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८१ जनाको ज्यान गइसकेको छ भने ४ सय ६ जना घाइते भएका छन् ।

गत वैशाख १ गतेदेखि असार ३१ गतेसम्म २२ जनालाई बाढीले बगाएको र उनीहरू अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । विभिन्न १३ प्रकारका प्रकोपसँग सम्बन्धित २ हजार ९० वटा स–साना वा ठूला घटनाहरू देशभर घटेका छन्, जसले कुल ३ हजार ५ सय ५८ परिवारलाई प्रत्यक्ष प्रभावित पारेको छ ।

प्राधिकरणले हालसम्म देशभरिका विभिन्न १३ प्रकारका विपद्का २ हजारभन्दा बढी घटना घटेको जानकारी दिएको छ । मनसुनको सुरुवातदेखि असार ३१ गतेसम्मका अवधिमा विपद्ले भयावहस्वरूप लिँदै गर्दा जनधनमा ठूलो क्षति पुगेको छ ।
सबैभन्दा बढी आगलागीका घटना भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । पछिल्लो तीन महिनामा ९ सय ४१ वटा आगलागीका घटना देशभर भएका छन् । त्यसपछि दोस्रो स्थानमा चट्याङ रहेको छ । २ सय २२ वटा चट्याङका घटनाले जनधनमा असर पुर्‍याएको छ ।

तेस्रो नम्बरमा हावाहुरी रहेको छ । जसका २ सय ७२ घटना प्राधिकरणमा दर्ता भएका छन् । यी तिनै विपद्ले नेपालमा दैनिकी अस्तव्यस्त बनाउँदै ल्याएको छ ।

यस्तै, बाढीका १ सय ३५ घटनामा २२ जना बेपत्ता भएका छन् । पहिरोका १ सय ७४ घटनाले दर्जनौं घरधुरी विस्थापित भएका छन् । भारी वर्षाका ९१ घटना रिपोर्ट भएका छन्, जसले सडक, पुलपुलिया र खेतीबालीमा क्षति पु¥याएको छ । सर्पदंशका २३ घटनाले ग्रामीण बस्तीमा त्रास बढाएको छ । वन डढेलोका १ सय ५८ घटनाले हजारौं हेक्टर जंगलमा क्षति पु¥याएको छ ।
जंगली जनावर आक्रमणका ३५ घटनाले विशेष गरी तराई र चुरे क्षेत्रका बासिन्दालाई प्रभावित बनाएको छ । भूकम्पका ४ वटा साना झट्काहरू विभिन्न ठाउँमा महसुस गरिएको छ, यद्यपि, ठूलो क्षति नभएको प्राधिकरणले जनाएको छ । टुंगा पल्टेर २ जनाको ज्यान गएको छ ।

यी घटनाले देशका अधिकांश पहाडी, तराई र हिमाली जिल्लाहरू प्रभावित पारेका छन् । मधेस प्रदेशका केही जिल्लाहरूमा चट्याङका घटनाहरू धेरै देखिएका छन् भने पहाडी जिल्लाहरूमा पहिरो र बाढी प्रमुख समस्या बनेका छन् ।
विशेष गरी पहाडी क्षेत्रका ग्रामीण सडकहरू, नदी किनारका बस्तीहरू र ढलविहीन सहरी क्षेत्रहरू बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोले एकातर्फ सडक सञ्जाल अवरुद्ध बनाउँदै आएको छ भने बाढीले किसानको खेतीबाली बगाएको छ । दोलखा, रोल्पा, गुल्मी, अछाम, इलाम, रामेछाप, कास्की, बागलुङलगायतका जिल्लामा सबैभन्दा बढी पहिरोका घटना भएका छन् । बाढीको जोखिममा विशेष गरी तराईका जिल्ला सप्तरी, सिरहा, रौतहट, बारा, चितवन, नवलपरासी र बाँके–बर्दिया रहेका छन् ।

