प्रकाश सपूतको ‘पिर’ : सर्जकसँग डराएको माओवादी नेतृत्व

माओवादी ‘जनयुद्ध’ सही थियो वा गलत, यो विषयमा बहस हुँदै गर्ला । तर, ‘जनयुद्ध’पश्चात् आम मानिसको जीवन बदलिएको कहाँ देखिन्छ ? रुकुममा नवराज विकहरू प्रेम गरेकै कारण मारिनुपरेको छ‌‌ । र हत्याराहरूलाई कसले संरक्षण गर्छ ? थाहै छ, उनै ‘जनयुद्ध’का तत्कालीन कमान्डरको अभिव्यक्ति पीडितले नसुनेको कहाँ हो र  !  

प्रकाश सपूतको ‘पिर’ : सर्जकसँग डराएको माओवादी नेतृत्व

प्रकाश सपूतलाई पक्कै थाहा थियो– यस्तै हुन्छ भनेर !

जस्तो कि अहिले उनको गीत ‘पिर’ले सत्तामाथि पिर थपिरहेछ, तरंग ल्याइरहेछ । नेतृत्वमा हुनेहरूको सात्तो लिइरहेछ । नजिकिँदै गरेको चुनावको दौडधुपमा ५ वर्षपछि गाउँ झर्न लागेको नेकपा माओवादी केन्द्रलाई प्रकाश सपूतले बन्दुक प्रहार गरेझैँ भयो । युट्युबबाट रिलिज भएको केही घण्टामै नेता कार्यकर्ताहरूमा भूकम्प ल्याइदियो । 

'प्रकाश सपूतले निन्दनीय काम गरे !' र, उनीहरू निन्दा गरिरहेछन् । 
'प्रकाश सप‍ूतले अपराध गरे !' र, उनीहरू सजाय दिने तरखरमा छन् । 

तितो भनुँ वा कुरुप यथार्थ । समाजको वास्तविकता नै प्रकाश सपूतको गीतले प्रस्तुत गरेको हो । १० वर्षे माओवादी ‘जनयुद्ध’का उपलब्धिहरू के थिए ? जवाफ गीतमै छ । भिडियोमा माओवादी पूर्वलडाकु आफ्नो मासु पसलको सर्टर बन्द गरेर गोडा खोल्च्याउँदै डेरामा पुग्छ । डेरामा चार महिनाको भाडा तिर्न नसकेर निरीह बन्नुपरेको अवस्थामा हुन्छन् उनीहरू । जनयुद्ध लडेर के पायौँ भन्ने श्रीमतीको प्रश्नमा उसको गर्विलो जवाफ त हुन्छ– गणतन्त्र । 

तर, त्यो जवाफ भुईंमा खस्न नपाउँदै उसकी श्रीमतीले छातीमा लागेको गोलीको दाग देखाउँछे । त्यो दृश्य कति मर्मस्पर्शी छ ! 

माओवादी ‘जनयुद्ध’ सही थियो वा गलत, यो विषयमा बहस हुँदै गर्ला । तर, ‘जनयुद्ध’पश्चात् आम मानिसको जीवन बदलिएको कहाँ देखिन्छ ? रुकुममा नवराज विकहरू प्रेम गरेकै कारण मारिनुपरेको छ‌‌ । र हत्याराहरूलाई कसले संरक्षण गर्छ ? थाहै छ, उनै ‘जनयुद्ध’का तत्कालीन कमान्डरको अभिव्यक्ति पीडितले नसुनेको कहाँ हो र  !  

