बेंगलोरको एकेडेमीमा क्रिकेट प्रशिक्षण लिइरहेको नेपाली टिम

काठमाडौं । ओमानमा हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय क्रिकेट टोली अहिले बन्द प्रशिक्षणका लागि भारतमा छ । भारतको बैंगलोरस्थित भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा २० जना नेपाली खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन् । उनीहरू अगस्ट ३ सम्म बन्द प्रशिक्षणमा रहनेछन् । एनसीएमा यो नेपालको दोस्रो प्रशिक्षण हो । […]

Jul 23, 2025 - 13:22
 0
बेंगलोरको एकेडेमीमा क्रिकेट प्रशिक्षण लिइरहेको नेपाली टिम

काठमाडौं । ओमानमा हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय क्रिकेट टोली अहिले बन्द प्रशिक्षणका लागि भारतमा छ ।
भारतको बैंगलोरस्थित भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा २० जना नेपाली खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन् । उनीहरू अगस्ट ३ सम्म बन्द प्रशिक्षणमा रहनेछन् ।

एनसीएमा यो नेपालको दोस्रो प्रशिक्षण हो । पछिल्लो समय नेपाल टी–२० विश्वकपमा छनोट हुँदा पनि नेपाली टोलीले त्यहाँ तालिम गर्ने अवसर पाएको थियो ।

राष्ट्रिय टोलीले बीसीसीआईको सहयोगमा भारतमा प्रशिक्षण गर्नु पाउनुलाई नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण उपलब्धि रहेको बताउँछन् । ‘यसअघि पनि गएका थियौं । अहिले पनि गएका छौँ । यसले नेपाली क्रिकेटमाथि गइरहेको एउटा सन्देश दिन्छ,’ प्रवक्ता लामाले नेपालभ्युजसँग भने ।

अहिले नेपाली खेलाडीहरूले जहाँ प्रशिक्षण लिइरहेका छन्, त्यो एनसीए महत्त्वपूर्ण एकेडेमी हो । जहाँ भारतीय क्रिकेट टोलीमा पर्नका लागि एनसीएमा तालिम लिने र त्यहाँ प्रशिक्षणबाट पास भएपछि मात्र राष्ट्रिय टोलीमा पर्ने परम्परा जस्तै बनेको छ । अत्यधिक खेलाडीले राष्ट्रिय टोलीको ढोका खोल्नुअघि यहाँ नै प्रशिक्षण लिने गरेको पाइन्छ । त्यति मात्र होइन, फर्म खराब रहेका बेला पनि भारतीय राष्ट्रिय खेलाडीहरू यहाँ पुग्ने गर्छन् ।

सन् २०१२ अगस्टमा गड अफ क्रिकेट भनेर चिनिने सचिन तेन्दुल्करले पनि न्युजिल्यान्ड टेस्ट सिरिजअगाडि एनसीएमा प्रशिक्षण लिएका थिए । त्यही एकेडेमीमा नेपाली क्रिकेट टोलीले अहिले आफ्नो धार तिर्खादैँ छ ।

यसरी भारतमा प्रशिक्षण गर्नका लागि नेपालले विश्व क्रिकेटमा पारेको प्रभावले नै भूमिका खेलेको प्रवक्ता लामाले बताए ।

भारतको साथले विश्व क्रिकेटमा अफगानिस्तानले मारेको फड्को 

‘पछिल्लो समय नेपाली क्रिकेटको विश्वकपको प्रदर्शन, घरेलु प्रतियोगितालगायत एनपीएलले लिएको हाइप, महिला र उमेर समूहलगायतको प्रदर्शनका कारणले पनि छिमेकी राष्ट्र भारतले सहयोग गरेको छ’, प्रवक्ता लामाले भने, ‘भारत र नेपाल धेरै पक्षमा समान पनि छौँ । उसकै क्रिकेट बोर्ड बीसीसीआईले नेपाली क्रिकेटको विकासका लागि गरिदिएको सहजीकरण आफैँमा राम्रो कुरा हो ।’

भारतीय विदेश मन्त्री एस जयशंकरबाट पाएको समर्थनले पनि क्रिकेटमा भारतको साथ थप बलियो भएको उनले बताए । ‘भारतीय विदेशमन्त्री डा.एस जयशंकर जसरी नेपाल आउँदा क्रिकेटलाई प्राथमिकतामा राख्नुभयो । नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने आशवासन दिनुभयो,’ प्रवक्ता लामाले भने, ‘त्यो सुरुवात थियो । त्यसपछि विगत १–२ वर्षदेखि भारतीय क्रिकेट बोर्डले नेपाली क्रिकेटलाई माथि लानका लागि यस्तो एक्सेन्ज प्रोग्रामहरु आयोजना गरिरहेको छ ।’

