जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने न्यौपाने पक्राउ

काठमाडौं ।  गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई जागिर लगाइदिने भन्दै झुठा आश्वासन दिई रकम ठगी गर्ने गंगाहरि न्यौपाने पक्राउ परेका छन् । उनीमाथि विगत एक दशकदेखि विभिन्न नक्कली कागजात, फर्जी निर्णय र सरकारी पदको दुरुपयोग गर्दै ठगी गर्दै आएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले काठमाडौं नयाँबानेश्वर क्षेत्रबाट उनलाई पक्राउ […]

Jul 23, 2025 - 14:30
 0
जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने न्यौपाने पक्राउ

काठमाडौं । 

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई जागिर लगाइदिने भन्दै झुठा आश्वासन दिई रकम ठगी गर्ने गंगाहरि न्यौपाने पक्राउ परेका छन् । उनीमाथि विगत एक दशकदेखि विभिन्न नक्कली कागजात, फर्जी निर्णय र सरकारी पदको दुरुपयोग गर्दै ठगी गर्दै आएको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले काठमाडौं नयाँबानेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको छ ।

न्यौपानेले आफू गृह मन्त्रालयमा कार्यरत उच्च पदस्थ कर्मचारी भएको दाबी गर्दै केही बेरोजगार व्यक्तिहरुलाई मन्त्रालयमा करार जागिर लगाइदिने आश्वासन दिएका थिए । त्यसै अनुसार उनले नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजात संकलन गरी फर्जी कर्मचारी फारम भराएर लाखौं रुपैयाँ असुलेको उजुरी परेको थियो ।

पक्राउ परेपछि अनुसन्धानका क्रममा न्यौपानेमाथि यसअघिका गम्भीर ठगी तथा किर्ते मुद्दा समेत खुलेका छन ।

२०६९ भदौ २६ मा सैनिक अनुसन्धान तथा आचरणसम्बन्धी मुद्दामा विशेष अदालतको नक्कली पत्र तयार गरी कारागार कार्यालयमा बुझाएर एक कैदीलाई छुटाएको प्रहरी प्रतिवेदन ।

२०७४ वैशाख ८मा  भिआइपी कोटामा शान्ति सेनामा पठाइदिन्छु भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ ठगी ।

२०७४ फागुन ८ मा नख्खु कारागारमा रहेका कैदी छुटाइदिन्छु भन्दै कैदीका आफन्तबाट बाह्र लाख रुपैयाँ असुलेको उजुरी ।

२०७५ जेठ २२ मा जग्गा बिक्री गरिदिन्छु भन्दै लालपुर्जा लिई बिक्री गरी रकम ठगी ।

२०७५ भदौ ९ मा नेपाली सेनामा सहायक सेनानी बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभन देखाएर ठगी ।

२०७९ मंसिर ७ मा काठमाडौं जिल्ला अदालतको नक्कली फैसला तयार गरी लिखत सम्बन्धी कसूर गरेको भन्ने प्रहरी प्रतिवेदन ।

यसरी विभिन्न कालखण्डमा बारम्बार किर्ते कागजात,झुठा आश्वासन र ठगीमा संलग्न रहेका गंगा हरि न्यौपानेमाथि ‘पूर्व नियोजित अपराधिक शैलीमा ठगी गर्ने गिरोहको सदस्य’को रुपमा समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार उनीसँग अन्य व्यक्ति तथा निकायको समेत मिलेमतो हुन सक्ने आशंका छ । प्रहरी अनुसन्धान जारी रहेको र ठगी पीडित थप हुन सक्ने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register