जुन-जुन वर्ग र समुदायका उत्थानका लागि माओवादी ‘जनयुद्ध’ चल्यो, के उनीहरूको जीवनमा तात्विक परिवर्तन आयो ? यतिबेला माओवादी निकट युवा संगठन वाइसीएलका अध्यक्ष दीपशिखा प्रकाश सपूतको 'दुस्साहस'देखि। आक्रोशित छन् । माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह निषेधको चेतावनी दिइरहेकी छन् । एउटा सर्जकमाथि माओवादी आन्दोलन पक्षधर खनिएको छ ‌‌‌‌‌।

यो सत्य हो, जसले लडेर गणतन्त्र ल्याए आज उनीहरू निर्धक्कसँग सत्तामाथि प्रश्न गर्न पाउन्नन्। उसो त बाँच्न पनि कहाँ निर्धक्क पाइरहेका छन् र ! ‘जनयुद्ध’ लडेर घाइते भएका पूर्वलडाकुहरू अधिकांशले कुनै दिन चैनका स्वास फेर्न पाएका छैनन् ।

प्रकाश सपूतले तिनै पूर्वलडाकुको कथा बोलेका त हुन् । सिर्फ माओवादी नेतृत्व र सत्तालाई यो यथार्थ पचाउन गाह्रो परेको हो । 

दुई महिनाअघि माओवादीको अधिवेशन चल्दै गर्दा शिलापत्रमा पूर्वलडाकु जीतबहादुर तामाङको फिचर छापिएको थियो । एउटा कार्यक्रममा उनले आफ्नो नाम जीतबहादुर भए पनि यसपालि हारबहादुर हुनुपरेको विवशता सुनाएका थिए । उनलाई पछ्याउँदै जाँदा उनी 'हारबहादुर' हुनुको पीडादायक कथा सुनाएका थिए । माओवादी पार्टीले जब शान्ति सम्झौता गर्‍यो, त्यसपछि घाइते र अपांग लडाकुहरू अयोग्य ठहरिए । त्यसमध्येमा जीतबहादुर दम्पती पनि थिए । 

‌शरीरमा चोट बोकेका उनीहरूले नयाँ जीवनका लागि के-के संघर्ष गरेनन् । के-के व्यवसाय र पेसा गरेनन् । तर उनीहरू असफल भए । जीतबहादुरहरू अभावको जिन्दगी बाँच्दै गर्दा उनीहरूका नेतृत्व आलिसान महलमा थिए, महँगा गाडीमा हु़इकिँदै थिए । जीतबहादुर दम्पती पछिल्लो समय कृषि कर्म गर्दै थिए । त्यसमा पनि नोक्सानी व्यहोर्नुपर्दा उनीहरू आजित थिए । ‘नेतृत्वले हाम्रो योगदान बिर्सियो । घाइतेहरूलाई अलपत्र पार्‍यो । आफ्नो स्वार्थपूर्ति गर्‍यो,' दुःखी हुँदै जीतबहादुरले गुनासो पोखेका थिए । 

कैयन् जीतबहादुरहरू छन्, जसको कथा प्रकाश सपूतले गीत र भिडियोमार्फत् भने । ‘भिडियोमा त्यस्ता पात्रहरू समेटिएका छन्, जसले ज्यानको बाजी थापेर देशलाई नयाँ व्यवस्था दिए र बन्दुक बिसाए । तर आफ्नै पिर बिसाउन भने पाएनन्,’ उनले गीत रिलिज हुनुभन्दा केही समयअघि सामाजिक सन्जालमा भनेका थिए । 

शुक्रबार गीत रिलिज हुँदै गर्दा पनि प्रकाशको निराशा बोलेको थियो, ‘ह्या ! यस्तो गीतहरू गाउँदिनँ- बनाउँदिनँ भन्छु तर, फेरि कसो कसो सिर्जनाहरू उतै मोडिन्छन् । थाहा छैन म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो ।’

०००
गीतमा शब्दशिल्पी प्रकाश सपूतकै हो । आवाज प्रकाश र सम्झना भण्डारीले दिएका छन् । गीतको भिडियोमा प्रकाश र सुरक्षा पन्तको अभिनय जबर्जस्त छ । 

बस्नेलाई पिर परेर हुनसम्म भा छ
जानेलाई नजाऊ भन्न नसकिने रछ
तिम्रो मुँयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति चिरिदियो

गीतको सुरुवाती शब्द नै मर्मस्पर्शी छ‌। त्यसमाथि अभावले थिचिएर विदेश जान बाध्य भएकी एउटी आमाको दृश्य उतिकै विरहलाग्दो छ । 

गीतमा ‘ऐय्या...’ भन्ने शब्दले पटक पटक दुखाउँछ । त्यो शब्द पूर्वलडाकुहरूको घाउको बिम्ब हो । ‘जनयुद्ध’को घाउ, नेतृत्वले दिएको घाउ !  