भारतीय विदेशमन्त्री एस जयशंकरले सन् २०२४ जनवरीमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली र क्यानका प्रतिनिधिहरुलाई भेटी नेपालमा क्रिकेटको विकासका लागि भारतको समर्थन रहेको बताएका थिए ।

सन् २०१२ मा भारतीय राजदूतावासको पहलमा भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीलाई नेपाली क्रिकेटको दूत पनि घोषणा गरिएको थियो । त्यसक्रममा काठमाडौं पनि आएका थिए ।

धोनीले नेपाली जनतालाई नेपाली खेलाडीलाई साथ दिन र प्रायोजकलाई अघि आउन पनि आग्रह गरेका थिए । क्रिकेटिङ राष्ट्रका नेपालले पक्कै फड्को मार्ने धोनीले विश्वास व्यक्त गरेका थिए ।

यसपछि पनि नेपाली क्रिकेटलाई भारतीय दूतावासको निरन्तर साथ नै रह्यो ।

सहकार्यको एक हिस्साको रुपमा भारत सरकारले नेपाललाई क्रिकेट प्रतिभालाई तिर्खान र भारतमा नेपाली क्रिकेटरहरुलाई प्रशिक्षण अवसरहरु प्रदान गर्न सहयोग गरिरहेको छ । विगत दुई वर्षमा भारत सरकार र बीसीसीआईले यस प्रयासमा नेपाल क्रिकेट संघ (क्यान) सँग मिलेर काम गरेका छन् ।

विगतमा पनि भारत सरकारले नेपालमा क्रिकेटको विकासका लागि पहल गरेको थियो । सन् २०१३ मा नेपाल क्रिकेट संघ (क्यान) लाई एउटा बस उपहारस्वरुप प्रदान गरिएको थियो ।

सन् २०२३ अक्टोबरमा काठमाडौंस्थित भारतीय राजदूतावासले बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन लिमिटेडमार्फत नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई व्यावसायिक खेलकुद उपकरणहरु प्रदान गरेको थियो ।

‘लामो समयपछि भारतीय क्रिकेटसँग गाँसिएको यो सम्बन्धमा नेपाली क्रिकेटले देखाएको विश्वजगतमा गरेको प्रदर्शनले मुख्य भूमिका खेलेको छ । नेपालले ग्लोबल प्लेटफर्ममा पारेको प्रभाव र क्यानको टिमले गरेको कामबाट नै यो क्याम्प सम्भव भएको हो,’ प्रवक्ता लामाले बताए ।

यसअघि पनि नेपाली टोली विश्वकपका लागि नै एनसीए गएको तर, यसपटक भने बीसीसीआईले फुलफ्लेज तालिम प्रदान गरेको प्रवक्ता लामाले बताए । भारत सरकारले यसअघि सन् २०२४ अगस्टमा पनि नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणलाई सहयोग गरेको थियो ।

नेपालले सन् २०२४ जुनमा आयोजना गरिएको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताभन्दा अघि सन् २०२४ अप्रिलमा बरोडा र गुजरात क्रिकेट संघको टोलीहरुसँग त्रिकोणात्मक टी–२० अभ्यास प्रतियोगितामा सहभागिता जनाएको थियो ।

भारत सरकारले आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको तयारीमा सहयोग पुर्‍याउन सन् २०२५ मार्चमा नेपाल र दिल्लीका यू–१९ टोलीहरु तथा नेपालमा जिल्ला क्रिकेट संघ टोलीबीचको अभ्यास प्रतियोगितालाई सहयोग गरेको थियो ।

नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले सन् २०२५ मेमा थाइल्यान्डमा आयोजना भएको आईसीसी महिला विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि सन् २०२५ अप्रिल–मेसम्म दिल्लीमा प्रशिक्षण शिविरमा सहभागिता जनाएको थियो । नेपाल उक्त छनोट प्रतियोगीताको फाइनलमा पुगेको थियो ।

काठमाडौंस्थित भारतीय राजदूतावासले सन् २०२५ जुलाईमा नेपालका तीन जना युवा क्रिकेटरहरुलाई भोपालमा एक महिना लामो व्यावसायिक प्रशिक्षण कार्यक्रमका लागि सहयोग गरेको थियो ।

यसपटकको बन्दप्रशिक्षण भने दुई देशबीचको क्रिकेट संघको आपसी समझदारीमा भएको प्रवक्ता लामाले बताए । ‘नेपाली क्रिकेट संघ क्यानले बीसीसीआईसमक्ष प्रस्ताव राखेपछि नै यो सम्भव भएको हो । यो हाम्रो क्रिकेट विकासका लागि निकै सकारात्मक पक्ष हो,’ प्रवक्ता लामाले भने, ‘यसका लागि यसमा कूटनीतिक पहल नभए पनि पछिल्लो समय यस्ता क्रियाकलापमा भारतीय राजदूतावस र नेपाली राजदुतावसको पनि सहयोग हुने गरेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register