विवादको गोलपोस्टमा ठोक्किएको नेपाली महिला फुटबल

नेपाली महिला फुटबल हाल मैदानमा होइन, समाचारको शीर्षकमा चर्चित बनेको छ । तर, अफसोस खेल कौशलका कारण होइन, विवादका कारण । निःसन्देह उज्वेकिस्तानविरुद्धको खेलमा सावित्रा भण्डारी (साम्बा) जस्तो कुशल स्ट्राइकरको प्रहार गोलपोस्टमा ठोक्किनु नेपालका लागि दुर्भाग्यपूर्ण क्षण थियो । तर, त्यस्तो घटना खेलको स्वाभाविक हिस्सा हो । किनभने विश्वस्तरका प्रतियोगिताहरूमा पनि हामीले नामी खेलाडीहरूमार्फत त्यस्ता […]

Jul 18, 2025 - 11:53
 0
विवादको गोलपोस्टमा ठोक्किएको नेपाली महिला फुटबल

नेपाली महिला फुटबल हाल मैदानमा होइन, समाचारको शीर्षकमा चर्चित बनेको छ । तर, अफसोस खेल कौशलका कारण होइन, विवादका कारण । निःसन्देह उज्वेकिस्तानविरुद्धको खेलमा सावित्रा भण्डारी (साम्बा) जस्तो कुशल स्ट्राइकरको प्रहार गोलपोस्टमा ठोक्किनु नेपालका लागि दुर्भाग्यपूर्ण क्षण थियो । तर, त्यस्तो घटना खेलको स्वाभाविक हिस्सा हो । किनभने विश्वस्तरका प्रतियोगिताहरूमा पनि हामीले नामी खेलाडीहरूमार्फत त्यस्ता तिता स्वादहरू बारम्बार चाखेका छौं । यो त भयो मैदानमा भएको हारजितका कुरा । तर, त्यस खेलपछि भने नेपाली महिला फुटबल मात्र होइन, सम्पूर्ण व्यवस्थापन नै विवादको गोलपोस्टमा ठोक्किएको छ ।

एएफसी एसियन कप क्वालिफायरमा उज्वेकिस्तानविरुद्धको प्रतिस्पर्धात्मक खेलपछि नेपाली टिमको यात्रा टुंगियो । तर, त्यो अन्त्यसँगै सुरु भयो नयाँ बहसको अध्याय । जहाँ खेलाडीको प्रयासभन्दा बढी छाँयामा प¥यो फुटबलको गम्भीर अस्तब्यस्त ब्यवस्थापनको कहानी । खेलअघि नै माहोल असामान्य थियो । कप्तान चयनमा गम्भीर असमझदारी देखियो, जसले ड्रेसिङ रुमलाई खेलको रणनीति कोर्ने थलोभन्दा द्वन्द्वको केन्द्र बनायो । टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले अन्तिम क्षणसम्म कप्तानको नाम घोषणा नगरेपछि एन्फाले आफैं निर्णय लिँदै रेनुका नगरकोटी नाम कप्तानमा सिफारिस गरियो । तर, खेल सुरु हुन केही मिनेट बाँकी रहँदा कोचले निर्णय उल्ट्याउँदै साम्बालाई कप्तान बनाए । अवश्य, साम्बा योग्य थिइन्, तर विधि चाहिँ अपारदर्शी भयो ।

यस घटनाले टिममा असन्तुष्टिको बीजारोपण भयो । साम्बाको नेतृत्वमा सन्तोष देखाए पनि आफूलाई कोचले उपेक्षा गरेको भनेर सार्वजनिक रूपमै मीडियामा बोलेर पूर्व कप्तान एन्जिला तुम्बापो सुब्बाले पोखेको गुनासोले यो पुष्टि हुन्छ । कोचविरुद्धको आलोचना यति मात्र थिएन । पूर्व कोच राजेन्द्र तामाङले वाइल्डेलाई “रिसाहा र अपमानजनक व्यवहार गर्ने” व्यक्ति ठहर गरे । कोच वाइल्डे पनि चुप लागेनन् । “म कोच हुँ, नोकर होइन,” भन्ने उनको बयानले व्यवस्थापनसँगको तिक्त सम्बन्ध झल्कायो । उनले प्रविधिको अभाव, पोषणको कमी, अस्वस्थकर खाना अनि होटलको निम्नस्तरबारे खुलेर बोले । “आइससम्म नपाउने हो भने खेलाडीको शरीर कसरी रिकभर होस”– यो प्रश्न केवल व्यवस्थापनको संवेदनहीनता होइन, उदासीनताको परिचायक बन्यो ।