वैदेशिक रोजगारमा गएकी श्रीमती तीन महिनादेखि सम्पर्कविहीन हुन्छे‌ । ऊ खाडीमा बन्धक बनाइएकी हुन्छे‌ ।‌ उसको उद्धारका लागि श्रीमानले हरसम्भव प्रयास गर्छ‌ । तर, उसको प्रयास विफल हुन्छ‌‌ । हिजो ‘जनयुद्ध’मा आफूले मारिनबाट जोगाएको कमान्डर अहिले सत्तामा छ‌‌। तर, ऊबाट सहयोग त के अपमान व्यहोरेर फर्कन्छ पूर्वलडाकु ! गीतको एउटा अन्तराले भन्छ–

एउटै घरमा कोहीलाई फाइदा कोहीलाई भयो हानी
कतै मर्‍यो आत्मसम्मान कतै स्वाभिमानी

भिडियोमा देह व्यापारमा संलग्न हुन विवश भएकी माओवादी पूर्वलडाकु महिलाको कथाले सबैलाई झस्काएको छ‌ । दर्शकलाई सरप्राइज दिने यो दृश्यमाथि धेरैको प्रश्न र आपत्ति छ । 

तर, के जनयुद्धमा घाइते भएका माओवादी पूर्वलडाकु समाजमा सम्मानले जिउन पाइरहेका छन् त ? संवादका क्रममा जीतबहादुर भन्थे, ‘निकै वर्षदेखि म आफ्नो गाउँ जान सकिरहेको छैन ।’ किनकि उनको गाउँमा उनीप्रति घृणा र प्रतिशोधमात्र छ‌‌ । 

दीपशिखाको एउटा प्रश्न थियो, ‘पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउँ तर, माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्– त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ । उसो भए सर्जक सपूतलाई मेरो एउटा प्रश्न– अभाव, निराश अनि गरिव महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’ 
दीपशिखालाई पनि एउटा प्रश्न- उसोभए शहरमा महिलाहरू देह व्यापारमा किन छन् त ? देहव्यापारमा लाग्नु कसैको रहर थियो ? के त्यो अभावको उपज थिएन ? 

त्यो चित्रण हैन, यथार्थ हो ! माओवादी छापामारलाई भुलेर मात्र हेर्ने हो भने पनि देह व्यापारमा लाग्ने महिलाहरूको अभाव कम्ता कहालीलाग्दो छैन । के देह व्यापारमा संलग्न हुनेहरू गणतन्त्र प्राप्तिको लागि लडेका थिएनन् होला ? के सत्ताले उनीहरूको जीवन र संघर्षलाई कहिले बुझ्ने प्रयास गर्‍यो ? 

‘पिर’ गीतको १६ मिनेटको भिडियोले दर्शकलाई बाँधिराख्ने सामर्थ्य राख्छ । तर, प्रभु बैंक र शिवम् सिमेन्टको विज्ञापनले केही खल्लोपना पक्कै थपेको छ । 

अन्तिममा प्रकाश सपूतले निराशा नै छाडेका छन् । गीतको अन्तिम शब्दले उही निराशा बोल्छ–

देश भन्नु त के रैछ र चार किल्लाको माटो
त्यही माटो नि उनैको छन्, जो छ टाठोबाठो

तर, निराशाले मात्र निचोड दिँदैन । अझै पनि आम मानिसमा व्यवस्था र सत्ता बदल्न सक्ने सामर्थ्य छ । संघर्ष गर्न सक्ने शक्ति एकतामा छ । 

अन्तिममा केही आशाका टुकी उनका कथाले बाल्लान् भन्ने थियो । त्यो अपेक्षा मात्र रह्यो । हुन त ‘पिर’ भाग–२ को प्रतीक्षा गराएका छन् । आशा छ प्रकाश सपूतले त्यो टुकी निभ्नचाँहि नदेलान् कि !

(शिलापत्रमा प्रकाशित)