सरकारको प्रतिकार्य र तयारी

गृहमन्त्री रमेश लेखकले समयमै जनतालाई सतर्क गराइएको दाबी गर्दै भन्नुभयो– ‘प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन, तर सावधानी अपनाएर त्यसको असर कम गर्न सकिन्छ ।’ उहाँले तीनवटै सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई आपत्कालीन तयारीसहित परिचालन गरिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार जोखिमयुक्त स्थानमा आवतजावतमा प्रतिबन्ध लगाउने, बाढीपूर्व सम्भावित क्षेत्रमा सूचना प्रवाह गर्ने र तत्काल उद्धार टोली खटाउने काम गरिएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेश सुनारले विपद् न्यूनीकरणका लागि सञ्चार, जनचेतना र संयन्त्र प्रभावकारी ढंगले परिचालित भए पनि अकस्मात् घटेका कतिपय घटनामा भने मानवीय क्षति टार्न नसकिने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यद्यपि, ठूला जनधनको क्षति हुने घटनाहरू टार्न सकिएकोमा हामी सन्तुष्ट छौं ।’

औसतभन्दा बढी वर्षाको अनुमान

जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । असार महिनामै नेपालका धेरै भू–भागमा २५० मिमिभन्दा बढी वर्षा भइसकेको छ भने पहाडी क्षेत्रमा भारी वर्षाले बाढी, पहिरो गएको छ । नेपालमा जलवायु परिवर्तनको असर देखिएसँगै पछिल्ला वर्षमा असिनासहितको अत्यधिक वर्षा, एकैछिनमै ठूलो बाढी, हावाहुरीजस्ता असामान्य मौसमी घटनाहरू बढिरहेका छन् ।

यस वर्षको सुरुवातमै प्राधिकरणले अनुमान गरेको थियो कि करिब २० लाख मानिस बाढी, पहिरो, डढेलो, चट्याङलगायतको प्राकृतिक प्रकोपबाट प्रभावित हुन सक्छन् । अहिलेको तथ्यांकअनुसार झन्डै १ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भइसकेका छन् । घर बग्ने, विस्थापित हुने, घाइते हुने, खेतीबाली नष्ट हुने, खानेपानी अवरुद्ध हुने लगायतका कारणबाट मानिस प्रभावित हुने क्रम बढ्दो अवस्थामा रहेको छ ।

लापरबाही र चेतनाको अभाव

सरकार र सुरक्षा निकायका सूचनाहरूका बाबजुद केही घटना भने जनताको लापरबाही र बेवास्ताका कारण भएको बताइन्छ । विशेषज्ञहरूका अनुसार सूचना प्रवाहमात्र होइन, त्यसप्रति मानिसको संवेदनशीलता बढाउनु अहिलेको आवश्यकता हो । रेडियो, मोबाइल, सामाजिक सञ्जालमार्फत समयमै जानकारी दिए पनि त्यसलाई बेवास्ता गर्दा जनधनको क्षति बढेको पाइन्छ ।
मनसुन अझै करिब अढाइ महिना बाँकी छ ।

असोजसम्म वर्षाको प्रभाव रहने भएकाले सरकार तथा नागरिक दुवै पक्ष अझ सजग हुनुपर्ने विज्ञहरू बताउँछन् । ‘बाढी र पहिरोको क्षति अझ बढ्न सक्छ, विशेष गरी साना नदीहरूको सतह बढेपछि पूर्वचेतावनी प्रणाली प्रभावकारी नबनेमा जोखिम अझै ठूलो हुन्छ’ –जल तथा मौसम विज्ञ अर्जुन सुवेदीले बताउनुभयो । बाढी, पहिरो, चट्याङजस्ता प्रकोपले हरेक वर्ष ज्यान लिने क्रम नरोकेसम्म नेपालमा विपद् व्यवस्थापन केवल आँकडाको खेलजस्तै हुने प्रकोप विज्ञहरूको टिप्पणी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register