मुक्तिको खोजमा
मुक्तिको खोजमा
समाचार पत्रिकाहरुमा बिहानको खुराक खोज्दिन अचेल
आँखामा जालो लागेका त्यही कष्टकर विपनाहरू
विसंगतिका उही नाङ्गा तस्वीरहरु
स्वार्थ ललुपताका विज्ञापनहरु
जसले छातीलाई केवल घायल बनाउँछ.................
खोज्छु त केवल
प्रसव वेदना सहेर
आफ्नै मुखको स्वाद खोसेर
हामीलाई आफ्नो छातीमा टसाउँने
बेपत्ता भएकी मेरी आमाको कुनै खबर..................
प्रहरहरू बित्दै जाँदैछन् ....
यो बिछोड़ अब सहन नसक्ने भएँ,
कुन आवाज दिएर तिमीलाई बोलाउँ?
कुन देशमा पुगेर तिमीलाई खोजूँ?
कुनै शक्ति अघि झुक्दै नझुक्ने मेरी आमा..................
स्वाभिमानको खुल्ला बजारमा
आफ्नै बोली लागेको देखेर
पश्चतापको आँशुमा डुब्यौ कि.................
उपहास झेल्न नसकी
न्यायको खोजीमा पो निस्कियौ कि..............
बोल्ने नसक्ने आत्माहारा सन्तानहरुदेखि
दु:खित भएर टाढै पो हिँडयौ कि..........
स्वार्थले मात्तिएर जताभावी ठोक्किन पुग्ने
बेहोशी छोरोहरुलाई जगाउन
आँशुको गंगाजलले भिजाउन पुग्यौ कि...........
राजनीतिको चहल-पहलमा आफैलाई
बेच्न तम्सेका सन्तानहरुको दुर्दशा देखेर
फेरि क्रान्ति गर्न जुर्मुराई उठ्यौ कि.................
निस्पट्ट अन्धकारलाई चिरेर
घामको खोजी गर्ने
एउटा बीर छोरोको आह्वानलाई सुनेर
ईश्वरलाई धन्यवाद चड़ाउन पुग्यौ कि............................
............................................................................
मेरो प्रार्थना प्रभु !
जीर्ण शरीरले अब
प्रसव वेदना खप्न नपरोस????????????????...........................................!!
What's Your Reaction?