अर्कोतर्फ एन्फाका प्राविधिक निर्देशक हरि खड्काले भने ‘समय आउँछ, सुविधाहरू दिइनेछ’ भन्ने तर्क दोहो¥याइरहे । तर, भिजन २०२७ को सपना देखाउने एन्फा अहिले पनि टिमलाई ‘छात्रावास’ स्तरको होटलमा राख्दैछ । यो कुरा ठट्टा हो कि विडम्बना भनेर प्रश्न तेर्सिनु स्वाभाविक हो । वाइल्डेको शर्त स्पष्ट छ—“इज्जत बिना फर्किन्न ।” उनले भने, अब स्टाफ छान्ने अधिकार पनि आफूले नै पाउनु पर्छ, नत्र टिम सम्हाल्ने कुरा असम्भव हुन्छ । उनको अभिव्यक्तिमा झल्किएको पीडा खेलाडीको मनोबलमा पनि देखिन थालिसकेको छ । पेनाल्टीको डर, राजनीतिक हस्तक्षेप, यी सबैले खेलाडीहरूलाई मानसिक रूपमा थिच्यो । उज्वेकिस्तानसँगको पेनाल्टी हार केवल साम्बा र अन्जनाको गोल नहुनु मात्र होइन, सम्पूर्ण व्यवस्थापन प्रणालीको असफलताको प्रतिबिम्ब थियो ।युवा खेलाडीलाई अवसर दिनुपर्ने बहस गर्नेहरूमध्ये कतिपय एन्जिलालाई नखेलाएकोमा आक्रोशित थिए । अनि, कोचको रणनीति स्वतन्त्र हुनुपर्छ भन्ने पनि बिर्सिए ।

घटनापछि एन्फाले वाइल्डेसँग स्पष्टीकरण माग्यो । जबकि उनले लामो प्रतिवेदन पहिले नै बुझाइसकेका थिए । वास्तवमा समस्या समाधान गर्नेभन्दा दोषारोपण गर्ने शैलीमा रमाउने एन्फा ब्यवस्थापनको यस्तो व्यवहार समस्याको जरो हो । कुनै समय दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेश फुटबल महासंघको पनि आफ्ना हेड कोच पिटर बटलरसँग मनमुटाव परेको थियो । तर, उनीहरूले कोचलाई साथ दियो, संरचना सुधार ग¥यो र अहिले नतिजा पनि हात पा¥यो । वरीयतामा आफूभन्दा माथिको म्यानमारलाई हराउँदै बंगलादेशले एएफसी एसियन कप २०२६ मा स्थान सुरक्षित गरिसकेको छ । एन्फाले पनि यसबाट पाठ सिक्नुपर्छ । सही बाटो समाउनु पर्छ । जहाँ कोच, खेलाडी र व्यवस्थापन एउटै लक्ष्यमा होमिने वातावरण तयार होस । यो घटना खेलमा हारजितको मात्र होइन, आशा र सपना देख्ने चेलीहरूको पनि हो । उनीहरूका आँसु व्यवस्थापनको लाचारीले खेर जानु हुँदैन । कोचसँगको विवाद त असन्तुष्टिको एउटा झिल्को मात्र न हो, तर त्यसलाई नजरअन्दाज गरियो भने सम्पूर्ण नेपाली फुटबलको भविष्यमा डढेलो नलाग्ला भनेर कसले ग्यारेन्टी दिने ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register