रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, यसकारण रोकियो प्रहरी !

सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको विशेष संसदीय समितिले रवि लामिछानेलाई व्यक्तिगत रूपमा दोषी करार त गरेन तर, विभिन्न सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सन्दर्भमा उनको संलग्नता रहेको भन्दै आवश्यक अनुसन्धान गर्ने सुझाव दियो ।

Oct 18, 2024 - 08:17
 0
रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, यसकारण रोकियो प्रहरी !

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको विशेष संसदीय समितिले पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई व्यक्तिगत रूपमा दोषी करार त गरेन तर, विभिन्न सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सन्दर्भमा उनको संलग्नता रहेको भन्दै आवश्यक अनुसन्धान गर्ने सुझाव दियो ।

त्यसो त उनको निकटतम् साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन्, उनी अहिले हिरासतमै छन् । उनले प्रहरीकहाँ ‘…गोर्खा मिडियामा पैसा ल्याउने मुख्य योजना नै रवि लामिछानेको हो’ भनेर बयान दिएका छन् ।

यसपछि सार्वजनिक वृत्तमा समेत ‘छवि पक्राउ पर्दा रवि किन नपरेको ?’ भन्ने आलोचना हुने गरेको छ । त्यसो त रविलाई पक्राउ गर्ने गाइँगुइँ हल्ला चलेको धेरै भयो । यसबाट रास्वपा स्वयम् झस्किँदै आएको छ ।

रविलाई गत असोज ६ गते नै पक्राउ गर्ने तयारी प्रहरीको थियो तर, अन्तिममा रवि पक्राउ परेनन् । पक्राउ पर्ने खबर पाएपछि रवि रास्वपा मुख्यालय, वनस्थली पुगिसकेका थिए । त्यहाँ उनले काठमाडौंमा उपलब्ध सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थक-शुभेच्छुकहरूलाई बोलाएका थिए । लगत्तै रास्वपा मुख्यालयमा सयौं मान्छे जम्मा भए ।

त्यहाँ समर्थक-शुभेच्छुकबाट रविको पक्षमा नाराबाजीसमेत भयो । यसपछि प्रहरी रित्तो हात फर्कियो । यो विषय दशैंमा सेलाएको थियो तर, दशैं सकिनासाथ उनी पक्राउ पर्ने हल्ला फेरि सुरु भएको छ ।

आज पनि उस्तै हल्ला चल्यो । रवि भने बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी थिए ।

प्रचण्ड र रवि लामिछाने ।

के भनिएको थियो भने रविलाई बानेश्वरको बैठकलगत्तै पक्राउ गर्ने ! तर, त्यसो भएन । प्रहरीको उच्च स्रोतका अनुसार उनलाई प्रचण्डकै आग्रहअनुरूप पक्राउ नगरिएको हो ।

स्रोत भन्छ, “प्रचण्डले आफूले बोलाएको बैठकबाट पक्राउ नगर्नु भन्नुभएछ, त्यसपछि प्रहरी रोकिएको हो भन्ने कुरा थाहा भयो ।”

जसै, रवि अहिले प्रचण्डका सारथि हुन् । प्रमुख प्रतिपक्षको भूमिकामा संसद्‌मा उपस्थित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चौथो ठूलो दल रास्वपाका सभापति सारथि नहुने कुरै भएन । यही कारण प्रचण्ड रविलाई पक्राउ गर्‍याइहाल्ने मुडमा छैनन् तर, उनले अनुसन्धानमा आफू बाधक नबन्ने बताउने गरेका छन् ।

स्रोतका अनुसार आज पनि प्रचण्डले‍ त्यही बताएका छन् । “पक्राउ गरिए पनि मेरो सामुबाट नगर्नु भन्ने कुरा उहाँ (प्रचण्ड) ले गर्नुभयो रे ! यसमा प्रहरी कन्सिडर गरेको हो,” स्रोत भन्छ ।

प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठक ।

त्यसो त आजको विपक्षी दलहरूको बैठकमा प्रचण्डले रवि पक्राउ पर्नसक्ने ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलको निष्कर्ष भन्दै प्रचण्डले यस्तो सुनाएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

तर, रविविरुद्ध अहिलेसम्म पक्राउ पुर्जी भने जारी भएको छैन । जिल्ला अदालत, कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार अहिलेसम्म पक्राउ पुर्जी जारीबारे कुनै तयारी छैन ।

“अदालत आज मात्रै खुलेको हो । अहिलेसम्म पक्राउ पुर्जी जारी गर्ने भन्नेबारे कुनै तयारी वा योजना छैन । पछिको कुरा पछि नै होला,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register